कोरोना महामारी नियन्त्रणका लागि बाँकेका स्थानीय तहको सक्रियता – Nepal Press

कोरोना महामारी नियन्त्रणका लागि बाँकेका स्थानीय तहको सक्रियता

रुपन्देही । दोस्रो चरणको कोरोना महामारीको हटस्पट बनेको बाँकेका स्थानीय सरकार महामारीको असर कम हुन थालेपछि व्यवस्थापनमा जुटेका छन् ।

जिल्लाका आठवटै स्थानीय तहले हालसम्म ४ सय ७१ शय्याका आइसोलेसन केन्द्र स्थापना गरिसकेका छन् । अहिलेको अवस्थामा सबैभन्दा धेरै प्रभावित रहेको नेपालगन्ज उपहानगरपालिकाले २१० शय्या बनाएको छ ।

त्यसैगरी कोहलपुर नगरपालिकाले ६५ तथा खजुरा ४०, नरैनापुर ५०, राप्ती सोनारी ४०, जानकी ३०, बैजनाथ २० र डुडुवा गाउँपालिकाले १६ शय्याका आइसोलेसन केन्द्र स्थापना गरेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

ती सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा रहेका केन्द्रमा एमबीबीएस डाक्टर, दुई जना स्टाफ नर्स, कार्यालय सहयोगीलाई आइसोलेसनमा खटाइएको केन्द्रका संयोजक प्रमुख जिल्ला अधिकारी शिव गेलालले जानकारी दिए । उनका अनुसार नेपालगन्ज उपमहानगरपालिकाले भने भेरी अस्पताल नेपालगञ्जकै चिकित्सकको निगरानीमा आइसोलेसन सञ्चालन गरिरहेको छ ।

सीमा नाकामा परीक्षण गर्न, इन्द्रेणी होटल तथा ह्वाइट हाउसमा सञ्चालन गरिएका आइसोलेसनमा काम गर्न करारमा स्वाथ्यकर्मी नियुक्त गरेर खटाइएको छ । कोभिड­१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को केही समय अगाडि बसेको बैठकमा संयुक्त रुपमा अस्पताल सञ्चालन गर्न वा भइरहेका अस्पतालको स्तरोन्नति गर्न सघाउ पु¥याउने विषयमा छलफल भए पनि कोरोना महामारी चालु आर्थिक वर्षको अन्त्यतिर फैलिएकाले बजेट विनियोजनमा समस्या देखिएको जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले बताए ।

‘अहिले जिल्लाका सबै स्थानीय तहले एक्लाएक्लै गरेको प्रयास पनि सराहनीय छ’, उनले भने, ‘आवश्यक जनशक्ति नियुक्त गरेर परिचालन गर्न सके अझ प्रभावकारी हुन्छ ।’

कोहलपुर नगरपालिकाले प्रेमनगरको आयुर्वेदिक प्राकृतिक चिकित्सालयमा १५ र पिपरीस्थित कृषि तालीम केन्द्रमा ५० शय्याको आइसोलेसन केन्द् सञ्चालन गरेको छ । अक्सिजनसहित १५ शय्याको आइसोलेसन सञ्चालन गरेर कतिपय सङ्क्रमितहरु उपचारपछि घर फर्किइसकेको उपप्रमुख सन्जुकुमारी थारुले बताइन् ।

‘स्वाथ्यकर्मी, एम्बुलेन्ससहितको कोभिड अस्पताल स्थापना गरेर अस्पतालमा बेड नपाएका संक्रमितको चौबीसै घण्टा उपचार गरिरहेका छौं,’ महामारी भयावह स्थितिमा पुगेका बेलासमेत केन्द्र र प्रदेश सरकारले चासो नदिएको आरोपसहित उनले थपिन्, ‘हालसम्म जे जति प्रयास भएको छ, सबै स्थानीय सरकारले मात्र गरेको छ । संक्रमतिहरुको जिउ ज्यान अब स्थानीय सरकारकै हातमा छ । त्यसैले हामी अहोरात्र उपचारको व्यवस्था मिलाउन खटिएका छौं ।’

गत वर्ष कोभिड­१९ बारे जनचेतना कार्यक्रम, कोरोना प्रभावित देशबाट आउनेहरुलाई क्वारेन्टाइन, संक्रमितलाई राख्ने आइसोलेसन भवनको व्यवस्थापन खर्च, कोरोना प्रभावित विपन्नलाई दुई चरणमा राहत वितरणलगायतका काममा कोहलपुर नगरपालिकाले करीब एक करोड खर्च गरेको उपप्रमुख थारुले बताइन् । कोहलपुर नगरपालिकाले हाल लक्षण देखिएका बिरामीको पीसीआर परीक्षण निःशुल्क गरिरहेको जनाएको छ । भेरीका चिकित्सकहरुको निगरानीमा ५० शय्याको आइसोलेसन छ । नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधिहरु पनि गत वर्ष जमुनाहा नाका हुँदै भारतबाट नेपाल प्रवेश गर्नेहरुलाई खाने बस्ने व्यवस्थापनमै लागेका थिए । यस वर्ष उपमहानगरपालिकाले नाकामै संक्रमण पुष्टि भएकाहरुको उपचारका लागि आइसोलेसन केन्द्र चलाएको छ ।

जमुनाहा नाकामा जाँच गर्दा संक्रमण पुष्टि भएकाहरुका लागि मनिकापुरस्थित ह्वाइट हाउसमा १ सय २० तथा अस्पतालमा शय्या नपाएर होम आइसोलेसनमा बस्न बाध्य नेपालगञ्जवासीका लागि होटल इन्द्रेनीमा ५० र रामलीला मैदानस्थित नारी विकासको तालीम केन्द्रमा अक्सिजनसहितको ३० शय्याको आइसोलेसन केन्द्र सञ्चालन गरेको उपमहानगरपालिकाले जनाएको छ ।

यस्तै नेपालगन्जको वडा नं ४ मा पनि १० शय्याको आइसोलेसन केन्द्र चलाइएको छ । सामान्य लक्षणसहितका बिरामीलाई ह्वाइटहाउसस्थित आइसोलेसनमा राख्ने व्यवस्था गरिएको छ भने रामलीला मैदानस्थित तालिम केन्द्रमा अक्सिजनसहितको आइसोलेसन केन्द्र सञ्चालनमा छ । ती आइसोलेसन भेरी अस्पतालका चिकित्सकहरुको निगरानीमा रहेको छ ।

‘कोभिडका बिरामीलाई अक्सिजनसहित आइसोलेसनमा राख्न थालिएको छ, मेयर डा. धवलशमशेर राणाले भने, ‘अस्पतालमा बेड नपाइरहेका बेला यस्ता आइसोलेसन केन्द्रले बिरामीलाई राहत मिल्ने अपेक्षा गरेका छौं ।’

गत वर्ष कोरोना भाइरस सबैका लागि नयाँ भएकोले आत्तिएर जसले जे भन्यो त्यसमै बजेट खर्च गरेको प्रमुख राणाले बताए । उनले भने, ‘कोभिडकै नाममा उपमहानगरले गत वर्ष तीन करोड रुपैयाँभन्दा बढी खर्च गरेको थियो । यस वर्ष धेरै सहयोगी हात पाएका छौं ।’
जिल्लाका जनप्रतिनिधिले गत वर्ष कोरोना महामारीको रोकथामका लागि जमुनाहा नाका पुगेर नेपाल प्रवेश गर्ने आफ्ना पालिकाका नागरिकलाई सामान्य स्वाथ्य परीक्षणपछि सिधै पालिकामा स्थापना गरिएको क्वारेन्टाइनमा राखेका थिए । त्यहाँ उनीहरुका लागि दुई हप्तासम्म खाना, ओढ्ने ओछ्याउने तथा लगाउने कपडाको समेत व्यवस्था गरेको जनप्रतिनिधिहरु बताउँछन् । यसो गर्ने क्रममा गतवर्ष कयौं जनप्रतिनिधि संक्रमित भएका थिए ।

बाँकेमा सोमबारसम्म ४ सय ७५ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् भने २ हजार ५ सय २६ जना होम आइसोलेसनमा रहेका छन् । हालसम्म १५ हजार ६०९ जनामा संक्रमण देखिएकोमा १२ हजार ४ सय ८५ जनाले संक्रमण जितिसकेका छन् ।

बैशाख लागेसँगै दिनहुँ बढेको संक्रमण केही दिनयता कम हुँदै गए पनि मृत्युदर भने घटेको छैन । पछिल्लो २४ घन्टामा पनि १३ जना संक्रमितको मृत्यु भएको कोरोना फोकल पर्सन तेज वलीले बताए । सोमबार जिल्लामा संक्रमितभन्दा संक्रमण मुक्त हुनेको संख्या बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *