महामारीको बहाना बनाएर पत्रकारलाई कामबाट ननिकाल्न महासंघको चेतावनी – Nepal Press

महामारीको बहाना बनाएर पत्रकारलाई कामबाट ननिकाल्न महासंघको चेतावनी

काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना महामारीको बेलामा पत्रकारलाई कामबाट ननिकाल्न नीजि सञ्चार गृहहरुलाई चेतावनी दिएको छ ।कोरोना महामारीको दोस्रो लहरमा पनि नीजि सञ्चार गृहहरुले श्रमजिवी पत्रकारहरुलाई निकाल्न थालिएको सूचना आएको भन्दै महासंघले कुनै पनि बहानामा पत्रकारलाई रोजगारी नखोस्न चेतावनी दिएको हो ।

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले कोरोना महामारीका बेला कुनै पनि बहानामा पत्रकारलाई निष्कासन नगर्न आग्रह गरे । उनले कोभिड १९ को पहिलो लहरमा जस्तौ दोश्रो लहरमा पनि पत्रकारहरुलाई निष्कासन गर्न सुरु गरिएको र निष्कासित भएका पत्रकारहरुको निम्ति महासंघले कानुनी लडाइँ लड्नुको साथै दबाबमुलक काम गरिरहेको बताए ।

उनले भने,‘सञ्चार माध्यमबाट पत्रकार निकालिन थालेका छन् । हामीले ९ जनाको पुर्ननियुक्ति गरी समस्या समाधान गरेको दोस्रो लहर शुरु भइसकेपछि । कानुनी लडाइँ र अन्य हिसाबले दबाबमुलक कामपनि पत्रकार महासंघले गरिरहेको छ । अर्थ मन्त्रालय, सञ्चार मन्त्रालय, विभिन्न विभागहरुलाई भेटेर विस्थापित भएकालाई पुर्नस्थापित गर्ने, पेशामा रहेकालाई पेशामा सुनिश्चितता गर्न मन्त्रालयमार्फत दबाब दिएका छौँ ।’

महासचिव पुरीले ऐन बनाउने र कार्यान्वयन नगर्ने बिडम्बनाबाट सरकार माथि उठ्नुपर्ने आवश्यकता औल्याए । महासंघले महामारीको समयमा पत्रकारहरु फ्रन्टलाइनमा बसेर काम गरिरहेको भन्दै फ्रन्टलाइनरको परिभाषाभित्र पत्रकारहरुलाई पनि समेटेर त्यही प्रकारको सेवा सुविधा र व्यवहार गर्न पनि सरकारसँग आग्रह गरेको छ ।

महासचिव पुरीले भने, ‘सरकारलाई बारम्बार आग्रह गरेका छौँ । फ्रन्टलाइनरको जुनखालको परिभाषा छ । त्यसभित्र स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी र पत्रकार लगायत सरसफाईकर्मीहरुलाई एकै ठाउँमा राखेर सेवा सुविधाको व्यवस्थापन र त्यही खालको समतामुलक व्यवहार गर्नुपर्छ भन्ने आग्रह गरेका छौँ ।’

महासंघका अनुसार, जेठ २ गते सम्म मुलुकभर गरि करिब ८ सय जना पत्रकार कोरोना संक्रमित भएका छन् । २५० भन्दा बढी सक्रिय संक्रमित छन् । ४० जना अस्पतालमा उपचार गराईरहेका छन् । ६ जनाको आइसियु र भेन्टीलेटरमा उपचार भईरहेको छ भने संक्रमणबाट १३ जना पत्रकारले ज्यान गुमाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर