आफूखुसी औषधि खाँदा संक्रमितको अवस्था जटिल बन्न थालेकोमा चिकित्सकको चिन्ता – Nepal Press

आफूखुसी औषधि खाँदा संक्रमितको अवस्था जटिल बन्न थालेकोमा चिकित्सकको चिन्ता

रुपन्देही । निजी स्वास्थ्य संस्थाहरुबाट आफूखुसी औषधि लिएर प्रयोग गर्दा कोरोना संक्रमितको अवस्था थप जटिल बन्दै गएकोमा चिकित्सकहरुको चिन्ता व्यक्त गरेका छन् । सामान्य लक्षणका आधारमा कोरोना परीक्षण नगराई कडाखाले औषधि मेडिकलबाट लिएर प्रयोग गर्न थालेपछि केही संक्रमितहरु थप गम्भीर बनेको उनीहरुको निर्क्याेल छ ।

आफूलाई पायक पर्ने मेडिकलबाट टाइफाइडको औषधि सेवनले कोरोना संक्रमितको वास्तविक अवस्था पत्ता नलागेको र परीक्षणबिना दिइने औषधिले फोक्सोमा जटिल समस्या देखिन थालेको र निमोनियाका कारण धेरैले ज्यान गुमाउनपरेको उदाहरण चिकित्सकले भेट्टाउन थालेका छन् ।

कोरोना विशेष अस्पतालका कोरोना फोकल पर्सन डा. नन्दु पाठकले संक्रमणको शंका लागेकाहरुले यथासक्य छिटो परीक्षण गर्न र छातीको एक्सरेलगायतका अन्य परीक्षण गरी चिकित्सकको सल्लाहमा मात्र औषधि सेवन गर्न सुझाव दिन्छन् । उनले संक्रमित बिरामी तथा उनीहरुका आफन्तले आफूखुसी औषधि सेवन गराउँदा यसले अन्य असर गरिरहेको बताउँछन् ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेडेन्ट डा. राजेन्द्र खनालले परीक्षविना मेडिकलबाट लिइने औषधिले धेरैलाई जटिल समस्या ल्याएको बताउँछन् । ‘डक्टरको सिफारिसबिना नै औषधि लिने, मात्रा नमिलाउने, आफूखुसी अक्सिजन लिएर प्रयोग गर्ने गरेका कारण केही जटिल समस्या आउन थालेका छन् यसमा सबैले ध्यान पुर्‍याउन आवश्यक छ,’ उनले भने ।

पश्चिम नवलपरासीमा आउने अधिकांश संक्रमित बिरामीले सुरुमा टाइफाइडको औषधि सेवन गरेको पाइएको चिकित्सकहरुको भनाइ छ । टाइफाइड र कोरोनाको लक्षण उस्तै हुने भएकाले मेडिकलहरुले कोरोनाको परीक्षण नगराई औषधि दिँदा बिरामीहरुको अवस्था जटिल हुँदै गएको पृथ्वीचन्द्र जिल्ला अस्पतालका कोरोना फोकल पर्सन डा. राजकुमार गुप्ताले बताए ।

मेडिकलहरुले कडाखाले औषधि र सुईसमेत प्रयोग गर्ने भएकाले बिरामीहरुको अवस्था जटिल अवस्थामा पुगेको हो । त्यसरी औषधि सेवन गरेका बिरामीहरु ५/७ दिनपछि अस्पताल आउने र परीक्षण गर्दा कोरोना पुष्टि हुने गरेको अस्पतालले जनाएको छ ।

लक्षण देखिने बित्तिकै परीक्षण गराए सोही अनुसारको औषधि चलाएर निको गराउन सकिने भए पनि कडाखाले औषधि पहिल्यै सेवन गरेकाले समस्या आई धेरैको मृत्यु हुने गरेको डा. गुप्ताले आफ्नो अनुभव सुनाए ।

अस्पतालमा आउने आधाभन्दा बढी बिरामीहरु टाइफाइडको औषधि प्रयोग गरेर आउने र उनीहरुलाई आइसोलेसनमा भर्ना गरे पनि धेरैलाई बचाउन नसकिएको चिकित्सकहरुले बताएका छन् । मेडिकल सन्चालकहरुलाई त्यसबारे सचेत नगराए कोरोनाको अवस्था भयावह हुने र मृत्युदर पनि बढ्नसक्ने डा. गुप्ताको चेतावनी छ ।

लक्षण देखिएमा कोरोना परीक्षण नगराई कडाखाले औषधि नदिन मेडिकलहरुलाई चिकित्सकहरुले अनुरोध गरिरहेको लुम्बिनी चिकित्सक संघका सचिव डा. सागर न्यौपाने बताउँछन् ।

उनले परीक्षणका लागि विभिन्न स्थानमा प्रयोगशाला बनिरहेकाले यस्तो विषयमा गम्भीर बन्न र आफ्नो सुरक्षामा ध्यान दिन आग्रह गरेका छन् । उनले यसरी परीक्षणबिना लिएका औषधिले पार्ने असरका विषयमा मेडिकल सन्चालकहरु पनि सचेत हुनुपर्ने र शंका लागेका व्यक्तिहरुलाई तत्काल आइसोलेटेट भएर बसाउन र जतिसक्दो छिटो परीक्षण गराउन सबैले ध्यान दिन आग्रह गरेका छन् ।

तुलनात्मक रुपमा खोप लगाएकाहरु धेरै सुरक्षित देखिए पनि धेरै संख्यामा खोप नपुगेको, स्वास्थ्य मापदण्ड मालनामा नागरिकले धेरै ध्यान नदिएकाले समुदायस्तरको संक्रमणले भयावह अवस्था ल्याउनसक्ने भएकाले थप सचेत रहन डा. न्यौपानेले आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर