प्रधानमन्त्रीलाई पुनः शपथ गराउन जसपाको माग – Nepal Press

प्रधानमन्त्रीलाई पुनः शपथ गराउन जसपाको माग

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आइतबार एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीको शपथका क्रममा भएको घटनाले राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादामा असर पुगेकोले पुनः शपथ गराउन माग गरेका हुन् ।

‘प्रधानमन्त्रीको शपथग्रहणमा सम्माननीय राष्ट्रपतिद्वारा वाचन भएको सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्दछु भन्ने वाक्यांशमा प्रतिज्ञा गर्दछु नभनी सत्यनिष्ठापूर्वक त्यो पर्दैन भनेर शपथग्रहण गरेकाले यसले देशको राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुगेको हुँदा उक्त शपथग्रहण बदर गरी पुनः शपथग्रहण गराउन हाम्रो पार्टी माग गर्दछ’, यादवले विज्ञप्तीमार्फत भनेका छन् ।

विज्ञप्तीमा हालै गरिएको राजदूतहरुको नियुक्तिमा संविधानले सुनिश्चित गरेको समावेशिताको सिद्धान्त अस्वीकार गरिएको आरोप समेत छ । राजदूत नियुक्ति सच्याएर समावेशी मान्यता र मापदण्डका आधारमा नियुक्ति गर्न यादवको माग छ ।

कोरोनाको दोस्रो लहरको बढ्दो प्रभावले नेपाली जनता आक्रान्त भएको भन्दै आवश्यक स्वास्थ्य जनशक्ति, बेड, अक्सिजन, आइसीयु, भेन्टिलेटर र औषधीको यथाशीघ्र व्यवस्था गर्न समेत जसपा अध्यक्ष यादवले माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर