बिरामीकाे चापका आधारमा अक्सिजन वितरण गर्न प्रमुख सचिवलाई मुख्यसचिवको निर्देशन – Nepal Press

बिरामीकाे चापका आधारमा अक्सिजन वितरण गर्न प्रमुख सचिवलाई मुख्यसचिवको निर्देशन

काठमाडौं। मुख्यसचिव शंकरदाश वैरागीले उत्पादन भएको अक्सिजनलाई बिरामीको चापको आधारमा वितरण गर्न सातै प्रदेशका प्रमुख सचिवलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गराउन भन्दै सोमबार सात वटै प्रदेशका प्रमुख सचिवसँग भर्चुअल बैठक गर्दै मुख्यसचिव वैरागीले अक्सिजन प्लान्ट पूर्ण क्षमतामा सञ्चालन भए–नभएको नियमन गर्न र बिरामीले प्राथमिकता अनुरूप उपचार पाए नपाएको सम्बन्धमा सुपरिवेक्षण गर्नसमेत निर्देशन दिएका हुन् ।

त्यसै क्रममा मुख्यसचिव वैरागीले उद्योगको सुरक्षा, उद्योगमा बिजुली, पानीको नियमित प्रबन्ध, स्थानीय तहसँग पूर्ण समन्वय, छिटो छरितो निर्णय लिने पक्रिया जस्ता सबै पक्षमा सक्रिय भई कार्य गर्न–गराउन निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो ।

मुख्य सचिवले समय–समयमा सुझावकोसमेत अपेक्षा राख्दै अक्सिजन उत्पादन गर्ने उद्योग जुनसुकै स्थानमा भएता पनि राष्ट्रिय आवश्यकताको आधारमा अक्सिजनको वितरण हुनुपर्ने र कतिपय अक्सिजन उद्योगबाट साना तिना कारणले उत्पादन हुन नआएको अवस्था भएमा त्यस्ता सबै पक्षलाई हेरी प्रदेश स्तरबाट विश्लेषण लगायतका विषयमा प्रतिवेदन माग गरेको कार्यालयका प्रवक्ता समेत रहेका सहसचिव किरणराज शर्माले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

अक्सिजनको उपलब्धतालाई सहज बनाउन प्लान्टको पूर्ण क्षमतामा उत्पादन गर्ने तथा यसको वितरण प्रणालीलाई सरल र पहुँचयोग्य बनाउन जोड दिनुपर्ने विषयमा भएको छलफलका क्रममा कालोबजारी तथा कृत्रिम अभाव हुन नदिन र बजार अनुगमन तथा नियमनको विषयमा सचेत हुनुपर्ने कुरामा जोड दिइएको जनाइएको छ ।

अहिले मुलुकले व्यहोरिरहेको स्वास्थ्य चुनौती हल गर्न राष्ट्रिय आवश्यकतामा आधारित सोच, पूर्ण समन्वय, रोकथाम, नियन्त्रण र उपचारका सबै क्रियाकलापमा जोड दिन भन्दै मुख्यसचिव वैरागीले नेपाल सरकारबाट जारी भएको निषेधाज्ञा आदेशमा घोषणा भएका विषयमा प्रभावकारी अनुगमन, प्रदेश अन्तर्गतका संरचनाको पूर्ण सक्रियता, जनचेतनाका लागि सामाजिक परिचालन जस्ता क्रियाकलाप, अस्पतालको नियमन गर्नसमेत प्रमुख सचिवलाई निर्देशन गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर