कर्णाली सरकारसँग कांग्रेसको गठबन्धन नभएको सचेतक शाहीको दावी, माओवादी दवावमा – Nepal Press

कर्णाली सरकारसँग कांग्रेसको गठबन्धन नभएको सचेतक शाहीको दावी, माओवादी दवावमा

सुर्खेत । कर्णाली प्रदेश सरकारको प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले नेकपा माओवादीसँग मन्त्रालयको वार्गेनिङ गरेर दुई मन्त्रालय पाए पनि सरकारमा जानका लागि अहिलेसम्म दुई जना सांसदको नाम तयार गर्न सकेको छैन ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रालय फूटाएर आठ पुर्‍याउँदा दुई मन्त्रालय चाहिने भन्दै अड्डी कसेको नेपाली कांग्रेसले महामारीको समयमा पाएको सामाजिक विकास मन्त्रालयकोसमेत जिम्मा लिन नखोजेपछि कर्णालीको राजनीतिमा कांग्रेसले मोही माग्ने ढुंग्रो लुकाउने काम गरेको सत्तारुढ दलका सांसदले बताएका छन् ।

‘जोगी देखि भैसी तर्सने अवस्था आएको हो । कांग्रेसले धेरै मन्त्रालय लिन खोजेको हो वा मुख्यमन्त्री नै खोजेको हो भन्ने बारेमा हामीलाइ केहि पनि जानकारी नै छैन,’ माओवादी सांसद ठम्मर विष्ट भन्छन, ‘म पनि संसदीय दलको सदस्य हुँ । माओवादीको पनि के हो कुरा थाहा भएको छैन । यी सबै विषय जनताका विषय हुन यसलाई सार्वजनिक गरेर जानुपर्ने हो । असारपछि मुख्यमन्त्रीसहित काँग्रेस सरकारमा जान खोजेको हो कि ? मन्त्रालय दिने भनेको कति हो प्रष्ट छैन । कांग्रेसले पनि संसदीय दलभित्र छलफल चलाएका होलान् । सरकारको पोलिसी के हो भन्ने कुरा आएको छैन ।’

उनले गोप्यमा भएका सहमति कार्यान्वयनमा चुनौती आउने र त्यसले समग्र प्रदेशलाई नै असर पार्ने बताए । ‘गुपचुपमा कसले कसलाई समाउने भन्ने खेल चलेको होला । यसले राम्रो काम गर्दैन । दिनप्रतिदिन सत्तत्तारुढ दलबीच नै अविश्वास पैदा भएको महसुस भइरहेको छ । अविश्वासको वातावरण बढदै गएको खण्डमा यसले दुवै पक्षलाई नराम्रो असर गर्ने निश्चित छ ।’

तर काँग्रेस सचेतक हिमबहादुर शाहीले भने आफूहरु सत्तापक्ष नभएको बताए । ‘हामी अहिले पनि सत्तापक्ष होइनौं । मिडियाले प्रचार मात्रै गरेको छ । हामी प्रमुख प्रतिपक्षी पनि होइनौं प्रतिपक्ष मात्रै हौं,’ शाही भन्छन्, ‘विश्वासको मत मात्रै सरकारलाई हामीले दिएका हौं । सरकारमा जाने वा नजाने भन्ने कुरा अहिले कुनै टुंगोमा हामी पुगेका छैनौं ।’ महामारी आइरहेको समयमा जे जस्ता कमजोरी भएका छन्, त्यसमा सत्ता पक्षकै जिम्मेवारी रहने उनको दावी छ ।

तपाईहरु प्रतिपक्ष नै हो भने माओवादी नेतृत्वको सरकार अल्पमतमा परिसकेको हो ? भन्ने प्रश्नमा शाही भन्छन्, ‘होइन, हामीले विश्वासको मत माओवादीलाई दिएका हौं नि त । अब फ्लोर क्रस गरेर सत्तालाई जीवित राख्ने जिम्मेवारी त माओवादीकै हो ।’

स्वास्थ्य मन्त्रालयकै प्रस्ताव गर्दा पनि संकटको बेलामा कांग्रेस भाग्न खोजेको आरोपको नेता शाहीले ठाडै अस्वीकार गरे । । ‘नेपाली कांग्रेस कुनै पनि राजनीतिक÷गैरराजनीतिक संकटमा भाग्दैन । जनताले दिएको जिम्मेवारी सहज रुपमा पूरा गर्छ । नेपाली कांग्रेसलाई पनि एउटा मर्यादापूर्वक गठबन्धनमा जान आव्हान गर्नुपर्छ । आइतबार आइजा, सोमबार आइजा, यो खाइजा भन्ने, सत्ता चलाउने कुरामा हुँदैन । मोही माग्ने ढुंग्रो किन लुकाउने भनेजस्तै यो मन्त्रालय दिन्छौं, यो दिन्नौं भन्ने कुरा त होइन नि त । सबैकुरा समझदारीबाट, सौहाद्रताबाट, विश्वासबाट अगाडी बढने कुरा हुन् । यदि माओवादीले विश्वासको मत दिएर कांग्रेसले त्याग गरेको मान्छ भने उसले पनि इमान्दारिताका साथ काम गर्नु प¥यो नि त ।’

उनले आफूहरुको दल अहिलेसम्म सत्ता गठबन्धनमा सहभागि नभएको बताउँदै कर्णालीमा गठबन्धनको सरकार नभएकोमा प्रष्ट हुन सबैलाई आग्रह गरे ।

नेकपा माओवादीले कांग्रेसका लागि भन्दै सामाजिक विकास मन्त्रालय र उर्जा तथा जलस्रोत मन्त्रालय छुट्याएको छ । तीन मन्त्रालय फ्लोर क्रस गरेर आएकाहरुले सम्हालेका छन् भने दुई जना मन्त्रीले आज दिउँसो १ बजे सपथ लिँदैछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर