जलेश्वरदेखि डोलेश्वरसम्म : एक वर्षपछि यसरी टुंगियो महेश टिमको मिसन – Nepal Press

जलेश्वरदेखि डोलेश्वरसम्म : एक वर्षपछि यसरी टुंगियो महेश टिमको मिसन

काठमाडौं । ठिक एक वर्षअघि पनि यो बेला मुलुकमा लकडाउन थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल सम्बन्धी ऐन संशोधनको अध्यादेश ल्याएपछि सत्तारुढ नेकपामा चरम विवाद भइरहेको थियो ।

नेकपा विभाजनका लागि ओलीले अध्यादेश ल्याएको आरोप प्रचण्ड-माधव पक्षले लगाइरहेका बेला तत्कालीन संघीय समाजवादी पार्टीका सांसदलाई महोत्तरीबाट अपहरण गरेर काठमाडौं ल्याएको आरोप लाग्यो नेकपाका सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआईजीपी सर्वेन्द्र खनाललाई ।

मेरियट होटलबाट डा. बाबुराम भट्टराई पक्षधर नेताहरूले यादवलाई उठाएर घरमा लगे । यादवले दिनमा दुईपटक बोली फेरे । आफू राजीखुसी आएको र कसैले अपहरण नगरेको उनको बयानपछि पनि अपहरणकाण्ड सेलाएन । महेश बस्नेत र किसान श्रेष्ठविरुद्ध जिल्ला अदालतमा अपहरणको मुद्दा पनि दायर भयो । जलेश्वरमा मुद्दा लिन नमानेपछि काठमाडौंमा लगाइएको थियो ।

समाजवादी पार्टीबाट फुट्न चाहने सांसदहरूको लागि ओलीले ल्याएको अध्यादेश त फिर्ता भयो तर त्यही प्रकरणबाट शुरू भएको मधेशवादी दलका नेताहरूसँगको चिनजान महेश बस्नेतहरूले भने दोस्तीमा परिणत गरे ।

सरकारले अध्यादेश ल्याएपछि रातारात मिलेका समाजवादी र राजपाका नेताहरू अहिले पुनः विभाजनको डिलमा पुग्दा फेरि महेश बस्नेत चर्चामा छन् । प्रधानमन्त्रीविरुद्ध विपक्षी गठबन्धनको बहुमत पुग्न नदिन जसपाको महन्थ ठाकुर पक्षका सांसदलाई सुरक्षित गर्ने सेल्टर महेश बस्नेतले नै मिलाएपछि एक वर्षअघिको कनेक्सन सफल भएको छ ।

उपेन्द्र-बाबुराम पक्षले सांसदहरूलाई घर घरबाट उठाउँदै लुकाउन थालेपछि जसपाका नेताहरूले आफ्ना सांसदलाई सुरक्षित रूपमा एकै ठाउँमा राख्न खोजे । यसक्रममा प्रधानमन्त्रीको तर्फबाट पनि महेश बस्नेतहरूसँग समन्वय गर्नु भनेर पहिलेदेखिनै भनेकाले जसपा नेताहरूलाई बस्नेतले डोलेश्वर रिसोर्टको व्यवस्थापन गरेको बताइन्छ ।

जसपाका सांसदहरूसँग अघिल्लो वर्षदेखि नै दोस्ती बढाएका महेश बस्नेत, निरु पाल र किसान श्रेष्ठले उपेन्द्र यादवतिरका कतिपय सांसदलाई ठाकुरका पक्षमा उभ्याउन समेत पहल गरेको बताइन्छ । जसपाका नेताहरूसँग राजनीतिक रूपमा प्रधानमन्त्रीको तर्फबाट गोकुल बास्कोटासमेत संवादमा थिए ।

यी नेताहरूले महन्थ राजेन्द्र महतोसँग कन्भिन्स हुन नसकेका कतिपय सांसदलाई व्यक्तिगत रूपमा बालुवाटार पुर्‍याएर प्रधानमन्त्रीसँग भेट गराएका थिए । प्रधानमन्त्रीले कुनै पनि अनुचित हर्कत गरेर सांसद आफ्नो पक्षमा पार्दिन भनेकाले उनीहरूले भनेका ठाउँमा बजेट पार्ने, योजनाहरू पार्नेजस्ता काम भने भएका छन् ।

संसदमा विश्वासको मतका बेलासम्म जसपाका सांसद ठाकुर पक्षमा १५ र उपेन्द्रको पक्षमा १५ जना उभिएका थिए । लक्ष्मणलाल कर्ण कोभिडका कारण अनुपस्थित थिए भने रुही नाज पनि उपस्थित भइनन् । उनलाई बाबुराम भट्टराईका पारिवारिक नातेदारको घरमा राखिएको र त्यहाँबाट मुक्त गरेर महेश बस्नेतले मिलाएको डोलेश्वर रिसोर्टमा लगिएको दावी ठाकुर पक्षको छ ।

त्यस्तै चन्द्रकान्त चौधरीलाई पनि रामबाबु यादवले गाडीमा हालेर लगेपछि छोराले अपहरण मुद्दा लगाउँछु भन्ने चेतावनी दिए । अपहरण मुद्दामा महेश बस्नेतहरूले छोरालाई साथ दिएपछि बाटोबाटै चन्द्रकान्त पनि डोलेश्वर पुर्‍याइएका थिए । यसरी जसपामा ठाकुर पक्षका १८ जना सांसद पुगे । कल्लु विकलाई भने उपेन्द्र पक्षले लुकाएर राखेको आरोप ठाकुर पक्षको छ ।

सांसदहरूलाई सुरक्षित गरेर ठाकुरको पक्षमा २३ जना पुर्‍याउने र उपेन्द्र यादवलाई पार्टी फुटाउन ४० प्रतिशत पुग्न नदिन महेश बस्नेतहरू सक्रिय भएका छन् । यो सम्बन्ध आगामी निर्वाचनसम्म जाने र मधेशमा एमाले तथा जसपाको महन्थ पक्षबीच गठबन्धन गर्ने तथा कतिपय जसपा सांसद सूर्य चिन्हबाटै चुनाव लड्नेसम्मको कुरा अघि बढेको बताइन्छ ।

यसबीचमा डा. बाबुराम भट्टराईले दुईपटक प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका थिए । भेटका कुरा बाहिर नआए पनि उनी आफ्नै नेतृत्वमा सरकार बनाउन चाहन्थे । त्यो सम्भव नभएपछि राष्ट्रिय सहमतिको सरकारको प्रस्ताव उनले राखेका हुन् ।

ओलीले बाबुरामसँग अघिल्ला वर्ष आफूमाथि सांसद अपहरणको आरोप लगाएकामा असन्तुष्टि जनाएका थिए । स्रोतका अनुसार बाबुरामले त्यो बेला अपहरण नभएर राजनीतिक मुद्दामात्र बनाइएको भन्दै त्यो गलत नै भएको स्वीकार गरेका थिए ।

तर, त्यही प्रकरणबाट महेश बस्नेतलाई भने जसपाका नेताहरूसँग नजिकिन सजिलो भयो । यसबीचमा सांसदहरूलाई प्रधानमन्त्रीसँग भेटाउनेदेखि महन्थ, राजेन्द्र महतो, राजकिशोर यादवलगायतका नेताहरूसँग बाक्लो भेटघाट हुन थाल्यो ।

यी सबै घटनाक्रममा जेलभित्रबाटै जसपा सांसद रेशमलाल चौधरीको पनि सक्रिय भूमिका रहेको थियो । उनी शुरूदेखि नै महन्थ ठाकुर र राजेन्द्र महतोलाई केपी ओलीसँगै मिल्न दबाब दिइरहेका थिए । एमाले सम्बद्ध अनेरास्ववियूबाट राजनीति गरेका चौधरीका बुबा एमालेबाटै प्रदेशसभाको उम्मेदवार पनि बनेका थिए ।

नयाँ सरकार गठनको खेल शुरू भएपछि मुद्दा फिर्ता लगायतका प्रक्रियामा ओली र महन्थ पक्षले कार्यदल बनाउनुअघि रेशमलाई महेश बस्नेतले जेलमै गएर भेटेका थिए । प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा गएका बस्नेतले चौधरीसँग भेटेपछि उनी सीधै धनगढी गएका थिए । त्यसको केही दिनमा सकारसँग ठाकुर पक्षको अनौपचारिक सहमति भयो र मुद्दाहरू फिर्ता भए ।

डोलेश्वर नै किन ?

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ मा अवस्थित डोलेश्वर रिसोर्टमा जसपाका केही सांसद तीन दिनदेखि नै बसेका थिए । विशेष गरी उपेन्द्र यादवको दबाब थेग्न नसक्ने सांसदलाई सुरक्षित राख्ने ठाउँ चाहियो भनेपछि बस्नेतले सो रिसोर्ट व्यवस्था गरेका थिए ।

त्यसपछि बिहीबार महन्थ पक्षमा लागेका सबै सांसदलाई प्रधानमन्त्रीमा केपी ओली नियुक्त हुन्जेल राखिएको थियो । सो रिसोर्ट व्यवस्थापनमा सूर्यविनायक नगरपालिकका मेयर वासुदेव थापा र सोही वडाका वडाध्यक्ष किरण थापालगायतका सक्रिय थिए ।

डोलेश्वर रिसोर्ट नै रोज्नुको कारण भने सो वडा एमालेको दुई तिहाई शक्ति भएको र सुरक्षका हिसाबले पनि पार्टी कार्यकर्ता नै खटिने भएकाले रोजिएको थापाले बताए । रिसोर्ट पनि मलेसियाबाट फर्केका एमालेनिकट युवाहरूले संचालन गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर