नेपालमा अक्सिजन सहयोगका लागि एनआरएनएको अभियान – Nepal Press

नेपालमा अक्सिजन सहयोगका लागि एनआरएनएको अभियान

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ अभियान अन्तर्गत बेलायतस्थित नेपाली समुदायले सहयोग संकलन थालेका छन् ।

नेपाली दूतावास लण्डनको समेत सहभागितामा तथा अध्यक्ष पुनम गुरुङको संयोजनमा शनिबार साँझ (भर्चुअल) माध्यमद्वारा यहाँ स्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको संयुक्त बैठकले नेपालमा तत्काल सहयोगको लागि अभियान सुरु गर्ने निर्णय गरेको हो ।

विभिन्न संघसंस्थाका पदाधिकारीहरुले झन्डै सवा करोड रुपियाँ सहयोग गर्ने वाचा गर्दै उक्त रकमबाट १ सयवटा अक्सिजन कन्सन्ट्रेटर मेशिन तत्कालै किनेर नेपाल पठाउने घोषणा गरेका छन्।

पहिलो चरणको छलफलमै ६४ वटा अक्सिजन कन्सन्ट्रेटर मशिनको प्रतिबद्धता आएको छ । करिब ११५ भन्दा बढी प्रतिनिधीहरुको उपस्थितीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीले नेपालमा तत्काल दुईवटा प्राथमिकता लिएर सहयोग गर्न सकिने बताए ।

उनले कोभिड उपचारको लागि अक्सिजन कन्सन्ट्रेटर उपकरण तत्तकाल आवश्यक रहेको जानकारी दिए । उनले गैरआवासीय नेपाली संघ र नेपाल सरकारबीच सहकार्य गरेर अघि बढ्न सकिने बताए ।

उनले गैरआवासीय नेपाली संघ यूकेले बेलायतवासीको तर्फबाट पहिलो चरणमा अक्सिजन कन्सरट्रेसर पठाउन अनुरोध गरे । रेग्मीले नेपालमा स्वास्थ्य सामग्री पठाउन परे आवश्यक हवाई चार्टड समेत गर्न सकिने जानकारी दिए ।

कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ यूकेका संरक्षक सूर्य गुरुङ्गले महाभूकम्पको वेलामा वेलायतवासी नेपाली समुदायतले ऐक्यवद्ध भएर देशमा सहयोग गरेको स्मरण गर्दै अहिलेको स्वास्थ्य संकटमा समेत एक भएर सहयोग संकलन गर्न आव्हान गरे ।

संघका महासचिव डा हेम राज शर्माले तत्काल अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटरहरु पठाउन आग्रह गरे । शर्माले विदेशमा संकलन भएको सहयोगलाई नेपाल सम्म पुराउनको संघले आवश्यक सहयोग गर्ने बताए । गैरआवासीय नेपाली संघ का केन्द्रीय सदस्य रामशरण सिमखडाले महाभूकम्पको भन्दा अहिले स्थिति बढी भयावह रहेको बताए ।

उनले एउटा ठोस ‘एक्सन प्लान’ बनाएर अघि बढ्नु पर्नेमा जोड दिए । अत्याबश्यक स्थानहरु प्राथमिकताको आधारमा प्रादेशिक अस्पताल बुटवल, भेरी तथा कर्णालीमा आजको दिनमा अक्सिजनको अभाव भएकोले सरकारी एकद्धार प्रणाली भएता पनि मन्त्रालयसँगको परामर्शमा सहयोग गर्ने संस्थाको अनुरोध समेत सुनिने हुंदा ति स्थानहरुमा सहयोग गर्न र अध्यक्ष पुनम गुरुङकै प्रस्ताब अनुसार १(२ दिनमा काम अघि बढाउन सुझाए।

गैरआवासीय नेपाली संघका सल्लाहकार कुल आचार्यले यो महामारी देशलाई सेवा गर्ने अवसर भएको बताए । उनले नेपालमा अहिले अस्पतालमा अक्सिजनको अभाव हुंदा राम्रो उपचार हुन नसकेको भन्दै सबैलाइ कांधमा कांध मिलाएर देशको सेवामा लाग्न आग्रह गरे । उनले नेपालमा खोप लैजान सबै पक्षलाइ आआफ्नो स्थानबाट पहल गर्न आग्रह पनि गरे ।

गैरआवासीय नेपाली संघका यूरोप क्षेत्रीय उपसंयोजक कृष्ण तिमिल्सनाले अहिले देशमा स्वास्थ्य संकट रहेकोले सबैजना ऐक्यबद्ध भएर सहयोग गर्नु पर्ने वेला आएको बताए ।

गैरआवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले तत्काल नेपालमा खोप लैजान पहल गर्नु पर्ने साथै तत्काल सहयोगको लागि सक्रिय हुनुपर्ने सुझाव दिएका थिए ।

३ घण्टा चलेको सो कार्यक्रमबाटै ७५ लाखको प्रतिबद्धता आई सकेको र धेरै संघसंस्थाले तत्कालै छलफल पश्चात सहयोग गर्ने जानकारी समेत दिईएको सो कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधीहरु, गैरआवासीय नेपाली संघ यूकेका पदाधिकारीहरु, पत्रकार, लेखक, बुद्धिजीवीहरुको उपस्थिति थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर