दूरसञ्चार सेवालाई व्यवस्थित बनाउन सञ्चारमन्त्री गुरुङको सरोकारवालालाई आग्रह – Nepal Press

दूरसञ्चार सेवालाई व्यवस्थित बनाउन सञ्चारमन्त्री गुरुङको सरोकारवालालाई आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड संकट समाधानमा केन्द्रित भएर दूरसञ्चार सेवा प्रवाहको कामलाई व्यवस्थित बनाउन सरोकारवालालाई आग्रह गरेका छन् । ‘विश्व दूरसञ्चार तथा सूूचना समाज दिवस’को अवसर पारेर नेपाल दूरसञ्चार प्राधिकरणले सोमबार आयोजना गरेको भर्चुअल बैठकमा उनले यस्तो आग्रह गरेका हुन् ।

कोभिड संकट समाधानका लागि सञ्चार तथा सूचना प्रविधि क्षेत्रको सेवा प्रवाह अति आवश्यक भएकाले पनि दूरसञ्चार सेवाको कामलाई भरपर्दो, जिम्मेवार, विश्वसनीय र गुणस्तरीय बनाउनुपर्ने आवश्यकता रहेको मन्त्री गुरुङको भनाई छ । उनले कोभिडबाट आफू सुरक्षित भएर दूर सञ्चार सेवा प्रवाहको काममा प्रतिवद्ध भएर लाग्न पनि यस क्षेत्रमा कार्यरत व्यक्ति तथा संघ, संस्थालाई आह्वान गरे ।

“सुरक्षित रहौं, स्वस्थ रहौं, आफू सुरक्षित भएर कोभिड संकटको सारथी बनेर दूरसञ्चार सेवा प्रदायकले आ–आफ्नो ठाउँबाट सेवा प्रवाहको कामलाई अघि बढाऔं” मन्त्री गुरुङले भने, “कोभिड संकट समाधानका लागि गर्ने हरेक प्रयास मानवीय सेवा भएकाले यसमा शुुद्ध मन, बचन र कर्मले लागौं ।”

दूरसञ्चार सेवालाई प्रभावकारी बनाउन सरकार ऐन, कानुन, नीति, नियम परिमार्जन गरेर अघि बढन तयार रहेको उल्लेख गर्दै उनले त्यसका लागि आवश्यक सुुझाव दिन पनि विज्ञलाई आग्रह गरेका छन् । मन्त्री गुरुङले नेपाल दूरसञ्चार क्षेत्रमा विश्वमा भएको विकाससँगसँगै अघि बढन प्रयत्नशिल रहेको पनि स्मरण गराए । दूरसञ्चार क्षेत्रमा भएका प्रगति, यसले भोग्नु परेका चुनौतिको सामना गर्ने गरी नेपालमा यसको प्रभावकारी सेवा प्रवाहको कामलाई अघि बढाउने गरी सोच, संकल्प र योजना बनाएको मन्त्री गुरुङको भनाई छ ।

उनले दूरसञ्चार सेवासहितको सूचना र प्रविधिको विकास गरी मुलुकलाई समृद्ध बनाउन सरकारले नीति, ऐन, कानुन तर्जुमा गरेको उल्लेख गर्दै त्यसलाई आवश्यकता अनुसार परिमार्जन गर्दै लैजाने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललगायतकाले कोभिड संकट समाधान हुने गरी दूरसञ्चार क्षेत्रको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउनुपर्ने आवश्यक्ता औल्याएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर