विवाहभोजमा गएपछि संक्रमित एकै परिवारका तीनको मृत्यु – Nepal Press

विवाहभोजमा गएपछि संक्रमित एकै परिवारका तीनको मृत्यु

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोजमा गएकामध्ये तीन जनाको एक साताको अन्तरमा मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा ८७ वर्षीय बाबुसँगै उनका ५१ र ४० वर्षीय छोराहरु छन् । उनीहरूमध्ये ८७ वर्षीय बाबु र ४० वर्षीय छोराको धवलागिरी अस्पताल बागलुङ र ५१ वर्षीय छोराको मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।

एक हप्ताअघि हेलिकोप्टरबाट पोखरा उपचारका लागि लगिएका बडिगाडकै अर्का ४० वर्षीय एक पुरुषको पनि मृत्यु भएको छ । यस घटनापछि बडिगाडमा सन्त्रास छाएको छ । अधिकांश मानिस डराएका छन् ।

गाउँपालिकाको स्वास्थ्य शाखाले कम्तीमा १५ दिन घरभित्रै बसिदिन आग्रह गरेको छ । प्रशासनले जेठ १५ सम्मका लागि बागलुङ जिल्लाभर निषेधाज्ञा लगाएको छ ।

रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर