कर्णालीमा थपिएका माओवादीका तीन मन्त्री सपथ नखाँदै बर्खास्त – Nepal Press
कर्णाली प्रदेश

कर्णालीमा थपिएका माओवादीका तीन मन्त्री सपथ नखाँदै बर्खास्त

सुर्खेत । कर्णाली प्रदेशमा मुख्यन्त्री महेन्द्रबहादुर शाहीले बुधबार नियुक्त गरेका तीन मन्त्री सपथ नखाँदै बर्खास्तमा परेका छन् ।

नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीचको आन्तरिक विवाद समाधान नभएको भन्दै आज दिउँसो तीन बजे मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश प्रमुखलाई भेटेर सपथग्रहण समारोह स्थगित गर्न र तीनैवटा मन्त्रालयको जिम्मा आफूलाई दिन गरेको आग्रह अनुसार प्रदेश प्रमुखले सूचना जारी गरेसँगै तीनै जना मन्त्रीहरु फेसबुकमै बधाई खान बाध्य भएका हुन ।

मुख्यमन्त्री शाहीले बुधबार नै आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मा, आन्तरिक मामिला तथा कानून मन्त्रीमा विन्दमान विष्टलाई मन्त्री पदको सपथग्रहण गराउन खोजेका थिए तर मन्त्री पदमा सांसद एवम नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक सीता नेपालीलाई पनि मन्त्री बनाउनु पर्ने विवाद नेकपा माओवादी भित्र चुलियो ।

मुख्यमन्त्री शाहीले उक्त विवादलाई निरुपण गर्न भौतिक पूर्वाधार विकास मन्त्रालय फूटाउने निर्णय गरे । उनले उर्जा तथा जलस्रोत मन्त्रालय गठन गराए ।

यस्तै, सांसद विष्टलाई ‘मन्त्रालयमा लिएर थन्काउने’ काम हुने भन्दै कार्यकर्ताबाट चर्को आलोचना भएपछि मुख्यमन्त्री शाहीले कांग्रेसको भागमा परेको सामाजिक विकास मन्त्रालय पनि फूटाए । त्यहाँबाट उनले युवा तथा खेलकुदलाई तानेर आन्तरिक मामिला, युवा तथा खेलकुद कानून मन्त्रालय बनाउने निर्णय गरे ।

ती दुवै निर्णय गरेपछि ती सूचना प्रदेश राजपत्रमा प्रकाशित गर्नुपर्ने थियो । राजपत्रमा प्रकाशित नभई सपथ खुवाउन नसकिने भन्दै विहीबार १० बजे राजपत्रमा प्रकाशित गर्ने र एघार बजे तीनै जना मन्त्रीलाई सपथग्रहण गराउने कार्यक्रम तय भए अनुसार अघि बढेपनि सांसद ठम्मर विष्टलगायतका अन्य सांसदको विरोधका कारण आज सपथग्रहण भने भएन ।

उता, आफूलाई जानकारी नै नदिएर मन्त्रालय फूटाएको भन्दै प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस जिल्लिएको थियो ।

‘सरकारमा मन्त्री हेरफेर गर्ने काम उहाँहरुको हो तर कम्तिमा मन्त्रालय नै फूटाउने समयमा हामीलाई सोध्नुपर्छ । सत्ता सहकार्य भइरहेको समयमा मुख्यमन्त्री शाहीले सल्लाह त गर्नपर्छ नि’ काँग्रेस नेता जीवनबहादुर शाही निकट स्रोतले नेपालप्रेसलाई भन्यो, ‘त्यहि विषयमा पनि थोरै विवाद सिर्जना भएका कारण सपथग्रहण कार्यक्रम रोकिएको हो ।’

अन्य समयमा काँग्रेसले सहयोग गर्नुपर्ने र यस्तो विषम परिस्थितिमा छलफल र सहकार्यको भावनामा खलल पु¥याउने काम भएको निष्कर्षमा काँग्रेस पुगेको स्रोतको भनाई छ ।

काँग्रेससँग एक मन्त्रालय भएपनि हाललाई लिन र मन्त्री हुने व्यक्तिको नाम पठाउन मुख्यमन्त्री शाहीले गरेका आग्रह सरकारले गरेको मन्त्रालय फूटाउलाई नसच्याएसम् मगर्न नसकिने काँग्रेसले जवाफ दिएको थियो ।

काँग्रेसको उक्त जवाफपछि मुख्यमन्त्री शाही, काँग्रेस नेता जीवनबहादुर शाही र फ्लोरक्रस गरेका एमाले नेता प्रकाश ज्वालाबीचमा विहीबार चार घण्टा बसेको बैठक विना निष्कर्ष टुंगिएको हो ।

‘फ्लोर क्रस गर्ने एक मन्त्रीलाई फिर्ता गराउन मुख्यमन्त्री शाहीले ज्वालालाई आग्रह गरेका थिए । त्यो आग्रह ज्वालाले स्वीकारेनन् ।’ स्रोत भन्छ, ‘काँग्रेसले पनि मुख्यमन्त्री शाहीको प्रस्ताव नमानेपछि बाध्य भएर मुख्यमन्त्री पछि हटनुभएको हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर