पूर्वमाओवादीलाई ध्रुवीकरणका लागि गोपाल किरातीको अपिल – Nepal Press

पूर्वमाओवादीलाई ध्रुवीकरणका लागि गोपाल किरातीको अपिल

काठमाडौं । पूर्वमाओवादी नेता गोपाल किरातीले पूर्व माओवादीहरूबीचको ध्रुवीकरणका लागि आह्वान गरेका छन् । सोमबार एक विज्ञप्ति निकाल्दै किरातीले सामाजिक सञ्जाल र फोन मार्फत सम्पर्क गरी त्यसको शुरुआत गर्न सकिने बताएका छन्।

‘सामाजिक सञ्जाल र फोन मार्फत सम्पर्क गरी सर्वप्रथम माओवादी तथा पूर्वमाओवादीहरूबीच महाध्रुवीकरणको व्यवहारिक अभ्यासमा उठ्न देशका माओवादी आन्दोलन सम्बद्व सबै कमरेडहरू एवं समर्थक जनसमुदायमा यसैसाथ जोडदार अपील गर्दछौं,’ किरातीले भनेका छन्।

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ध्रुवीकरणका लागि आधार तयार भएको समेत बताएका छन् । ‘विचारधारामा मार्क्सवाद-लेनिनवाद-माओवादको अडान तथा राजनीतिमा खड्गप्रसाद ओली प्रवृत्तिविरुद्धको कठोर विद्रोहभावमा कारण ०७४ मा हामीहरु छुट्टिएका हौं,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘प्रकारान्तरले प्रचण्डहरु नेकपा (माओवादी केन्द्र) मा पुनः आईपुग्नु भएको छ र फासिवादी ओली प्रवृत्तिविरुद्ध जीवनमरणको संघर्ष गरिरहेको देख्न सकिन्छ। क. प्रचण्ड र हामीबीच ध्रुवीकरणको यो पहिलो आधार हो।’

२०७५ मा एमाले र माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिष्ट पार्टी बनेपछि किराती असन्तुष्ट भएका थिए । उनले माओवादी केन्द्र ब्युँताएका थिए । तर, अहिले पार्टीकै अर्को एक खेमाको कारवाहीमा परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर