काेराेना कहर

लकडाउनमा भोकका लागि संघर्ष- सडकपेटीमा डराई-डराई तरकारी बेच्ने अनुहारहरू

कौशलटारबाट बालकोट लाग्ने भित्री सडकको ओरालोमा एक वृद्ध आमा साग बेचिरहेकी हुन्छिन् । उनीसँगै लहरै ठेलागाडा राखेका दम्पती र केही ग्राहकको प्रतीक्षामा पेटीमा बसिरहेका छन् ।

‘नबेच्नु भनेको सुन्नु भएन !,’ अचानक देखिएका दुई प्रहरीले लठ्ठी बजार्दै भने ।’

वृद्धाको अनुहार निन्याउरो भयो । आँखा त्रासले भरियो । हतार हतार पेटीको फर्सीको मुन्टा अंगालोमा बोकिन् र पर रहेको ठेलामा थनक्याइन् । उनीसँगै रहेकी महिला अटेरी पारामा थन्क्याउँदै थिइन् । ‘अहिले फेरि आउँदा बेचिरहेको रहेछ भने राम्रो हुँदैन ,’ रिस भरिएको लवजले चेतावनी दिँदै ती प्रहरी अगाडि बढे ।

वृद्धाले ढुक्कको श्वास फेरिन् । अनि हामीतर्फ नजर तेर्स्याउँदै भनिन्, ‘के गर्नु नानी ! कोरोना पनि के आयो के । जिउँदै मार्ने भयो ।’
‘यस्ता राम्रा मुन्टा छन् ! कुवाएर फाल्नु पनि भएन । बेच्न पनि कति गाह्रो । लुकाउँदै बेच्दै, लुकाउँदै बेच्दै त्रासै, त्रासको जीवन !,’ ठेलामा राखिएको मुन्टा हातले उठाउँदै थपिन्, ।

बोलिरहँदा उनका आँखाहरू प्रहरी गएतिर दौडिरहेका थिए । ‘कतै फेरि आइ पो हाल्लान् कि बा !,’ सुस्तरी भनिन् ।

छेवैको ठेलागाडामा भने सानीयामाका दम्पती मकै पोल्ने गर्थे । मकैसँगै सडक पेटीमा उनीहरू तोरी, सिमसाग, रायो, लट्टेका साग, फापर र फर्सीका मुन्टा पनि बेच्थे । अहिले मकै बेच्ने क्रम त टुट्यो, उनीहरूको । साग बेच्न पनि डरमर्दो छ । ‘छाक टार्न खोज्दा पनि दुःख दिन्छन्’ भन्ने मुद्रामा उनी बहकिरहेकी थिइन् । ‘गुजारा यसैबाट चलिरहेको थियो । औषधि, बच्चाको फी, साँझ बिहानको बन्दोबस्त । लकडाउने हम्मेहम्मे परेको छ,’ उनी सुनाउँछिन् ।

कोरोना सर्ने डर त नभएको होइन सानीमायालाई । दिनदिनैको समाचार र संक्रमितको संख्याबारे सुनिरहँदा नअतालिने पनि होइन । त्यो भन्दा ठूलो डर, परिवार नै भोकै परेर विचल्ली पो हो कि भन्ने छ ।

‘यस्तो माहामारीमा पनि सडकमा आएर बेच्न पटक्कै मन छैन । के गर्नु बारी ठेक्कामा लिई सकेको छु । नबेचांै त कुहिएर जान्छ । उल्टै पैसा तिर्नुपर्छ । साना बालबच्चा छन्, ती पनि पाल्नै पर्‍यो,’ सानीमाया मलिन स्वरमा भन्छिन् ।

सानीमाया र ती वृद्धा आमाको मात्र होइन, यो समस्या । गठ्ठाघरस्थित ठूलो तरकारी बजारमा सब्जी बेच्ने व्यावसायी पनि मर्कामा छन् ।

धुलिखेल घर भएका कृष्ण कार्की दिनरात तरकारी बजारमा नै हुन्छन् । मुखमा मास्क नछुटाइकन उनी दैनिक सयौ ग्राहकसँग भेटघाट गर्छन् । व्यवसाय बन्द गरेर घरमा यतिकै बस्न सक्ने अवस्थामा छैनन् उनी । ‘व्यवसाय बन्द गरेर भोकै मर्ने,’ उनी प्रश्न गर्छन् ।

सिन्धुली घर भएकी शर्मिलाको घरमा साना बच्चा छ । तरकारी नबेची उनको पनि चुलो बल्दैन । ल्याएको तरकारी सकेर घर जाने चटारो हुन्छ उनलाई । तरकारी व्यापार गर्नु परेकाले आफ्ना बाल बच्चालाई केही होला कि भन्ने त्रास नभएको होइन । ‘नगरी पनि हुँदैन । ज्यान जोखिममा राखेर तरकारी बेचेका छु,’ शर्मिला बाध्यता सुनाउँछिन् ।

तरकारी बजारमा आफूलाई थाहा भएपनि सुरक्षाको सम्पूर्ण मापदण्ड अपनाउन पनि सजिलो नभएको उनको अनुभव छ । ‘दिनभर यही काममा व्यस्त हुनुपर्छ । यहीँ चिया, भातदेखि खाजासमेत खानुपर्छ । कति मान्छेसँग भेट हुन्छ । सुरक्षाको मापदण्ड अपनाए पनि डर हुने,’ उनी भन्छिन् ।

सहरका सबै व्यवसायमा सन्नटा छाए पनि तरकारी बजारमा भने बिहान बेलुका भीड नै लाग्छ । ठूला सब्जी बजार बिहान ८ बजे नै बन्द भए पनि केही दिनभर नै खुला छन् ।

सरकारले लकडाउनमा कडाइ गरे पनि साना व्यापारी भने बेच्न बाध्य भएको उनीहरू सुनाउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *