व्यवस्थित नहुँदा अस्पतालबाटै कोरोना फैलने जोखिम – Nepal Press

व्यवस्थित नहुँदा अस्पतालबाटै कोरोना फैलने जोखिम

सुर्खेत । स्वास फेर्न समस्या भएपछि प्रदेश अस्पताल कालागाउँ ल्याइएका एक पुरुषको उपचारका क्रममा साताअघि मृत्यु भयो । अस्पतालमा बुबाको हेरचाहमा खटिएकी १८ वर्षीय छोरी अहिले संक्रमित छन् । सावधानी अपनाउँदा पनि संक्रमित हुनुको कारण अव्यवस्थित अस्पताल नै रहेको उनले आशंका छ ।

कोरोना संक्रमितको उपचारका लागि छुट्याइएको कालागाउँ प्रदेश अस्पताल परिषरभित्र स्तरीय क्यान्टिन र औषधि पसल छैन । संक्रमितको संसर्गमा रहेकाहरु सामान लिन बाहिर जानुपर्ने अवस्था छ । जसले संक्रमण नियन्त्रणको सट्टा फैलने जोखिम बढेको छ ।

‘यहाँ अस्पतालमा दिने खाना काम लाग्ने छैन । औषधि र अन्य सामान किन्न बाहिर जानैपर्छ,’ मृतककी छोरीले भनिन्, ‘चाहिनेजति सबै कुरा अस्पतालभित्रै पाइने भए बाहिर गइरहनु पर्थेन । विरामी कुरुवाका लागि मास्कबाहेक अन्य केहि सुविधा छैन ।’

प्रदेश अस्पतालमा उपचार गर्न आएका टाढाका विरामीहरुका कुरुवाहरु नै आवश्यक सामान ल्याउने वहानामा खुलेयाम बाहिर निस्कने गरेका कारण कोरोना संक्रमण थप फैलिएको छ । जिल्लामा निषेधाज्ञा जारी हुने तर कोरोनाको राजधानीको रुपमा रहेको प्रदेश अस्पतालमा नै संक्रमण फैलिन नदिने उपाय अवलम्बन नगरिएका कारण अस्पतालबाटै जोखिम भएको छ ।

प्रदेश अस्पतालमा कोरोना उपचार गर्न आएका विरामीका आफन्तहरुसँग कोभिडबाट जोगिनु कुनैपनि सुरक्षा सामाग्री छैन । एक मास्कको भरमा उनीहरु कुरुवा बस्नुपर्ने अवस्था छ । आजसम्म कर्णालीमा एक सय ६२ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । आज मात्रै कर्णालीमा १३ जनाको ज्यान गएको छ ।

‘अस्पताल प्रशासनले कम्तिमा जेलको जस्तो व्यवस्था मिलाउनुपर्छ । म आफैं कोभिड संक्रमित भइ प्रदेश अस्पतालमा उपचार गराइ फर्किएको कारण त्यहाँको अवस्था मलाई थाहा छ,’ सुर्खेतका पत्रकार नगेन्द्र उपाध्याय भन्छन्, ‘अस्पतालमा आएका कुरुवा पनि कोरोना संक्रमणको उच्च जोखिममा रहने गरेका छन् । उनीहरु कोभिड विरामीसँगै बस्ने भएका कारण उनीहरुले मास्क बाहेक अन्य सामाग्री प्रयोग गर्दैनन् । त्यसैमा उनीहरु यो वा त्यो सामान ल्याउन बजार निस्कने गरेका छन् । त्यसले गर्दा कोरोना संक्रमण फैलिरहेको छ भन्दा फरक नपर्ला ।’

उनले अस्पतालबाट कोरोना संक्रमण बाहिर नजाओस भन्ने हो भने कम्तिमा त्यहाँ भित्र बसेका नागरिकलाई कोभिड सञ्चो नभएसम्म वा नेगेटिभ नआएसम्म बाहिर जान दिन नहुने उनले बताए ।

प्रदेश सरकारका प्रवक्ता एवम भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले यसबारेमा सरकारले आवश्यक व्यवस्था गर्ने बताए । ‘तपाईहरुले उठाउनु भएको कुरा प्रति सरकार गम्भीर भएको छ । यो समस्या समाधानका लागि सरकार आवश्यक कदम चाल्छ,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर