एमसीसीअन्तर्गत विद्युत प्रसारण आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत – Nepal Press

एमसीसीअन्तर्गत विद्युत प्रसारण आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत

काठमाडौं । सरकारले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को अनुदानमा निर्माण हुन लागेका विद्युत प्रसारण आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत गरेको छ ।

बैशाख १६ गते वन तथा वातावरण मन्त्रालयले उक्त प्रतिवेदन स्वीकृत गरेको मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल विकास समितिद्वारा मंगलबार जारी विज्ञप्तीमा उल्लेख छ ।

समितिका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले प्रतिवेदन स्वीकृतिलाई अहिलेको बहुचर्चित एमसीसी कार्यान्वयनमा प्रवेश गर्नुपूर्वको महत्वपूर्ण उपलब्धी भएको बताएका छन् । उनले यसपछाडि सम्झौताको संसदीय अनुमोदन महत्वपूर्ण कोशेढुंगा भएको समेत उल्लेख गरेका छन् ।

उक्त वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ को अधीनमा रही स्वीकृत गरिएको समेत विज्ञप्तीमा उल्लेख छ ।

वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययनको क्रममा आयोजना कार्यान्वयन गरिने १० जिल्लाका ३० वटै गाउँपालिका तथा नगरपालिकामा अन्तरक्रिया तथा सार्वजनिक सुनुवाइ कार्यक्रमहरू सञ्चालन गरिएको थियो ।

सरकार तथा अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पाेरेशनबीच एमसीसी कम्प्याक्टमा २०७४ साल भदौ २९ गते हस्ताक्षर भएको थियो ।
ती दुई आयोजनामध्ये राष्ट्रिय गौरवको आयोजनाका रूपमा घोषणा गरिएको विद्युत् प्रसारण आयोजनाले करिब ३१४ किमि लामो ४०० केभी क्षमताको विद्युत् प्रसारण लाइन तथा तीनवटा ४०० केभी क्षमताका सब–स्टेशन निर्माण गर्नेछ ।

उक्त प्रसारण लाइन १० जिल्लाका ३० गाउँपालिका तथा नगरपालिका भएर जाने जनाइएको छ । आयोजनाले साझेदारी कार्यक्रममार्फत प्रभावित स्थानीय सरोकारवालाको हित सुनिश्चित गर्नेछ भने नेपालको ऊर्जा क्षेत्रको सशक्तीकरणमा पनि सघाउन पुर्‍याउन आशा लिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर