कार्यदल बनाउन ओली-नेपाल भेट्दै, बादलको इन्ट्रीले माधव पक्षमा आशंका – Nepal Press

कार्यदल बनाउन ओली-नेपाल भेट्दै, बादलको इन्ट्रीले माधव पक्षमा आशंका

काठमाडौं । नेकपा एमालेलाई २०७५ जेठ २ मा फर्काउनुपर्ने सर्त राखिरहेका वरिष्ठ नेता माधवकुमार नेपालसँग आज जेठ २ कै दिन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विवाद समाधानका लागि छलफल गर्ने भएका छन् ।

शुक्रबार दुई पक्षबीच भएको वार्तामा पार्टीलाई जेठ २ को वरिपरिको अवस्थामा लगेर समाधान निकाल्ने सहमति भए बमोजिम कार्यदल गठनका लागि दुई शीर्ष नेताबीच छलफल हुन लागेको हो ।

दिउँसोसम्म दुई नेताबीच कुराकानी हुने र नेताहरूले आ-आफ्नो तर्फबाट कार्यदलमा रहने सदस्यको नाम टुंगो लगाउने एमाले संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए ।

पार्टीलाई कसरी जेठ २ मा फर्काउने भन्ने सन्दर्भमा कार्यदल बनाउने सहमति ओली र नेपालबीच वैशाख ३० गतेको वार्तामै भएको थियो । त्यसपछि शुक्रबार भएको वार्तामा पूर्वमाओवादी पक्षका रामबहादुर थापा ‘बादल’ समेत सहभागी भएपछि माधव पक्षको बैठकमा आशंका व्यक्त भएको छ ।

ओलीले कार्यदलमा आफ्नोतर्फबाट बादलको नाम पनि समावेश गर्ने माधव पक्षको बुझाइ छ । अहिले एमालेको स्थायी कमिटी सदस्यकै हैसियतमा रहेका बादल सिनियर नेता भएकाले कार्यदलमा उनी रहने सम्भावना पनि छ ।

बादलसहितको कार्यदल बनेपछि माधव पक्षले फागुन २८ को निर्णय मानेको अर्थ लाग्ने भएकाले त्यसमा नजान माधव नेपालमाथि दबाब छ । नेम्वाङले भने दुवै नेताको सहमतिमा कार्यदल बन्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर