नयाँ शैक्षिक सत्र फेरि सार्ने तयारी – Nepal Press

नयाँ शैक्षिक सत्र फेरि सार्ने तयारी

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रमण बढ्दो रहेकाले दुई महिनापछि धकेलिएको नयाँ शैक्षिकसत्र आगामी असार १ गतेदेखि शुरु हुनेमा अन्योल देखिएको छ ।

गत वर्षको महामारीको प्रभावका आधारमा चालु शैक्षिकसत्र, २०७७ लाई जेठ मसान्तसम्म लम्ब्याएर असार १ गतेदेखि नयाँ शैक्षिकसत्र, २०७८ सञ्चालन गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ परिस्थितबारे आङ्कलन गरिरहेको छ ।

कोरोनाको दोस्रो लहरले बालबालिकालाई झन् बढी जोखिम हुने भएकाले निषेधाज्ञा जारी हुनु अगावैदेखि शिक्षालयहरुमा भौतिक उपस्थितिको पढाइ बन्द गराइएको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले नयाँ शैक्षिकसत्र असारदेखि हुने गरी शिक्षा नियमावालीमा भएको संशोधन नेपाल राजपत्रमा प्रकाशन भइसकेको र सोबमोजिम सम्बन्धित पक्षलाई सूचना पठाइएको बताउँदै नयाँ परिस्थितिबारे सरकारले निर्णय गरिनसकेको जनाए ।

अर्को निर्णय नभएसम्म विद्यालयहरुले असार १ गतेदेखि नै नयाँ शैक्षिकसत्र शुरु गर्नुपर्ने हुन्छ भने यसको व्यावहारिकता हेरेर पाठ्यवस्तुमा थप समायोजना गरी नयाँ भर्नाको नयाँ मिति तय गर्नुपर्ने देखिएको छ ।

विगतमा हरेक चैतमा वार्षिक परीक्षा समाप्त भई वैशाखमा नयाँ भर्ना हुँदै आएको थियो भने गत वर्ष शुरु भएको कोरोना महामारीका कारण अधिकांश महिना प्रत्यक्ष कक्षा बन्द भई वैकल्पिक प्रणालीको सिकाइ निरन्तरतामार्फत पाठ्यवस्तु समायोजन गरेर पठनपाठन गराइएको थियो । बन्दाबन्दीका कारण गत वर्ष पनि भदौ महिनासम्म नयाँ भर्ना हुन सकेको थिएन ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष लक्ष्मण शर्माले अहिलेको अवस्थामा आगामी असार १ गतेदेखि नयाँ भर्ना गर्न सम्भव नभएको प्रतिक्रिया दिए । उनले अनलाइनलगायत वैकल्पिक माध्यमको सिकाइका लागि शिक्षक तयार रहे पनि सबै स्थानका विद्यार्थीसँग पहुँच नभएकाले महामारीको प्रभाव कम हुँदै गएमा आगामी भदौतिरबाट शैक्षिकसत्र शुरु गर्न सकिने बताए।

महामारीकै कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० र १२ को परीक्षा स्थगन भएका छन् । यी परीक्षा निर्धारण नभएसम्म पनि नयाँ शैक्षिकसत्रबारे निर्णय गर्न असुविधा हुने देखिएको छ । शहरी क्षेत्रका निजी विद्यालयले भने सरकारको शुल्क उठाउन आफूखुशी नयाँ भर्ना शुरु गर्ने तयारी गरेका छन् ।

पाठ्यपुस्तकको मूल्यसूची पुरानै

सरकारले आउँदो शैक्षिकसत्रका लागि पनि कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तकको मूल्यसूची यथावत् कायम राखेको छ । शिक्षा मन्त्रालयले चालु शैक्षिकसत्र, २०७७ का लागि स्वीकृत गरेको मूल्यसूची शैक्षिक वर्ष २०७८ का लागि पनि कायम रहने गरी पाठ्यक्रम विकास केन्द्रले सूचना प्रकाशन गरेको छ । रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *