सुदूरपश्चिममा ५ महिनादेखि २ मन्त्री नियुक्त हुन सकेनन्, एमालेकै मन्त्रीलाई थप जिम्मेवारी – Nepal Press

सुदूरपश्चिममा ५ महिनादेखि २ मन्त्री नियुक्त हुन सकेनन्, एमालेकै मन्त्रीलाई थप जिम्मेवारी

कैलाली । गत वर्ष १४ पौषमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरे ।

त्यसको एक सता पछि २२ पौषमा प्रधानमन्त्री ओली पक्षमै रहेका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले राजीनामा दिए । भौतिक मन्त्री बोहरा एमालेबाट निर्वाचित भएका थिए भने अर्थमन्त्री बोहरा माओवादीबाट निर्वाचित भएका थिए ।

नेकपामा विवाद हुँदा हटाइएका र राजीनामा दिएका दुई मन्त्रालयमा मुख्यमन्त्री भट्टले अहिले सम्म मन्त्री नियुक्त गर्न सकेका छैनन् ।

मुख्यमन्त्रीले मन्त्री नियुक्त गर्न नचाहेको भने होइन । आन्तरिक किचलो र आकाँक्षी धेरै हुँदा मन्त्री नियुक्त गर्न समस्या भएको हो । माओवादीबाट निर्वाचित मुख्यमन्त्रीलाई अहिले एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्किएका कारण पनि थप सकस भएको हो ।

केही समय अघि अर्थ मन्त्रालयमा माओवादीबाट निर्वाचित दार्चुलाका सांसद नरबहादुर धामी र भौतिकमा एमालेबाट निर्वाचित कञ्चनपुरका सांसद तारालामा तामाङलाई जिम्मेवारी दिने अन्तिम तयारी भइरहेको थियो । तर, एमालेले चासो नदिएपछि मुख्यमन्त्रीलाई समस्या परेको थियो ।

‘अब हामी सरकारकै नेतृत्व गर्ने गृहकार्यमा छौं, एउटा मन्त्री किन पठाउने ?’ एमालेका एक नेताले भने, ‘मुख्यमन्त्रीले नै पदबाट राजीनामा दिनुपर्छ ।’

५२ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५ जना सांसद छन् । माओवादीका १३, काँग्रेसका १२ जनता समाजवादी पार्टीका २ जना सांसद छन् ।

सबै भन्दा ठूलो दलको हैसियतले सरकार बनाउने योजनामा रहेका कारण रिक्त मन्त्रालयमा चासो नदिएको पूर्व भौतिक पूर्वाधार मन्त्री बोहराले बताए ।

‘तत्काल मन्त्री नियुक्त गर्न नसक्नु मुख्यमन्त्रीको कमजोरी हो । अहिले हामी मन्त्री भएर जाने पक्षमा छैनौँ’ उनले भने,‘ हामी सरकार बनाउँछौँ ।’

प्रदेशमा एमालेको सरकार बन्दा ओली समूह हाबी हुने अवस्थामा बोहरालाई भावी मुख्यमन्त्रीको रूपमा हेरिएको छ ।

मुख्यमन्त्री भट्टले तत्काल नयाँ मन्त्री नियुक्त गर्न सम्भावना अझै देखिएको छैन ।

‘अहिले एक मन्त्रीलाई थप जिम्मेवारी दिइएको छ । तर, मन्त्री नियुक्त गर्ने छलफल नै भएका छैन’ मुख्यमन्त्री स्रोतले भन्यो ‘धेरै आकाँक्षी छन् कसलाई मन्त्री बनाउने ?’

एमालेकै मन्त्रीलाई थप जिम्मेवारी

बजेट निर्माणको चरण सुरु हुँदा सम्म विभागीय मन्त्री नहरेको आर्थिक मामिला तथा योजना मन्त्रालयका एमालेकै तर्फबाट मन्त्री भएका प्रकाश शाहले जिम्मेवारी पाएका छन् । उनले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी समेत लिइरहेका थिए ।

भौतिक र अर्थको जिम्मेवारी मुख्यमन्त्री भट्टले नै लिइरहेका थिए । अहिले भौतिकको मात्रै जिम्मेवारी लिएर अर्थको जिम्मेवारी वैशाख ३० गतेदेखि शाहलाई तोकिएको हो ।

शाह नेकपा एमाले संसदीय दलका नेता हुन् । माधव समूहमा रहेका उनलाई पनि एमालेको सरकार बन्ने अवस्थामा भावी मुख्यमन्त्रीको रूपमा हेरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर