आफन्त बचाउन मध्यरातसम्म अक्सिजन उद्योगमा भीड : बिरामी कुर्नु कि अक्सिजन ? – Nepal Press

आफन्त बचाउन मध्यरातसम्म अक्सिजन उद्योगमा भीड : बिरामी कुर्नु कि अक्सिजन ?

कैलाली । धनगढी चटकपुरकी सीता थापा (नाम परिवर्तन) पछिल्लो चार दिनदेखि स्थानीय कैलाली अस्पतालमा ५५ बर्षिया आफ्नी सासूलाई कुरेर बसेकी छन् ।

उनको परिवारका अधिकांश सदस्यमा कोरोनाभाइरस संक्रमण पुष्टि भए पनि उनकी सासूको अवस्था भने जटिल रहेको चिकित्सकले बताएका छन् । चार दिनदेखि कृत्रिम अक्सिजनको माध्यमबाट उनले सास लिइरहेकी छिन् ।

उनका लागि एउटा अक्सिजन सिलिन्डर जुटाउन पनि कठिन भएको छ । अस्पतालमा अक्सिजन सकिएको दुई दिन भइसकेको छ । यहाँ उपचाररत अधिकांश संक्रमितका आफन्तले आफै अक्सिजनको जोहो गरेका छन् ।

सीताले पनि सासूको लागि आफै अक्सिजनको व्यवस्था गरिरहेको बताउँछिन् । धनगढीमा रहेको एक मात्र अक्सिजन उद्योगमा रातदिन कुरेर एक सिलिन्डर अक्सिजनको व्यवस्था भइरहेको उनले सुनाइन् ।

‘बिहानै गएर मध्यरातसम्म लाइनमा बस्दा १ सिलिन्डर अक्सिजन पाइन्छ’ उनले भनिन् ‘मैले सासूलाई कुरेर बसेको छु । भाइ र भाउजू लाइनमा बसेर अक्सिजन लिएर आउनुहुन्छ ।’ प्रत्येक तीन दिनमा कोटा अनुसार अस्पतालमा अक्सिजन आउने गरेको छ । तर, त्यो अक्सिजन १ दिन पनि पुग्दैन । बाँकी २ दिनको लागि बिरामी आफैले अक्सिजनको जोहो गर्नुपर्छ ।’

धनगढी २ का रवीन्द्र जोशी (नाम परिवर्तन) पनि सोही अस्पतालमा उपचाररत संक्रमित बुवाको कुरुवा बसिरहेका छन् । ८६ वर्षका उनको बुवा ६ दिनदेखि आइसीयूमा छन् । उनलाई एक सिलिन्डर अक्सिजन पाउन पनि युद्ध जिते सरह बनेको छ ।

अक्सिजन उद्योगमा ६ दिनदेखि उनको एउटा सिलिन्डर ठडिएको छ तर, पालो आएको छैन । यता, संक्रमित बुवाको अवस्था अक्सिजन अभावमा थप जटिल बन्दै गइरहेको उनी बताउँछन् ।

‘उता बुवालाई कुर्नु कि यता अक्सिजनको लाइनमा बस्नु ? मलिन मुहार बनाउँदै उनले भने, ‘अक्सिजन नपाएर निकै समस्या भएको छ ।’

उनले अक्सिजनको अभाव भएको विषय सामाजिक सञ्जालमा लेखेपछि डा. आनन्द पाठक, उद्योग वाणिज्य सघं कैलालीका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले एक–एक थान सिलिन्डरको व्यवस्था गरिदिएका थिए । त्यो पनि अहिले सकिएपछि थप समस्या भएको उनी सुनाउँछन् ।

‘उद्योगमा मेरो ६ दिनदेखि सिलिन्डर ठडिएको छ १५ हजार दिए त्यतिबेलै पाइन्छ’ भन्छन् ‘हामीलाई पालोमा पनि दिँदैनन्’ उनले आक्रोश पोखे ।

अहिले अर्को बिरामीको अक्सिजन सापट मागेर काम चलाइरहेको उनले बताए । एकजना यहाँबाट सेतीमा रिफर हुनुभएको थियो । उहाँकै अक्सिजन सापटी मागेर काम चलाएका छौँ’ उनले भने ‘दैनिक २ सिलिन्डर आवश्यक पर्छ ।’
अहिले धनगढीका १० वटा निजी अस्पतालमा कोरोनाभाइरस संक्रमितको उपचार भइरहेको छ । कुनै पनि अस्पतालमा पर्याप्त अक्सिजन छैन । सबै अस्पतालमा आएका संक्रमितका आफन्तले आफै अक्सिजन जोहो गरिरहेका छन् ।

उत्पादनभन्दा खपत कयौँ गुणा बढी हुँदा धनगढी भन्सार रोडमा रहेको मालिका ग्याँस उद्योगमा पनि मध्यरातसम्म बिरामीका आफन्तको घुइँचो हुने गरेको छ ।

सरकारले पर्याप्त मात्रामा क्सिजन दिन नसक्दा बिरामीका आफन्तलाई नै अक्सिजनको व्यवस्था गर्न भन्नुपर्ने बाध्यता रहेको निजी अस्पताल सघंका प्रदेश अध्यक्ष जनकराज जोशीले बताए । उनले भने, ‘हामीसँग पनि पर्याप्त अक्सिजन छैन । बिरामीका आफन्तले आफै अक्सिजन ल्याइरहनुभएको छ । अहिले अक्सिजन खोज्ने जिम्मा बिरामीकै आफन्तको जस्तो भएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर