धनगढी निःशुल्क ‘अटो एम्बुलेन्स’ सेवा सुरु – Nepal Press

धनगढी निःशुल्क ‘अटो एम्बुलेन्स’ सेवा सुरु

कैलाली । कोरोना संक्रमितहरुले एम्बुलेन्स नपाउने समस्या बढ्न थालेपछि धनगढीमा ‘अटो एम्बुलेन्स’ सेवा सुरु गरिएको छ । रोयल कोल्याबोरेटिभ्सले शुक्रबारबाट अटोमार्फत भए पनि कोरोना संक्रमितहरुलाई अस्पताल सम्म पुर्‍याउने अभियान सुरु गरेको हो ।

शुक्रबार ६ वटा अटो र एउटा जिपबाट अभियान सुरु गरेको संस्थाले शनिबार थप ४ वटा अटो उपलब्ध गराउने जनाएको छ ।

‘कोरोना सङ्क्रमितका बिरामीहरूलाई एम्बुलेन्स पाउनै समस्या भइरहेको छ । यस्तो समस्या नहोस् भनेर हामीले यो अभियान सुरु गरेका हौँ’ रोयल कोल्याबोरेटिभ्स् संस्थापक सदस्य देवेन्द्र जोशीले भने, यसले कोरोना संक्रमितहरुलाई ठुलो राहत हुन सक्छ ।’

उनले संक्रमितहरुलाई अटो एम्बुलेन्सले निःशुल्क सेवा दिने बताए । ‘सक्नेले केही रकम सहयोग गर्नुहोला नत्र हामीले अटोको पैसा तिरिदिन्छौँ’ उनले भने ।अटो चालकहरूलाई सामान्य प्रशिक्षण दिइएको छ । उनीहरूलाई पिपिए लगायत स्वास्थ्य सामाग्रीको पनि व्यवस्था गरिएको छ ।
एउटा जिपमा २ वटा अक्सिजन सिलिन्डरको व्यवस्था गरिएको छ । तर, अटोमा अक्सिजन राखिएको छैन ।

‘जटिल बिरामीहरूका लागि जिप दिन्छौँ सामान्य बिरामीहरूका लागि अटो प्रयोग गर्छौ’ जोशीले भने ‘जसरी पनि संक्रमितहरुलाई समयमै अस्पताल पुराउने हाम्रो लक्ष्य हो ।’

धनगढी उपमहानगरपालिका भित्रै संस्थाले हेल्थ डेस्क समेत तयार गरेको छ । उनीहरूले स्थानीयलाई औषधि समेत घर सम्मै पुराउने काम गरिरहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *