रुपन्देहीको कोभिड अस्पतालमा जनशक्ति अभाव, विरामीको सेवामा समस्या – Nepal Press

रुपन्देहीको कोभिड अस्पतालमा जनशक्ति अभाव, विरामीको सेवामा समस्या

रुपन्देही । कोरोना संक्रमितको संख्या अत्यधिक बढेपछि रुपन्देहीको भैरहवास्थित भीम अस्पताललाई पूर्णरुपमा कोभिड अस्पताल बनाइएको छ । तर आवश्यकताअनुसारको जनशक्ति नहुँदा बिरामीले सेवा पाउन सकेका छैनन् ।

प्रदेश सरकारले गत वर्षबाट नै यो अस्पताललाई कोरोना विशेष अस्पतालका रुपमा कार्यक्षेत्र छुट्याए पनि यो अस्पतालमा क्षेत्र छुटएर अन्य रोगका बिरामीहरुको पनि उपचार गरिँदै आएको थियो ।

अहिले पूर्णरुपमा कोभिड अस्पताल बनाइए पनि क्षमताअनुसार जनशक्ति अभाव हुँदा स्वास्थ्यकर्मीलाई संक्रमितको उपचार गर्नै मुस्किल परेको छ । त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले स्स्वास्थ्यकर्मीसहित अन्य सहयोगी कर्मचारी पनि कम हुँदा संक्रमित बिरामीको उपचार चाहेअनुसार गर्न नसकिएको बताउँछन् ।

अस्पतालका निमित्त नर्सिङ इन्चार्ज भगवती रानाले स्वास्थकर्मीबाहेकका कर्मचारीको कमीले काम गर्न निकै समस्या भएको बताइन् । उनले भनिन्, ‘कोभिड अस्पतालमा धेरै कार्यालय सहयोगी, अन्य सहयोगीको काम धेरै हुन्छ तर हामीकहाँ त्यो जनशक्ति नै कमी छ, निकै समस्या छ ।’

अस्पतालमा अहिले मेडिकल अफिसरसहित चिकित्सक २०, स्टाफ नर्स र अनमी गरेर ४६ जना, १८ कार्यालय सहयोगी र ८ जना सरसफाई कर्मचारी कार्यरत छन् । मेसुसहित ५ चिकित्सक मात्रै स्थायी छन् ।

यीमध्ये पनि एक चिकित्सक र ३ स्टाफनर्स विदामा छन् । ७ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमणपछि जनशक्तिको झनै अभाव भएको छ । अस्पतालका अनुसार क्षमताअनुसार संचालन गर्न र कोभिड संक्रमितको उपचारका लागि अझै मेडिकल अफिसरसहित २४ चिकित्सक, ६० बढी स्टाफ नर्स र २५ जना कार्यालय सहयोगी थप गर्नुपर्छ ।

भीम अस्पताललाई कोभिड अस्पताल बनाए पनि जनशक्तिको कमीले अस्पताल आफंै थलापरेको छ । जनशक्ति नभएकै कारण तीनहप्ता अघिदेखि ओपीडी बन्द छ ।

कोभिडका बिरामीले अस्पताल नै भरिएपछि अन्य बिरामीले पाउनुपर्ने उपचार सेवा लिन बञ्चित छन् । बेड भरिएपछि संक्रमितको अस्पताल बाहिर भुइँमा राखेर उपचार भइरहेको छ भने कतिपयलाई एम्बुलेन्सबाटै फर्काइन्छ । कोभिड संक्रमितका लागि फिजिसियन चिकित्सकसमेत छैनन् । नवजात शिशु तथा बालरोग विशेषज्ञले फिजिसियनको गर्ने काम गर्नुपरिरहेको डा. आरिफ हुसेनले बताए ।

भीम अस्पताल २५ शय्या क्षमताको हुँदा ३ विशेषज्ञ र ३ जना मेडिकल अधिकृत गरी ६ जना चिकित्सकको स्वीकृत दरबन्दी थियो । गत वर्ष लुम्बिनी प्रदेश सरकारले अस्पताललाई स्तरोन्नति गरेर २५ शय्या थप गरी ५० पुर्‍यायो । तर दरबन्दीअनुसार कर्मचारी र चिकित्सक उपलब्ध गराएन ।

अघिल्लो वर्ष नै कोभिड अस्पतालको रुपमा स्थापना गर्दा २७ बेड पुनः थप गरियो । अहिले ‘लीलाराम–कुन्तिदेवी न्यौपाने प्रतिष्ठान’ले निर्माण गरेको अत्याधुनिक आकस्मिक कक्षमा २१ बेडसहित अस्पतालमा कुल १ सय ४ बेड छन् । आवश्यक जनशक्ति अभावमा पूर्ण क्षमतामा संचालन हुन नसकेको अस्पतालका मेसु डा. शकुन्तला गुप्ताले बताइन् ।

अस्पतालमा ७० जनाभन्दा बढी संक्रमितको उपचार भइरहेको छ । स्वास्थ्यकर्मीलाई खानाखाने, सुत्ने र दिसापिसाव गर्नेसमेत समय मिलाउन समस्या परेको गुनासो गर्दछन् । महामारीका बेला पनि सरकारले स्वास्थ्यकर्मीको पदपूर्ति गर्न यस क्षेत्रका धेरै संक्रमित उपचारबाट बञ्चित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *