शब्द होइन चेत बदलौं- आँखा नहुनु दृष्टिहीन हुनु हो ?

काकाको ब्रेन ट्युमरको अपरेसन गर्नु पर्ने भएर पोहोर कात्तिक दोस्रो सातादेखि झण्डै तीन हप्ता वीर अस्पतालको बसाइमा थिएँ । अस्पताल बसाइकै कारण घरमा थुप्रिएका पुस्तकहरुसँग पनि केही समय म टाढै रहन पुगेँ ।

आदत बसेपछि पुस्तकहरुसँग टाढा रहनु पनि एकप्रकारको छटपटी । तर, अस्पतालको बसाइ न हो, विस्तरामा सुतेका विरामीको क्रन्दन, उनीहरुले आफ्नै सुरमा बर्बराएको सुन्दा कितावमा त्यस्ता कुरा कसरी पाइन्थ्यो र जस्तो पनि लाग्ने ।

बेडमा सुतेका हरेकसँग एउटा कथा, सुतेकालाई कुरेर बस्नेहरुको एउटा अलग्गै संसार । त्यहाँ भेटिने हरेकसँग एउटा संसार । हरेक एउटा मान्छे, एउटा संसार ।

विरामी कुरुवा बस्ने ठाउँ, लिफ्ट, बाहिर चिया पिउने ठाउँ, सबैतिर भेटिने मान्छे प्रायः उही । धेरैजसो अनुहारमा बेचैनी भाव भरिएका, हतारमा रहेका नै भेटिन्थे । तिनीहरु मध्ये कसोकसो एकजना बहिनीमा भने मेरो दृष्टि परिरहन्थ्यो ।

अलिदिनको बसाइपछि आँखा नदेख्ने ती बहिनीसँग बाक्लै हेलमेल भयो । हरेक प्रश्नमा उनको उत्तर दार्शनिकको झैं लाग्ने भएकाले उनीतिर ध्यान खिचिएको थियो । उनको कुरा गराई सानोठूलो प्रवचन जस्तै लाग्थ्यो ।

उनी कहिले लेखनाथ पौड्यालको कालमहिमा कविता ‘भाका भुल दया क्षमा र ममता शन्तोष जान्दैन त्यो’ कण्ठै सुनाउँथिन्, कहिले जीवन विज्ञानका कुरा गरेर हामीलाई विरामी कुर्न बसेको बिर्साइदिन्थिन् । त्यहीँ थाहा भयो उनी पनि श्रीमानकाे ब्रेन ट्यूमर भएर शल्यक्रिया गराउन लिएर आएकी रहिछन् ।

यो पटकसँगै तीन पटक भएछ श्रीमानको ब्रेनट्युमरको शल्यक्रिया गरेको । तर अब चाहिँ बाँच्ने आशा छैन भनेर उनी डाक्टरकै शैलीमा सुनाउँथिन् त्यहाँ ।

उनी यस्तो आकर्षण भइन् कि विरामी कुरुवाहरु उनलाई सुन्न भेला हुन्थे । उनका कुरा सुनेर नसोधी थाहा भयो, उनको काखमा एउटा दूधे बच्चा रहेछ । खुट्टा खोच्याउने रहेछन् उनका श्रीमान् । तर उनी आँखा देख्ने हुनाले श्रीमतिलाई डोहाेर्‍याउँथे अस्तिसम्म । उनी मधुर स्वरमा गीत गाउँथिन् । यसैगरी चलेको रहेछ जीवन । तर आज सात महिनाको अन्तरमा श्रीमान मर्दैछन् भन्ने कुराको जानकारी थियो उनलाई ।

०००

एकदिन मैले उनलाई लिफ्टमा भेटेँ । हातमा ठूलो झोला पनि थियो । मैले ‘जान लाग्नु भयो’ भनेर सोधेँ । उनले बोलीबाटै चिनिन् र भनिन्- ‘हो त, तपाईंको काकालाई त राख्छ होला अझै, हाम्रो त बाँच्ने सम्भावना सुन्य छ रे त्यसैले विदा दियो ।’ यति कुरा उनले हल्कासँग भनिन् ।

लिफ्टमा भएकाहरु पनि उनको कुरा चकित भएर सुनिरहेका थिए । जीवन प्रतिको उनको बुझाइ कस्तो थियो भने उनी यस्तो अवस्थामा पनि जीवनमा जे आइपर्छ त्यो सहजै स्वीकार गर्नुपर्छ भन्ने उपदेश अरुलाई दिँदैछिन् । उनलाई सम्झाउन इच्छा गर्नेहरु सबै उनको पीडामा उनीसँग पो पीडा सामना गर्ने कुरा सिकिरहेका ।

उनले यस्तो कुरा पनि सजिलोसँग भनिन्, ‘अहिले उसलाई मर्छ भनेर अस्पतालले पठायो । हामी हरेक पनि त मर्ने दिन कुरिरहेका छौं नि । जीवन लिएर आएपछि, बस् मर्नको लागि तयारी अवस्थामा रहने न हो ।’ उनका यस्ता कुराले मलाई निधार समाउने बनाउँथ्यो ।

बाहिरी संसार हेर्ने आँखा बन्द भए पनि भित्री दृष्टि कति फराकिलो उनको ? उनका कुरा सुन्दा साँच्चै शरीरका रौं ठाडा हुन्थे ।

भुइँ तल्लामा झरेपछि पनि म उनीहरु निस्कने बाटोसम्म पछिपछि गएँ । उनको यो धैर्य, आत्मबल र साहस देखेर हौसिँदै उनलाई ढाडमा थप्थपाउँदै मैले भनेँ, ‘यतिका दिनसम्म त म तपाईंको फ्यान नै भएँ । तपाईं यदि अन्धी नहुनु भएको भए बाहिरको संसारमा दौडिएका मान्छेहरुमा सबै भन्दा अघि हुनुहुन्थ्यो होला है ?’

मैले अनायासै भनेको अन्धी शब्दले उनलाई ठूलो चोट परेछ । अघि सन्तजस्ती देखिएकी उनी सनक्क भइन् र भनिन् – ‘अन्धी भन्ने ? अरु नै भने हुदैंन ?’ उनको भनाईले उनी मुर्मुरिएको प्रष्टै देखिन्थ्यो ।

उनको अनुहारको क्रुद्ध रेखाले मलाई सतर्क बनायो । मैले सानो स्वरमा भने– ‘के भन्नुपर्थ्याे , भन्नु त ?’

उनले भनिन्- दृष्टिविहीन भन्नुस् । अन्धी भन्न पाइँदैन ।

मैले तत्काल सोधेँ- ‘दृष्टिविहीनको अर्थ थाहा छ तपाईंलाई ?’

उनी बोलिनन् ।

अव प्रवचन दिने पालो मेरो थियो । मैले उनलाई भनेँ, – ‘अन्धो भनेको आँखा मात्रै नदेख्ने, बाहिरको संसार देख्ने आँखा खुला नभएको, भौतिक संसार मात्र देख्न नसक्ने । दृष्टि भनेको आँखाले हेर्ने मात्र कुरा होइन । दृष्टि भएपछि आँखा नहुनेले पनि भित्रको भावहरु देख्न सक्छ । तपाईं आफ्नो भोगाईबाट यति धेरै कुरा बुझ्ने भइसक्नु भएको छ, तपाईंको त्यो दृष्टि हो । अनि तपाईं कसरी दृष्टिहीन ?’

मेरो कुरा सुनेर उनी छक्क परिन् । एकछिन् यताउता मुन्टो हल्लाइन्, अनि मुसुक्क हाँसेर भनिन्- ‘मलाई त दृष्टिहीनको अर्थ नै थाहा थिएन । दृष्टिविहीन भन्नुपर्छ भन्नु राम्रै होला भनेर त्यही ठीक लाग्थ्यो ।’ अघि भर्खरसम्म झर्केकी उनी हास्न थालिन् र भनिन्– ‘अन्धो भन्नु नै सहि रहेछ, ल अब अन्धो नै भन्न पर्‍यो ।’

हामीबीच छलफल हुँदैथियो । उनी यस विषयमा थप केही भन्न खोज्दै थिइन् । त्यहीबेला उनका आफन्तले सामान गाडीमा कसेर घर जान बोलाए । उनी गएँ है भन्दै हात हल्लाउँदै हिडिन् ।

०००

उनीसँग त्यति कुरा गरेपछि मेरो मन पनि अन्धो र दृष्टिहीन, यी दुई शब्दको भिन्नतामै घुमिरह्यो । घर फर्केर मलाई अन्धो र दृष्टिहीनको अर्थ खोज्न मन लाग्यो ।

मैले शब्दकोश पल्टाएँ र ती शब्दका भावहरुतिर ध्यान लगाएँ । अन्धो संस्कृत शब्द अन्धबाट आएको रहेछ । अन्धमा ओ प्रत्यय लागेर अन्धो भएको हो । अन्धको अर्थ हुन्छ– आँखा भएर पनि नदेख्नु, अंध्यारो देख्नु, बाहिरी संसार देख्न नसक्नु, बाहिरी संसार देखिने प्वाल टालिनु । अर्थात् आँखाका माध्यमबाट नदेख्नु ।

( पेज ४९, नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा प्रतिष्ठान,२०६९)

अब दृष्टिविहिनको अर्थ हेरौं । दृष्टिविहीन पनि संस्कृत शब्द हो । दृष्टिविहीन दुई शब्द समास भएर बनेको छ, दृष्टि र विहीन । दृष्टि भनेको देख्न सक्ने क्षमता त छंदैछ, त्यसमाथि भाव, वृत्ति, शक्ति उद्देश्य, योजना, केही सोच्ने क्षमता समेत भएको हो । विहीन भनेको नभएको । समग्रमा भन्दा भित्री, बाहिरी कतै पनि देख्न, सोच्न, उद्देश्य लिन, योजना बनाउन नसक्ने, कुनै क्षमता नभएको भावशून्य मान्छे भन्ने हुन्छ । जसको अर्थ आँखा हुनु वा नहुनुसँग मात्रै सीमित छैन ।

(पेज १२३, नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा प्रतिष्ठान,२०६९)

यति अर्थ हेरेपछि अब यसरी सहि अर्थ लाग्ने शब्दलाई गलत बनाएर झनै अर्को अर्थ लाग्ने शब्दको प्रयोगप्रति टिठ लागेर आयो । सही अर्थ दिने शब्दलाई विस्थापन गर्नुमा नै सम्मान महसुस गर्ने गलत शिक्षा विस्तार भइरहेको छ हाम्रो समाजमा । यस्तो अभियान नै चलेको छ । अन्धो भने अपमान हुन्छ, दृष्टिविहीन भने सम्मान हुन्छ भन्ने अभियानमा को छन् त ? नेता, वकिल, पत्रकार, एनजीओकर्मी, अभियन्ता सबै । समाजका अगुवा भनिने छानिएकै मान्छेहरुले शब्दका अर्थ जानेरै वकालत गरेका हुन् या अधिकारको पैरवी गर्ने अन्तर्राष्ट्रिय संस्थाहरुको थिममा बहकिएका हुन् ?

मनमनै प्रश्न उठ्यो । नत्र, मानिसको दृष्टि उसको चेतनाको भित्री तहमा हुन्छ, बाहिर त्यसैको प्रतिबिम्ब देखिने हो, आँखाले । आँखा बन्द भएपछि देखिने सपना उसको त्यही दृष्टिबाट निर्देशित हुन्छ ।

अरु शब्द छोडौं, यही दृष्टिविहीन शब्दको अर्थ मात्र पनि कतिले जान्दछन् भनेर जान्न टाढा जान पर्दैन । आजभोलि सामाजिक सञ्जालमा प्राप्त हुने तीब्र प्रतिक्रियाले नेता हुन् वा विज्ञ, उनीहरुको ज्ञानको सीमाना कोरिदिन्छन् ।

०००

पत्रकारिता गरिरहेकी एक बहिनीले ‘म अन्धी त थिइनँ, तर मान्छे कस्ता हुन्छन् भनेर चिन्न सकिनँ’ भन्ने लेखेर पोष्ट गरिन् । त्यसको प्रतिक्रियास्वरुप धेरै प्रतिष्ठित विज्ञ, नेता, पत्रकारहरुले नै झुम्मिएर लेखे– अन्धो नलेख्नुस्, त्यो राम्रो शब्द होइन, त्यसको ठाउँमा दृष्टिविहीन लेख्नुस् । अव ती आँखा भएकी बहिनीले आँखा हुँदाहुँदै आफू अन्धो भएको अर्थ यो समाजलाई कसरी बुझाउनु ?

यसलाई एउटा ‘अन्धो’ शब्दले निकालेको बहस मात्र मान्नु भयो भने गलत हुनेछ । किनभने आधुनिकताका नाममा भाषाले बहन गर्ने भावलाई तिरस्कार गर्ने र अर्थलाई अपमान सोच्ने प्रवृत्तिलाई उजागर गर्नु यस लेखको आशय हो ।

आँखा शब्दले व्यक्तिमा रहेको बाहिरी दृश्य हेर्नुसँग मात्र अर्थ दिन्छ । । अन्धो भन्दा अपमान भयो भन्ने लाग्छ भने नेत्रहीन शब्द हामीसँग छ । तर, नेत्रहीनलाई दृष्टिहीन भन्नु चाहिँ सरासर मान्छेको भावदृष्टिलाई पनि अन्त्य गरिदिनु हो । बीचबीचमै आउने यस्ता दवाव समूहहरुको दवावले हाम्रो देशमा रहेको अन्धा कल्याण संघ दृष्टिविहीन संघ भएको छ ।

नेपालका अन्धा, अपाङ्गहरुको लागि वकालत गर्दै उनीहरुको हितमा जारी सन्धिमा नेपाल सरकारले हस्ताक्षर गरिसकेको छ । यी शब्द पनि हटाउने पहल कसले गर्‍यो ? नेत्रहीन सघंका अध्यक्ष रमेश पोखरेल यी शब्द हटाउने काम तिनै अभियन्ताहरुले गरेको वताउँछन् । उनी पनि भन्दैथिए– ‘हामी आँखा नभएका त होइनौं । आँखा त छ, देख्न नसक्ने मात्र हौं । त्यसैले नेत्रहिन पनि नमिल्ने रहेछ । दृष्टिविहीनको अर्को अर्थ पनि लाग्छ भन्ने कुरा पनि आयो । अहिले त अन्धा नै ठीक रहेछ भन्ने लाग्छ ।’

हिजो मात्र संजालमा दृष्टिविहिन र अन्धो भन्ने बारे बहस भैरहेको देखेको थिएँ । बहसमा शब्दहरुका वास्तविक अर्थ पहिल्याउने भन्दा आँखा चिम्लेर ती शब्दहरुलाई विस्थापित गर्ने प्रवृत्ति देखिएको छ । शब्दलाई नियतको भार बोकाउने र शब्दप्रति घृणा जगाउने काम अनुचित छ ।

पछिल्लो कालमा लङ्गडो, खोरण्डो, बहिरो, लाटो जस्ता अनगिन्ति शब्द छन् जो अर्थ भन्दा बाहिर गएर नियतको भार बोक्न वाध्य छन् र प्रयोगबाट हराउँदै छन् । यस्ता शब्दको ठाउँमा ‘फरक क्षमता भएको’ भनेर लेख्न सुझाइन्छ । अन्धो खोरण्डो, लङ्गडो जस्ता शब्दको ठाउँमा ‘फरक क्षमता भएको’ भन्ने शब्दले छुट्टा छुट्टै अर्थ दिनै सक्दैन ।

वीर अस्पतालमा भेटिएकी जीवन र जगतप्रति त्यति शक्तिशाली दृष्टि भएकी ती बहिनीलाई आज हामी दृष्टिबिहीन भन्न वाध्य छौं । जीवनप्रतिको उनको त्यो शक्तिशाली दृष्टिलाई हामी दृष्टिहीन शब्दले अपमान गर्दैछौं भने यो हाम्रो भाषिक अज्ञानता मात्र हुनेछ । उनलाई नेत्रहीन वा अन्धी भन्नु बरु न्याय संगत हुन्छ । शब्द लेख्दा वा बोल्दा नियत सफा राख्नु पर्छ, त्यसको वास्ताविक अर्थबाट डराउनु हुँदैन । अस्पतालमा भेटिएकी ती बहिनीको दृष्टिलाई एकपटक बोध गरौं त ।

प्रतिक्रिया

10 thoughts on “शब्द होइन चेत बदलौं- आँखा नहुनु दृष्टिहीन हुनु हो ?

  1. यो लेख पढेर मलाइ रमेश प्रसाईं को याद आयो रमेश प्रसाईं ले पनि कुन ठाउँ मा कसले दृस्टी बिहिन भन्यो भनेर मन दुखाएका थिए त्यसैले शब्द नबुझी अर्थ को अनर्थ पनि हुन्छ धन्यवाद पक्कै पनि बिनु बैनी को लेख शिक्षाप्रद छ यसरी शब्द बुझ्न सके मा राम्रो हुन्छ।

  2. गज्जब लेख😍 धेरै शब्द खेलाउन खोज्नुभन्दा अर्थ बुझ्दै ब्यबहारिक बन्दै शब्द पहिचानको गोरेटो चुन्नुपर्ने अवस्था 😊

  3. म पनि भ्रमणमा थिएँ ।
    _==========
    अन्धो भनेको आँखा मात्रै नदेख्ने, बाहिरको संसार देख्ने आँखा खुला नभएको, भौतिक संसार मात्र देख्न नसक्ने । दृष्टि भनेको आँखाले हेर्ने मात्र कुरा होइन । दृष्टि भएपछि आँखा नहुनेले पनि भित्रको भावहरु देख्न सक्छ । तपाईं आफ्नो भोगाईबाट यति धेरै कुरा बुझ्ने भइसक्नु भएको छ, तपाईंको त्यो दृष्टि हो । अनि तपाईं कसरी दृष्टिहीन ?’

  4. आँखा शब्दले व्यक्तिमा रहेको बाहिरी दृश्य हेर्नुसँग मात्र अर्थ दिन्छ । । अन्धो भन्दा अपमान भयो भन्ने लाग्छ भने नेत्रहीन शब्द हामीसँग छ । तर, नेत्रहीनलाई दृष्टिहीन भन्नु चाहिँ सरासर मान्छेको भावदृष्टिलाई पनि अन्त्य गरिदिनु हो । बीचबीचमै आउने यस्ता दवाव समूहहरुको दवावले हाम्रो देशमा रहेको अन्धा कल्याण संघ दृष्टिविहीन संघ भएको छ।
    भाषिक स्पष्टता र तथ्य परक लेख धन्यवाद ।

    हरेक व्यक्तिमा फरक क्षमता हुन्छ । शारीरिक अपंगतालाई फरक क्षमता भनु पनि सरासर गलत हो ।

  5. बिनुजि तपआईंको खोजमुलक तथा अनुभवमा शआधारित लेख को सम्मान गर्दै यसमा मेरो आफ्नै राय छ म त्यो लेख मार्फत नै सार्वजनिक गर्ने विचारमा छु तपआईको लेखलाइ साधुवाद

  6. पूर्ण सहमत। अन्य मातृभाषीका सल्लाहबाट हामी सजिलै प्रभावित हुन्छौं र आफ्नै भाषा शब्दको पर्याप्त बिष्लेषण गहिराईमा नपुग्दै निष्कर्ष्मा पुग्छौं। अचेलको “सामाजिक दुरी” पनि त्यस्तै भएको छ।

  7. अहो!सर्सर्ती पढे लेख लेख्न्ने माहाश्यलाइ सलाम।अर्थ नबुजी सम्मान गर्न खोज्दा अपमान पो हुनेरैछ।हामिले कस्तो शिक्छ्या आध्यान गरेछौ?म आज फेरि ३५/३६ बर्स अघि फिर्किये मेरो घर मा एक्जना धमिनी बुडिमान्छे आउनुभाथियो सबैले धमिनी अन्धी भन्थे।मेरो आमाले बारम्बार अन्धी छ भनेर सम्बोधन गर्नुहुन्थियो।तर उस्को छ्यमता अचुक थियो नेपाली रुपिया छामेर छुट्याउने हामी झुक्याउन ठूलो प्रयास गर्थिउ तर उनि कदापी नझुकिने।आमा का हरेक शब्द अन्धी लाई पानी देउ,खाना देउ,समायेर लेउ इत्यादी तर हामिलाइ आमा सग रिस उठियो अन्धी भन्दा ।।मिडियामा रमेस प्रसाइले नि अन्धो को अप्ब्याख्या गरेछन उसोभा!दृस्टिबिहिन मा म बडो सम्मानित ठान्थे।याहात मेरो आमा केही नपढेकी ले पो सहि बाटो अपनाउनु भारैछ।त्यो वेला आमालाइ खुबै गाली गरियो सब्यहुन सिकाइयो उहाले अन्धो,खोरन्डो लण्गडो भनेर भन्दा।आज गलत थाहा पायेछी स्व: आमा प्रती गलत शब्द हामिले प्रयोग गरेकोमा छ्यमा नै माग्नुपरो!लेख लेख्ने र सहि बोल्ने अभिभावक प्रती गहिरो सलाम!

  8. विनु जि हजूरलाई सलाम। म एक अन्धो व्यक्ति हुँ। म पनि वर्षौँ देखि हामीलाई अन्धा भनिनु पर्छ भन्दै हिँडिरहेकोछु। तर मलाई हाम्रै साथिहरूले मुद्दा हाल्ने धम्कि दिइरहन्छन्। डलरवादिहरू हाम्रो जीवन बदल्न सक्दैनन् अनि शब्द बदल्दै आफ्नो दुनो सोझ्याउछन्। अनि हामी भेडाहरू मिठो शब्दलाई हाम्रो आत्म सम्मान भनिठान्छौँ। अब हुदा हुदा अपाङ्गलाई अपाङ्ग भन्न नपाईने रे। अपाङ्गता भएको व्यक्ति भन्नु पर्ने रे। समासलाई विग्रह गर्दैमा सम्मान हुने हो भने के अब लाम्खुट्टेहरूलाई लामो खुट्टा भएको भन्ने? हो हामीले शब्द भन्दा पनि व्यवहारलाई ध्यान दिनु पर्दछ। मिठो बोलिले खाल्ढोमा हाल्न पनि त सक्छ।

  9. शब्द बदल्न होइन अपाङ्गता भएका व्यक्तिको जीवनस्तर बदल्न जोड दिउँ

    विनु पोखरेलजिको लेख पढे पछि केही लेख्नै पर्छ जस्तो लाग्यो ।
    संस्कृत होस् वा नेपाली, वा अरू भाषा नै किन नहोस्, भाषामा प्रयोग गरिने शब्द र त्यसलाई कसरी मानिसले अनुभूत गर्छ वा त्यसको अर्थ के हो भन्ने कुरा मानव र मानव समाजद्वारा नै निर्मित र सिर्जित हुन्छन् । कुनै पनि शब्दको अर्थ dictionary मा के छ भन्दा पनि समाजमा त्यो शब्द कसरी प्रयोग हुँदै आयो र कुनै निश्चित समाजले त्यसलाई कसरी लिन्छ भन्ने कुरामा त्यसको वास्तविक अर्थ झल्किन्छ । एउटै शब्दको अर्थ पनि फरक फरक समाज र समुदाय पिछे अर्थ फरकफरक हुन जान्छ । उदाहरणको लागि अमेरिकामा f—k शब्द बोल्नुलाई सामान्य मानिन्छ विद्यार्थी, शिक्षक, सर्वसाधारण सबैले सामान्य बोलीचालीमा सङ्कोचै नमानि बारम्बार यो शब्द प्रयोग गरेको मैले त्यहाँ रहँदा थाहा पाएँ । हामी नेपालमा पनि अङ्ग्रेजी बोल्छौं तर f—k शब्दलाई प्रयोग गर्नु हाम्रो समाजमा सभ्य मानिँदैन । यसरी हेर्दा नेपाली समाजको इतिहास र वर्तमानलाई पनि हेर्ने हो भने “अन्धो” शब्द अत्यन्तै नकारात्मक रूपमा प्रयोग गर्दै आएको पाइन्छ । समाजका नकारात्मक कुरालाई दर्साउन अपाङ्गता लाई जनाउने शब्दहरू प्रयोगमा आए र अहिले सम्म पनि गरिँदै आइएको छ जस्तै “अन्धो कानुन, लङ्गडो सरकार” आदि । यदि “लङ्गडो सरकार” भनेको निकम्मा सरकार हो, यदि “अन्धो कानुन” बनेको न्याय प्रधान गर्न नसक्ने कानुन बुझिन्छ भने आँखा देख्न नसक्ने व्यक्तिलाई जनाउन यो शब्द प्रयोग गरिनु हुँदैन ।
    दृष्टिविहीन शब्द NGO ले प्रवर्द्धन गरेको, donor ले भन्न लगाएको भन्ने प्रतिक्रिया पनि सामाजिक सञ्जालमा देखियो जुन नितान्त गलत हो । Donor लाई हाम्रो भाषाका शब्द अर्थ थाहा हुँदैन, हाम्रै देशका नीति निर्माता, हाम्रै अपाङ्गता क्षत्रका अग्रजहरूले यो शब्द प्रयोगमा ल्याउनु भएको हो र हामीलाई यही सहि र सव्य शब्द लागी प्रयोगमा आएको हो । विश्वमा नै समयको अन्तराल, समाजको विकास र सभ्यताको परिवर्तनसँगै अपाङ्गता भएका व्यक्तिलाई जनाउन प्रयोग गरिने शब्द परिमार्जित हुँदै आएका छन् । दृष्टिविहीन शब्द गलत नै हो भने समयको अन्तरालमा प्रयोगमा परिमार्जन हुँदै जाला तर अरूले गर्दा भनेको, प्रयोगमा ल्याउन वाद्य भएको भनि अपाङ्गता क्षत्रकै अग्रजहरूले प्रतिक्रिया दिनु आफू पन्छिने बाटो मात्र हुन्छ ।
    व्यक्तिगत रूपमा मलाई “अन्धो” शब्दले सम्बोधन गरेको पटक्कै मन पर्दैन तर कसैले गरि हाल्यो भने गाली चाहिँ गर्दिन । उक्त व्यक्तिको व्यवहार कस्तो छ त्यो मुख्य कुरा लाग्छ । शब्द भन्दा पनि कुनै व्यक्तिले अपाङ्गता भएका व्यक्तिको लागि आफ्नो तर्फबाट के-कस्तो पहल गरेको छ भन्ने कुरा मेरा लागि महत्वपुर्ण हुन्छ । अस्ति भर खरै एउटा बैङ्कमा खाता खोल्न गएको, म “दृष्टिविहीन” भएकै कारण खाता खोल्दा साक्षी राख्नु पर्ने, जुनसुकै कारोबार गर्दा साक्षी लिएरै जानु पर्ने रे, ATM, Online banking नदिने यानिकी “visually impaired” लाई नदिने भनेर पोलिसि मै राख्नु भएको रहेछ । हेर्नुस् त, “blind” हैन “visually impaired” रे कति सव्य शब्द तर कति पुरानो सोच बाट बनाइएको पोलिसि ।
    केही व्यक्तिलाई छोडेर समग्र स्थितिलाई हेर्ने हो भने नेपाली अपाङ्गता भएका व्यक्तिहरू आफ्ना नैसर्गिक अधिकार पनि सहज रूपमा उपभोग गर्नबाट वञ्चित छन् । पहुँच युक्त विद्यालयको अभावमा शिक्षा आर्जन गर्न कठिन छ । बेरोजगारी र गरिबीको दर बढ्दो छ र कोरोनाको कहरले यसलाई अझ थप कष्टकर बनाएको छ । गरिबी, रोजगारीको अभाव र राज्यको संरक्षणको अभावमा प्रतिभाहरू सडकमा पोखिन बाध्य भएकाछन् ।हामी शब्दको जन्जालमा फस्यौं भने अपाङ्गता भएका व्यक्तिका वास्तविक सवाल चाहिँ कहिल्यै अगाडि आउन सक्दैनन् । शब्दलाई लिएर घण्टौं सम्म जति विवाद बहस गरे पनि अन्त्यमा कोही कसैसँग सहमत हुँदैन, प्रत्येकलाई आफ्नै तर्क ठीक लाग्छ । मुख्य कुरा भनेको अपाङ्गता भएका व्यक्तिको शिक्षा, रोजगारी, स्वास्थ्य र मर्यादित जीवनको सवाल सम्बोधन हुनु पर्छ र हामी सबैको आवाज उठानको विषय पनि यही हुनु आवश्यक छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *