जसपामा विवाद बढेपछि महन्थ र उपेन्द्रबीच वार्ता हुँदै – Nepal Press

जसपामा विवाद बढेपछि महन्थ र उपेन्द्रबीच वार्ता हुँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालमा सम्भावित विभाजन रोक्न आज दुईपक्षीय वार्ता हुँदैछ ।

एक वर्षअघि तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जसपाभित्र वैकल्पिक सरकार गठनको विषयमा देखिएको मतभेद चुलिँदो छ । विवादकै बीच अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीच आज भेटवार्ता हुन लागेको हो ।

भेटमा पार्टीभित्रका समस्या समाधानको बाटो पहिल्याउने वा अलग-अलग बाटो तय गर्ने भन्नेमा छलफल हुनेछ । ‘पार्टीभित्र विवाद भएको कुरा लुकेको छैन । अध्यक्षहरू बसेर समाधन खोज्नुहुन्छ होला । मिल्ने अवस्था रहेन भने छुट्टिन के भो र ?’, जसपाका एक नेताले भने ।

ठाकुर पक्षले हालै राजेन्द्र महतोलाई संसदीय दलको नेतामा चयन गरेको थियो । यादव पक्षले भने संसदीय दलको एकीकरण भइनसकेको र विधान पनि नबनेकोले नेता चयन अवैध भएको दावी गर्दै आएको छ ।

शनिबार यादव पक्षको कार्यकारिणी समितिको बैठक बसेको छ । शनिबारको बैठक जसपाको आधिकारिक नभएको भन्दै ठाकुरले विज्ञप्ति नै जारी गरेका थिए । यादव पक्षले पनि बैठकपछि विज्ञप्ति जारी गरेर दलको नेता चयन नभएको जनाएको थियो । विज्ञप्ति प्रकरणपछि दुवै अध्यक्षबीच आज एक बजे वार्ता हुन लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर