न अतिरिक्त सुविधा छ, न त यिनका दुःख बुझिदिन्छन् (भिडियो) – Nepal Press
महामारीका ‘रियल फ्रन्टलाइनर’

न अतिरिक्त सुविधा छ, न त यिनका दुःख बुझिदिन्छन् (भिडियो)

काठमाडौं । सबेरैदेखि गाउँ-टोलमा प्रहरीको साइरन बज्न थाल्छ ।

दैनिक उपभोग्य सामग्री किनबेचन गर्नेको दूरी व्यवस्थापनदेखि जम्मा हुने भीड तितरबितर पार्नेसम्मको काम उनीहरू बिहानैबाट थाल्छन् ।

बिहान ७ देखि १० बजेभित्र अत्यावश्यक उपभोग्य सामग्री किनबेचको समय तोकिएको छ । जब यो काम सकिन्छ, त्यसपछि ती प्रहरीको भूमिका फेरिन्छ, व्यवसायिक स्थल बन्द गराउने र उपभोक्तालाई आ-आफ्ना घरतिर फर्काउने ।

र, यसपछि तिनै प्रहरी सडक-चोकहरूमा कर्डन ड्युटी थापेर सवारी व्यवस्थापन गरिरहेका हुन्छन् ।

यो क्रम दिनहुँ रातको १०-१२ बजेसम्म जारी रहन्छ ।

यसरी अहिले देशभर ३४ हजार प्रहरी जनशक्ति कोभिडको दोस्रो लहरपछि जारी निषेधाज्ञा व्यवस्थापनको ड्युटीमा खटिएका छन् । खटिएकामध्ये ५ प्रतिशत प्रहरी आफैँ कोभिडबाट संक्रमित छन् । त्यसैले प्रहरी थप १२ हजार जनशक्तिलाई स्ट्याण्डबाई राखेको बताउँछन्, केन्द्रीय प्रहरी प्रवक्ता (एसएसपी) वसन्तबहादुर कुँवर ।

तर, कति संख्यामा प्रहरी संक्रमित छन् ? संक्रमितमध्ये कति प्रहरीको स्वास्थ्यस्थिति कस्तो छ ? यसबारे उनले केही बताउन चाहेनन् ।

‘यस्तो कुराले ड्युटीमा खटिनेहरूको मनोबल घट्छ, त्यसैले यसबारे कुरै नगरौँ’, कुँवरले नेपाल प्रेससँग भने ।

अनुमान गर्न सकिन्छ कि, बिहान सबेरैदेखि मध्यरातसम्म दुःख गर्ने यी प्रहरीले आफ्नो परिवार, स्वास्थ्य र समय नभनी काम गरेबापत पक्कै पनि सरकारबाट अतिरिक्त भत्ता वा सुविधा पाएका छन् । तर, प्रहरी प्रवक्ता कुँवर यो कुरा स्वीकार गर्दैनन् । ‘अहिलेसम्म हाम्रो जानकारीमा त्यस्तो केही छैन’, उनले बताए ।

अर्थात्, अहिले निषेधाज्ञा व्यवस्थापनका निम्ति खटिएका ३४ हजार र स्ट्याण्डबाई राखिएका १२ हजार प्रहरी र अरु प्रहरीले पाउने सेवा, सुविधा उत्तिकै हो, फरक केही छैन ।

बरु, निषेधाज्ञा व्यवस्थापनमा खटिएका प्रहरीको थप दुःख छ, उनीहरू निर्धक्कसाथ घर जान सक्दैनन् ।

‘दिनभरि सयथरिका मान्छेसँग बोलिन्छ, भेटिन्छ । त्यसक्रममा यदि आफूमा कुनै समस्या आएको छ भने आफ्नो समस्याका कारण घर-परिवार पनि समस्यामा पर्ने डर हुन्छ’, उपत्यकास्थित एक प्रहरी वृत्तका इञ्चार्जले भने, ‘घर जान मन लाग्छ, तर रोगको डर छ ।’

हाकिमहरू को भए संक्रमित ?

अहिले उपत्यका प्रहरीका प्रमुख (एआईजी) हरिबहादुर पालसहित चार डीएसपी कोभिडको दोस्रो लहरबाट संक्रमित भए । त्यसमध्ये उपत्यका प्रमुख पाल र लैनचौर प्रहरी वृत्तका डीएसपी दिपक खड्का होम क्वारेन्टिनमा रहेरै संक्रमणमुक्त भइसकेका छन् ।

तर, बालाजु वृत्तका डीएसपी निर्मल बुढाथोकी, परिसरका राजकुमार केसी र नरेन्द्र चन्द संक्रमणका कारण न घर जान सकेका छन्, न त कुनै स्वास्थ्य संस्थामा उपचाररत छन् । उनीहरू कार्यालयकै एउटा कुनालाई होम क्वारिन्टिन बनाएर बसेका छन् । स्वास्थ्यस्थिति सामान्य छ ।

यस्तै दुःख छ, ट्राफिक प्रहरीलाई । सडक भरिँदा तिनै ट्राफिक, खालि भए पनि उनैलाई भ्याइनभ्याई । यस्तो हुँदा संक्रमणको दर ट्राफिकमा बढी छ । तर, उपत्यका ट्राफिक महाशाखाले यसबारे औपचारिक रूपमा केही बताएको छैन ।

संक्रमित हुने ट्राफिकलाई उपचारका लागि महाशाखाले रामशाहपथस्थित कार्यालयको पछिल्तिर आइसोलेसन सेन्टर बनाएको छ । त्यहाँ अहिले दुई असईसहित केही जवान र हवल्दार राखिएका छन् ।

‘रियल फ्रन्टलाइनर’ प्रहरी सुरक्षाकर्मी जो सडकमा बिहानदेखि रातिसम्म हजारौं व्यक्तिको सीधा सम्पर्कमा रहन्छन् उनीहरूका दुःख कसलाई सुनाउने ? फौजी अनुशासनका कारण न त उनीहरूले सार्वजनिक रूपमा अरुले जसरी आफ्ना दुःख सुनाउन सक्छन्, न त अरुले बुझिदिन्छन् ।

संक्रमित भएका प्रहरीलाई जटिल प्रकारको स्वास्थ्य समस्या आएमा शुरूमा महाराजगञ्जस्थित प्रहरी अस्पताल र त्यसपछि बलम्बुस्थित सशस्त्र प्रहरीको कोभिड विशेष अस्पतालमा पुर्‍याइन्छ । तर, अहिलेसम्म आईसीयू र भेन्टिलेटर चाहिने स्थितिमा कोही पनि प्रहरी संक्रमित नभएको केन्द्रीय प्रवक्ता कुँवरले बताए ।

संक्रमित प्रहरीलाई श्वासप्रश्वाससम्बन्धी समस्या नआउँदासम्मका लागि समाखुशीस्थित नम्बर २ गणमा आइसोलेसन सेन्टरमा राख्ने गरिन्छ । त्यहाँ आइतबार विभिन्न दर्जाका ५० प्रहरी राखिएका छन् । त्यसरी आइसोलेसनमा राखिएका प्रहरीमा केही इन्स्पेक्टर र बाकी जुनियर अफिसर छन् । प्रहरी आइसोलेसनको यो संख्या घट्दो छ । त्यहाँ तीनदिनअघि ८५ प्रहरी थिए । आइतबार घटेर ५० पुगेको हो ।

अहिलेसम्म कोही पनि प्रहरी आइसियु र भेन्टिलेटरमा राख्नुपर्ने स्तरमा अस्वस्थ भएका छैनन् । श्वासप्रश्वासको समस्या आएमा आइसोलेसनमै अक्सिजनको व्यवस्था गर्ने गरिएको गणका एक अधिकृतले बताए । तर, पछिल्लो समय अक्सिजन सिलिण्डरको विषयलाई लिएर प्रहरी आलोचित भएपछि श्वासप्रश्वासको समस्या आएमा नजिकको अस्पताल लैजान थालिएको छ ।

अहिले महामारीका बेला सबैभन्दा चर्चित बनेको शब्द छ ‘कोभिडविरुद्ध लड्ने फ्रन्टलाइनर’ । स्वास्थ्यकर्मी,एम्बुलेन्स चालकदेखि स्वास्थ्य तथा औषधीसँग सम्बन्धित सबैले फ्रन्टलाइनरको रूपमा सम्मान पाएका छन् ।

तर ‘रियल फ्रन्टलाइनर’ प्रहरी सुरक्षाकर्मी जो सडकमा बिहानदेखि रातिसम्म हजारौं व्यक्तिको सीधा सम्पर्कमा रहन्छन् उनीहरूका दुःख कसलाई सुनाउने ? फौजी अनुशासनका कारण न त उनीहरूले सार्वजनिक रूपमा अरुले जसरी आफ्ना दुःख सुनाउन सक्छन्, न त अरुले बुझिदिन्छन् ।


प्रतिक्रिया

One thought on “न अतिरिक्त सुविधा छ, न त यिनका दुःख बुझिदिन्छन् (भिडियो)

  1. कृपया नकारात्मक सोंच को समाचार नलेखौं । सुरक्षाकर्मीले पैसाको लागि काम गरेको होइन, सेवाभावले हो । सहुलियत पाएमा अबश्य पनि राम्रो हो, तर सरकारले दिएन भनेर काम नगर्ने कुरा हुदैन । सकिन्छ भने तपाईं ले पनि निस्वार्थ सेवा गर्न सक्नु हुन्छ, भाड्ने काम नगरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर