फौजीकिराले मकैबाली नष्ट गरेपछि मर्कामा म्याग्दीका किसान – Nepal Press

फौजीकिराले मकैबाली नष्ट गरेपछि मर्कामा म्याग्दीका किसान

म्याग्दी । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको दोस्रो लहरको संक्रमणले थलापरेका बेला खेतवारीमा लगाइएको मकैबाली फौजीकिराले नष्ट गरिदिएपछि म्याग्दीका किसान दोहोरो रोगको चपेटामा परेका छन् ।

म्याग्दीमा भर्खरै उम्रिएको र गोड्ने बेला भएको मकैबाली फौजी कीराले नष्ट गर्न थालेपछि यहाँका किसान दोहोरो चिन्तामा परेका हुन् ।

जिल्लाको बेनी नगरपालिका सहित ६ वटै स्थानीय तहका कतिपय किसान अहिले कोरोनाको चपेटमा परेका छन् । कतिपय संंक्रमित भएर होम क्वारेन्टिन, आइसोलेशन तथा स्वास्थ्य संस्थामा उपचाररत छन् । यही बेलामा किसानले लगाएको मकै बालीमा फौजी कीराको प्रकोप देखिएको हो ।

मकै उम्रिनासाथ फौजी कीराले डाँठ र पात दुवै खाएर नष्ट गर्न थालेको बेनी नगरपालिका २ बगरफाँटका कृषक खड्गबहादुर थापाले बताए ।

बगरफाँटको ४ सय रोपनी क्षेत्रफलको फाँटमा फौजी किराले मकैवाली कामै नलाग्ने गरी नष्ट गरिदिएको कृषक थापाले बताए । ‘खेती लगाएका किसान कोरोनाले विस्तारामा थलिएका छन्, खेतमा मकै किराले खाएर थलिएको छ, यस वर्ष खाद्यान्नको पनि संकट हुनेभयो,’ कृषक थापाले भने ।

यसअघि गहुँबालीमा समेत किरा लागेर राम्रो उत्पादन हुन सकेको थिएन । गहुँसमेत राम्रो उत्पादन नहुँदा मकैको आशा गरेर बसेका किसानहरु मकैवाली पनि किराले नष्ट गरिदिँदा चिन्तित बनेका छन् ।

ज्यामरुककोटका अर्का कृषक टेकबहादुर कार्कीले यस वर्ष रोग र भोकले किसानलाई बाँच्न कठिन हुने लक्षण देखिएको बताए । कोरोनाका कारण बजारमा गएर औषधि किन्ने वातावरण नहुँदा घरगाउँकै जैविक औषधी प्रयोग गर्दा रोग र किरा नियन्त्रणमा आउन नसकेको किसानले गुनासो गरेका छन् ।

तर,कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोइरालाले औपचारिकरुपमा यस विषयमा किसानले कुनै गुनासो नगरेको बताए । किसानहरूका अनुसार भर्खरै उम्रिएका मकैमा कीराको प्रकोप झन बढी देखिएको छ ।

वर्षा भएपछि म्याग्दीका अधिकांश किसानले अहिले मकै बाली लगाइसकेका छन् ।

रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *