‘क्यालिब्रेशन फ्लाइट’का लागि तयार भयो गौतमबुद्ध विमानस्थल – Nepal Press

‘क्यालिब्रेशन फ्लाइट’का लागि तयार भयो गौतमबुद्ध विमानस्थल

रुपन्देही । राष्ट्रिय गौरवको आयोजनका रुपमा रहेको रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्यालिब्रेशन फ्लाइटका लागि तयार भएको छ ।

विमानस्थल निर्माण आयोजना आईसीबी टु का प्रमुख प्रबिण न्यौपानेले यसका लागि जहाज नै ल्याएर उडान अवतरण गर्दै परीक्षण गर्नुपर्ने बताए । विमानस्थलको टावर, धावनमार्गलगायतका क्षेत्रमा आवश्यक सबै बिद्युतीय उपकरणहरु जडान गर्ने काम सबै चैत्र दोश्रो हप्तामै सकिएको उनले बताए ।

न्यौपानेका अनुसार क्यालिब्रेशन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरण साथै अन्य कार्य निर्देशित गर्ने धावनमार्ग, टावर लगायतका क्षेत्रमा जडान भएका उपकरणहरुले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्ने हो ।

‘हामी निरन्तर क्यालिब्रेशन फ्लाइटका लागि आवश्यक जहाज र विदेशी प्राबिधिक कसरी ल्याउन सकिन्छ भन्नेतर्फ प्रयास गरिरहेका छौ, क्यालिब्रेशन फ्लाइटका लागि आवश्यक तयारीमा जुटेका थियाैं तर यही बीचमा कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै अहिले रोकिएको अवस्था छ’ उनले भने,‘अन्तर्राष्ट्रिय उडान सहज हुनेबित्तिकै काम सुरु हुन्छ, अहिले पनि हामी क्यालिब्रेशन फ्लाइटका लागि तयारी अवस्थामा छौ, त्यतिबेला पनि क्यालिब्रेशन फ्लाइट गर्नसक्छौ, आवश्यकीय उपकरण सबै जडान भैसकेको छ’, न्यौपानेले भने ।

उनका अनुसार ती उपकरणहरुले काम गरेको या नगरेको विमानका पाइलटले टावरसँग सम्पर्क गर्दा निर्देशनहरु राम्ररी सुनिएको वा नसुनिएको लगायतका कुरा क्यालिब्रेशन फ्लाइटबाट थाहा हुन्छ र अपनाउनुपर्ने, सच्याउनुपर्ने समेत थाहा हुने भएकाले क्यालिब्रेशन फ्लाइट अनिवार्य हुन्छ । आईसीपी २ को निर्माण जिम्मेवारी पाएको थाइल्याण्डको एरोथाई कम्पनी हो ।

सचेतनाका साथ काममा निरन्तरता

विमानस्थलमा कोरोना भाइरस संक्रमणका बीच पनि स्वदेशी र बिदेशी कामदारले काम गरिरहेका छन् । उनीहरुलाई कार्यक्षेत्रमै रहने व्यबस्था गरी काम भैरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख इं प्रबेश अधिकारीले बताए ।

विमानस्थल क्षेत्रमा अहिले २० चिनियाँ, १८ भारतीय र ८० बढी नेपाली कामदार एवम् प्राविधिकहरु कार्यरत छन् ।

अधिकारीका अनुसार अहिले टर्मिनल बिल्डिङको प्रस्थान र आगमन कक्षको इन्टेरियर, डेकोरेशन, फर्निसिङ, फर्स सिलिङ, एअर कन्डिशन जडान गर्ने काम भैरहेको छ । त्यसैगरी गार्डेनिङ, ल्यान्डस्केप, पेन्टिङ, मार्किंङका काम भैसकेका छन् ।

‘एउटा एक्सरे मेशिनबाहेक विदेशबाट आउनुपर्ने महत्वपूर्ण उपकरणहरु सबै आइसकेको छ’– उनले भने –‘धावनमार्गका लाइटस, कन्ट्रोल टावर, कन्भेएर बेल्ट मेशिन, ब्यागेज ह्यान्डलिंग सिष्टमलगायतका सबै काम सकिएका छन्,अहिले कोरोना भाइरसका कारणले केही असहज अबस्था देखिएको हो, डर पनि छ तर काम भैरहेको छ, सहज अवस्था हुने बित्तिकै कुनै पनि बेला ब्रेक थु्र हुनेछ ।’

विमानस्थल क्षेत्रभित्रका अन्य पूर्बाधार निर्माण कार्य, बिद्युतीकरण लगायतका सबै काम सकिएका छन् । तारबारका काम सम्पन्न भएको छ भने पेरीफेरी रोड (इनर) निर्माण भएको छ भने बाह्य सडक निर्माण भैरहेको छ । बाह्य सडक निर्माणमा अहिले कोरोनाका कारण जनशक्तिको समस्या परेको अधिकारीले बताए ।

२०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतमबुद्ध विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा निर्माण गर्न चिनियाँ कम्पनीको नर्थ वेस्ट सिभिल एभियसन कम्पनीले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैया“मा ग्लोबल टेन्डरबाट आईसीबी जिरो वान प्रोजेक्ट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने सम्झौता गरेको थियो ।

पहिलो चरणको अधिकांश काम सकिएसँगै अहिले दोस्रो चरणको काम चलिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *