अक्सिजन उत्पादन क्षमता बढाउँदै उद्योगहरू – Nepal Press

अक्सिजन उत्पादन क्षमता बढाउँदै उद्योगहरू

काठमाडौं । सरकार र निजी क्षेत्र दुवै अक्सिजन उत्पादन र सिलिन्डर आयातको क्षमता बढाउन जुटेका छन् । केही दिनअघि प्रधानमन्त्रीको कार्यालय र विद्युत प्राधिकरणका प्रतिनिधिले अक्सिजन उद्योगको अनुगमनसमेत गरेका थिए ।

सरकारले अक्सिजन लगायत कोभिड-१९ रोकथान तथा उपचारमा प्रयोग हुने स्वास्थ्य सामाग्रीको आयातमा लाग्ने कर छुट दिएको छ । अर्थमन्त्रालयले डडेल्धुरा, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जमा अक्सिजन प्लान्ट र पाइपलाइन जडानका लागि ५ करोड ८३ लाख २४ हजार उपलब्ध गराउने निर्णयको सझौतामा हस्ताक्षर गरेको छ ।

अक्सिजनको सिलिन्डर अभाव भएपछि अक्सिजन प्रयोग गर्ने उद्योगले आफूसँगका सिलिन्डर सरकारलाई दिइसकेका छन् । संक्रमित बढ्दै गएको अहिलेको अवस्थामा २२ अस्पतालले अक्सिजन प्लान्ट स्थापना गरेका छन् ।

अक्सिजन अभाव भएपछि नयाँ उद्योग स्थापना र भएका उद्योगहरूको क्षमता बढाउन थालिएको छ । कैलालीको टिकापुरमा सञ्चालन हुनेगरी ३० करोड लागतमा सञ्चालन गर्ने गरी नयाँ उद्योग दर्ता भएको छ । सो उद्योग सञ्चालनमा आएपछि प्रति मिनेट ५०० क्यूभी लिटर अक्सिजन उत्पादन गर्ने छ ।

शंकर अक्सिजन उद्योगले पनि रुपन्देहीमा प्रतिवर्ष ४८ लाख क्यूभी लिटर अक्सिजन उत्पादन क्षमताको नयाँ उद्योग दर्ता गराएको छ । यस उद्योगले बालाजु औद्योगिक क्षेत्रमा हाल उत्पादन गर्दै आएको ७ लाख क्यूभी लिटरबाट बढाएर १५ लाख ३६ हजार क्यूभी लिटर उत्पादन वृद्धि गरेको उद्योग विभागका महानिर्देशक जिबलाल भुषालले जानकारी दिए ।

शंकर अक्सिजन उद्योगले प्रतिवर्ष १८ हजार मेट्रिक टन लिक्विड अक्सिजन उत्पादन गर्ने गरी काम शुरू गरिसकेको छ ।

अक्सिजन उद्योगलाई सरकारको राहत

महामारीका बीच अक्सिजन उद्योगलाई सहुलियत दिन विद्युत्त प्राधिकारणले २४सै घण्टा बिजुली दिइरहेको छ । वैशाखदेखि लागू हुने गरी आगामी असोज मसान्तसम्म खपत गरिएको विद्युतको डिमाण्ड शुल्क मिनाहा गर्ने मन्त्रीस्तरीय निर्णय समेत गरिएको छ ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आइतबारको बैठकले ‘देशभित्रका अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा चलाउने । उद्योगलाई बिजुलीमहसुललगायतमा सहुलियत दिने । लिक्विड अक्सिजन ल्याउन भारतसँग आग्रह गर्ने’ निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

नेपालमा कति छन् अक्सिजन उद्योग

करिब ३० वर्ष अघिदेखि नेपालमा अक्सिजन उत्पादन गर्ने उद्योग स्थापना भएको उद्योगीहरू बताउँछन् । हाल २२ अक्सिजन उद्योग सञ्चालनमा छन् । तीमध्ये ११ उद्योग काठमाडौं उपत्यकामा नै छन् । काठमाडौं जिल्लामा भएका अक्सिजन उद्योगले प्रतिवर्ष २६ लाख ४२ हजार ८ सय ५७ क्यूभी लिटर र उपत्यका बाहिरका उद्योगले १० लाख ९७ हजार क्यूभी लिटर अक्सिजन उत्पादन गर्ने भनेर उद्योग विभागमा दर्ता भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर