कोभिड बिरामीलाई विवेकशील साझाको ‘तातो भात’ – Nepal Press

कोभिड बिरामीलाई विवेकशील साझाको ‘तातो भात’

दैनिक २ सय छाक खाना खुवाउने लक्ष्य

पोखरा । गण्डकी प्रदेशको एकमात्र कोभिड अस्पतालमा बिरामीले बेड भरिएपछि अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पनि उस्तै चाप छ । दैनिक ठूलोमात्रामा कोरोना संक्रमितको संख्या थपिँदै जाँदा अस्पतालका बेडहरु पनि भरिँदै जान थालेका छन् ।

कोभिड महामारी फैलिँदै जान थालेपछि जेठ ७ सम्मका लागि कास्की लकडाउनमा छ । लकडाउनमा अत्यावश्यकबाहेक होटल तथा रेस्टुरेन्टजन्य सम्पूर्ण गतिविधि बन्द गरिएको छ । यसले एकातिर कोरोना महामारीको ‘चेन ब्रेक’ गर्ने प्रशासनको दाबी छ भने अर्कातिर अस्पतालमा भर्ना भएका बिरामी र कुरुवालाई खाना बस्नको सकस परिरहेको छ ।

यसको उदाहरण पश्चिमाञ्चल अस्पतालकै कोभिड आइसोलेसनमा भर्ना भएका संक्रमित र उनीहरूका कुरुवालाई लिन सकिन्छ । अस्पताल वरपरका होटल तथा रेस्टुरेन्ट पूर्ण रूपमा बन्द भएपछि विवेकशील साझा पार्टीले ‘कोभिड विरामीलाई तातो भात’ अभियान सञ्चालन गर्ने भएको छ ।

साझाको उक्त अभियान अन्तर्गत अस्पतालमा भर्ना भएका कोभिड बिरामी, उनीहरूका कुरुवा र आइसोलेसन वार्डमा कार्यरत स्वास्थ्यकर्मी गरेर दैनिक २ सय छाक खाना खुवाउने तयारी रहेको विवेकशील साझा पार्टीका पोखरा महानगर संयोजक अजय श्रेष्ठले जानकारी दिए ।

‘कोभिड अस्पतालका अवस्था बुझ्दै जाँदा पश्चिमाञ्चलमा धेरै बिरामी भर्ना भएको पाइयो । नजिकका होटल, रेस्टुरेन्ट नहुँदा उनीहरू भोकै बस्नुपर्ने स्थिति रै’छ,’ श्रेष्ठले भने, ‘बिरामी र उनीहरूका आफन्तलाई केही भए पनि सहयोग होस् भनेर यो अभियान सुरु गरेका हौं ।’

अस्पतालमा अहिले ७७ जना भन्दा बढी कोभिडका बिरामी उपचाररत छन् । भर्ना भएका अधिकांश कोभिड संक्रमितको अवस्था गम्भीर छ । अभियान अन्तर्गत आइतबार साँझदेखि नै सुरु खाना खुवाउन सुरु गर्ने संयोजक श्रेष्ठले बताए । प्रत्येक कोभिड संक्रमितका २ जना कुरुवा पनि हुने हुनाले कम्तिमा २ सय छाक दैनिक खुवाउने उनले सुनाए ।

‘पहिलो चरणमा हामीले १० दिनका लागि यो अभियान चलाएका हौं । हामीले साँझमात्रै खाना खुवाउने हो,’ श्रेष्ठले भने, ‘त्यसपछि हामीसँग अन्य मनकारी मनहरू पनि पक्कै जोडिनुहुनेछ । त्यहाँहरू जोडिइसकेपछि अझै धेरै समय लैजाने सोचमा छौं ।’

कोभिड बिरामीका लागि लेकसाइडको गडफाडर पिज्जेरियाको भान्सामा खाना तयार पारिने श्रेष्ठले जानकारी दिए । उनले खानामा ६ दिन शाकाहारी र एक दिन मासु उपलब्ध गराउने योजना रहेको बताए । ‘उहाँहरूलाई हामीले प्याकेट खाना दिने हो । अस्पतालसँग समन्वय गरिसकेका छौं । अस्पतालको प्राङ्गणमा लगिसकेपछि उहाँहरूको आफन्त खाना लिन आउनुहुन्छ,’ उनले भने ।

पार्टीका महानगर सहसंयोजक विपना कुँवरले पोखराकै गण्डकी मेडिकल कलेजमा पनि अभियान चलाउनेबारे योजना रहेको जानकारी दिइन् । ‘अहिले सरकारी अस्पतालाई नै मुख्य टार्गेटमा राखेका छौं । यहाँ धेरै टाढाका गाउँबाट पनि आउनु भएको रहेछ । उहाँहरूसँग सीमित आर्थिक स्रोत हुने भएकाले भार नपरोस् भन्ने हाम्रो चाहना हो,’ उनले भनिन्, ‘जिएमसीलाई पनि टार्गेट गरेका छौं । त्यहाँ पनि अभियान लैजाने योजना छ ।’


प्रतिक्रिया

One thought on “कोभिड बिरामीलाई विवेकशील साझाको ‘तातो भात’

Leave a Reply to Yogesh pant Cancel reply

Your email address will not be published. Required fields are marked *