खाद्यान्नमा मूल्य वृद्धि : आफूखुसी मूल्य तोक्छन् बिक्रेता – Nepal Press

खाद्यान्नमा मूल्य वृद्धि : आफूखुसी मूल्य तोक्छन् बिक्रेता

काठमाडौं । निषेधाज्ञाको समयमा व्यापारीहरूले बजारमा दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि गरेर बिक्री गरिरहेको छन् ।

होलसेल बिक्रेताले खुद्रा व्यापारीलाई सामाननै कम उत्पादन भएको र बजारको मागलाई धान्न नसकेन अवस्था भएको भन्दै आफूखुसी मूल्यमा सामान बिक्री गरिरहेका पाइएको छ । उपभोक्ता भने बिक्रेताले भनेको मूल्यमा दैनिक उपभोग्य वस्तु किन्न बाध्य छन् ।

नेपाल खुद्रा व्यापार संघका उपाध्यक्ष रामकृष्ण मानन्धरले बजारमा होलसेलले आफूखुसी मूल्य वृद्धि गरेर खुद्रा पसललाई सामान बिक्री गरिरहेको बताए ।

मानन्धरले भने, ‘ठूला व्यापारी र होलसेलले आफूखुसी मूल्य तोकेर खुद्रा व्यापारीलाई सामान बिक्री गरिरहेका छन् । हामीले ठूला व्यापारीसँग किन यसरी मूल्य वृद्धि भएको भनेर प्रश्न गर्दा उनीहरूले बजारमा सामान अभाव भएकाले मूल्य वृद्धि भएको बताइरहेका छन् । आज एउटा मूल्यमा सामान ल्यायो भने भोलि मूल्य वृद्धि भइसको हुन्छ ।’

अनुगमनमा खटिएका एक कर्मचारी वाणिज्य विभागले नै अनुगमन गरेर कारबाही गर्दा चेन सप्लाई नै बिग्रेला भन्ने डर रहेको बताउँछन् । यसर्थ सरकारनै बजारमा अनुगमन गर्दा वितरण प्रणाली बिगिन्छ भनेर डरमा छ ।

के-केमा भयो मूल्यवृद्धि ?

खुद्रा व्यापार संघका अनुसार खाने तेल, चिनी, चामल, चिया, दाल र गेडागुडीमा मूल्य वृद्धि भएको छ । पछिल्लो समय खानी तेल सनफ्लावर, सूर्यमूखी, भटमास र तोरीको तेलमा निरन्तर मूल्य वृद्धि भइरहेको थियो । पछिल्लो पटक लकडाउन सुरु भएपछि पनि तेलमा मूल्य वृद्धि भइसकेको छ ।

एक वर्ष अगाडि विभिन्न खाने तेलको मूल्य प्रतिलिटर १ सय ३० देखि १ सय ५० रुपैयाँसम्म थियो । एक वर्षको अन्तरालमा त्यही तेलको मूल्य वृद्धि भएर २ सय २० देखि २ सय ६० रुपैयाँसम्म पुगेको छ ।

मानन्धरका अनुसार धारा तोरीको तेल र सनफ्लावर तेल प्रतिलिटर २ सय ५० बाट मूल्य वृद्धि भएर २ सय ६० पुगेको छ । भटमासको तेल प्रतिलिटर २ सय ३० बाट मूल्य वृद्धि भई २ सय ५० पुगेको छ ।

केही समयअघि वाणिज्य विभागले ‘के कति कारणले तेलको मूल्य वृद्धि भएको हो त्यो कारण खुलाएर पेस गर्न’ भनेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा तेल उत्पादन गर्ने कच्चा पदार्थको मूल्य वृद्धि भएकाले तेल उत्पादन लागत वृद्धि भएको वाणिज्य विभागमा तेल उद्योगीले जानकारी दिएका थिए ।

निषेधाज्ञा सुरु भएपछि ८० देखि ८५ रुपैयाँ मूल्यको चिनी अहिले ९० देखि १ सय रुपैयाँ प्रतिकेजी पुगेको छ ।

विभिन्न ब्राण्डको चामल प्रति बोरा ५० देखि १ सय रुपैयाँसम्म मूल्य वृद्धि भएको छ । होलसेलले ढुवानी र लेबरको अभावले गर्दा चामलको मूल्य वृद्धि भएको बताउने गरेको मानन्धरले जानकारी दिए ।

केराउ र मरिच ल्याउन सरकारले प्रतिबन्ध नै लगाएको छ । तर अवैध बाटो भएर नेपाल आएको केराउको मूल्य नै नतोकिएको मानन्धरले बताए ।

एक वर्षको अन्तरालमा चियाको पनि मूल्य आकासिएको छ । एक वर्ष अघि विभिन्न ब्राण्डका चियापत्ती प्रतिकेजी ३ सय देखि ३ सय ५० रुपैयाँ थियो । अहिले प्रतिकेजी ५ सय देखि ५ सय ५० रुपैयाँमा बिक्री भइरहेको खुद्रा व्यापार संघले बताएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेढाइले बजार अनुगमन निरन्तर भइरहेको बताए ।

सेढाइले भने, ‘विभागले अहिले खाद्यान्न र स्वास्थ्य सामग्रीको समेतको नियमित अनुगमन गरिरहेको छ । विश्व बजारमा नै तेल उत्पादन गर्ने कच्चा पदार्थको मूल्य वृद्धि भएकोले नेपालमा खाने तेलको मूल्य वृद्धि भएको हो । हामीले यो महामारीको समयमा उपभोक्ता मारमा नपरुन् भनेर निरन्तर अनुगमन गरिरहेका छौं ।’

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता ज्योति बानियाँले सरकारले नै भएको कोलोबाजरी ऐन अनुसार काम गर्न नसकेको बताए ।

बानियाँले भने, ‘सरकारले जनताको सामाजिक र आर्थिक स्वास्थ्यमा ध्यान दिएको छैन् । भएको कानुन प्रयोग गरेर कालोबजारी रोक्नुपर्ने समयमा सरकारले नै व्यापारीले जति लुटे पनि नदेखेको जस्तो गरेर बसिरहेको छ । सरकार अनुगमन गर्दा बजारको आपूर्ति प्रणाली बिग्रिन्छ भनेर डराएको हो भने खाद्य संस्थानलाई प्रभावकारी बनाएर अगाडि बढ्ने बेला आएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर