एकसाता हिमाल आरोहण बन्द गर्न सिफारिस, मन्त्री भन्छन्- परिस्थिति हेरेर सरकारले निर्णय लिन्छ – Nepal Press
ताउ–ते चक्रवातको असर नेपालमा

एकसाता हिमाल आरोहण बन्द गर्न सिफारिस, मन्त्री भन्छन्- परिस्थिति हेरेर सरकारले निर्णय लिन्छ

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले एकसाताको लागि हिमाल आरोहण बन्द गर्न सिफारिस गरेको छ ।

हिन्द महसागरदेखि सुरु भएको शक्तिशाली चक्रवात ‘ताउ-ते’ले नेपालमा असर पार्न सक्ने भएकाले एक साताको लागि हिमाल आरोहण बन्द गर्न सुझाउँदै विभागले बुलेटिन जारी गरेको छ ।

नेपाल प्रेससँग कुरा गर्दै बरिष्ठ मौसमविद् वरुण पौडेलले चक्रवातको प्रभावको कारण मौसम बदली हुने र हिमपात हुनसक्ने अवस्थालाई दृष्टिगत गर्दै कम्तीमा एक साता आरोहण रोक्न पर्यटन मन्त्रालयलाई सुझाव दिइएको बताए ।

पर्यटनमन्त्री भानुभक्त ढकालले विभागको सुझावबारे परिस्थिती हेरेर अघि बढ्ने बताए । पर्यटन विभागको आरोहण शाखाकी प्रवक्ता मीरा आचार्यले सकभर आरोहण बन्द गर्ने पक्षमा आफूहरु नरहेपनि मौसम विभागको सूचनालाई लिएर छलफल भैरहेको बताइन् ।

नेपालमा बुधबारदेखि उक्त चक्रवातको असर देखिन सुरु हुने भएको छ । यो साता घाम नलाग्ने र नेपालमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहेको पौडेलले बताए ।

सुदूरपश्चिमामा हावाहुरी लाग्ने, चट्याङ पनि पर्ने भएकाले विशेष सतर्कता अपनाउन पनि उनले आग्रह गरे । सुदुरपश्चिम र पश्चिममा भारी वर्षा हुने भएपनि काठमाडौंमा हल्का वर्षा हुने अनुमान गरिएको छ ।

नेपालमा चक्रवातको सीधा असर नपर्ने भएपनि आइतबारदेखि मौसममा सुधार आउने विभागले जनाएको छ ।

हिन्द महासागरदेखि सुरु भएको उक्त चक्रवात अहिले १७५ प्रतिघण्टाको बेगमा भारतमा अघि बढिरहेको छ । समुन्द्र तटीय क्षेत्र केरला र मुम्बईमा क्षति पु¥याउँदै उक्त चक्रवात गुजराततर्फ अघि बढिरहेको छ ।

यसपटकको चक्रवातको नाम ‘ताउ-ते’ राखिएको छ । म्यानमारको भाषाको यसको अर्थ ‘माउसुली’ भन्ने हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *