नेपाल प्रहरीकाे सक्रियतामा पछिल्लो २४ घण्टामा ६७३ अक्सिजन सिलिन्डर संकलन – Nepal Press

नेपाल प्रहरीकाे सक्रियतामा पछिल्लो २४ घण्टामा ६७३ अक्सिजन सिलिन्डर संकलन

काठमाडौं । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा मात्र ६ सय ७३ अक्सिजन सिलिन्डर संकलन भएको छ । ती मध्ये ३ सय २६ वटा भरिएका र ३ सय ४७ खाली सिलिन्डर संकलन भएका हुन् ।

संकलन गरिएका ६ सय ७३ वटा र यसअघिको जम्मा भएका ९४ वटा गरी जम्मा ७ सय ६७ वटा सिलिन्डरमध्ये शनिबार ५ सय ८५ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको नेपाल प्रहरीका प्रक्ता समेत रहेको प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त बहादुर कुवरले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार बाँकी रहेका १ सय ८२ वटा अक्सिजन सिलिन्डरहरु जिल्ला संकट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखी आवश्यकता अनुसार वितरण गरिने छ ।

आवश्यकता भन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने व्यक्ति, विभिन्न संघ संस्था तथा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदाममा जम्मा गरी राखेका अक्सिजन सिलिन्डर सङ्कलन गरी उपलब्ध गराइएको हो । अहिलेको विषम परिस्थितिमा अन्य प्रयोजनका लागि जम्मा नगर्न तथा विभिन्न कम्पनी, संघ संस्था तथा व्यक्तिसँग आवश्यकता भन्दा बढी सिलिन्डर छन् भने त्यस्ता सिलिन्डर उपलब्ध गराई सहयोग गर्न पनि नेपाल प्रहरीले अपिल गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर