कोभिडका बिरामी नलिने कर्णाली प्रदेश अस्पतालको सूचना, जोखिममा सयौं संक्रमितको ज्यान – Nepal Press

कोभिडका बिरामी नलिने कर्णाली प्रदेश अस्पतालको सूचना, जोखिममा सयौं संक्रमितको ज्यान

सुर्खेत । कर्णाली प्रदेश सरकारको मातहतमा रहेको प्रदेश अस्पतालले थप कोरोना संक्रमित बिरामीलाई भर्ना नलिने सार्वजनिक सूचना जारी गरेको छ । अस्पतालका निर्देशक डा. डम्बर खड्काद्वारा जारी सूचनामा नेपालगञ्जबाट आउने अक्सिजन अस्पतालमा आपूर्ति हुन नसकेका कारण कोभिडका विरामीलाई भर्ना गर्न नसकिने उल्लेख छ ।

अस्पतालको सूचनाबाट नागरिकहरू आक्रोशित बनेका छन् ।

प्रदेश सरकारबाट हरेक वर्ष पर्याप्त बजेट पाउँदा पाउँदै पनि बिरामी नलिने सूचना जारी गर्नु उचित नभएको उनीहरूको भनाइ छ । ‘प्रदेश सरकारले करोडौं बजेट दिइरहेको छ । कर्मचारी पनि भर्ना गरेकै छ । अहिले अक्सिजन नपाएको भन्ने बहानामा बिरामी नराख्ने भनेपछि हामीमा थप त्रास बढेको छ,’ वीरेन्द्रनगर नगरपालिका-४ कालागाउँका कोभिड बिरामी राजेश आचार्यले नेपालप्रेसलाई भने, ‘सरकारी अस्पतालले नै कोभिड विरामीलाई नराख्ने भन्न पाउँछ कि पाउँदैन भनेर बुझिदिनुपर्‍ यो ।’

उनले महामारीको समयमा अस्पतालमा कोरोना संक्रमितको उपचार नहुने भए अस्पताल बन्द गर्न माग गरे ।

‘कर्णालीमा अन्यत्र यतिको सूविधासम्पन्न अस्पताल छैनन् । यस्तो अवस्थामा यहाँका नागरिक कहाँ गएर उपचार गर्ने ?’ उनी गुनासो गर्छन्, ‘सरकारको ध्यान सरकार जोगाउनतिरै छ । आपसमा को मन्त्री बनाउने भन्ने तिरै केन्द्रित भएका छन् । हामी निमुखा जनताको अवस्था कस्तो छ भन्ने कुरामा कुनै चासो देखाएका छैनन् ।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता यामलाल कंडेलले प्रदेश सरकारको असक्षमताको पराकाष्ठा अस्पतालमा देखिएको आरोप लगाए । उनले प्रदेश सरकारसँग स्रोतको अभाव नभएको बताउँदै आफूसँग भएको स्रोतको परिचालन गर्न नसक्ने सरकार कर्णालीमा भएको बताउँदै यो भन्दा लज्जित हुने कार्य अरु नभएको बताए ।

सामाजिक सञ्जालमा शनिबार एक विज्ञप्ति जारी गर्दै नेता कंडेलले सरकारको ध्यान नागरिकलाई महामारीबाट बचाउनेतर्फ केन्द्रित नभएको आरोप लगाएका छन् । ‘अहिलेको महामारीको बीचमा अस्पताललाई यस्तो सूचना सार्वजनिक गर्नु पर्ने स्थितिमा पु¥याउनु सम्बन्धित जिम्मेवार निकायको असक्षमताको पराकाष्ठा नै हो । प्रदेश सरकारसँग श्रोतको अभाव छैन ।

संघीय सरकारसँग समन्वय गरेर आफ्नो प्रदेशमा सहयोग जुटाउने दायित्व पनि प्रदेश सरकारको नै हो,’ उनले लेखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *