गण्डकीमा ७ हजार नाघे सक्रिय संक्रमित, अस्पताल भरिभराउ – Nepal Press

गण्डकीमा ७ हजार नाघे सक्रिय संक्रमित, अस्पताल भरिभराउ

पोखरा महानगरका ७८ वर्षीय एक पुरुष बुधबार बिहानसम्म स्वास्थ्य राम्रै थियो । दिउँसो एक्कासी स्वास्थ्यमा सामान्य खराबी आयो र अस्पताल भर्ना हुनुपर्‍यो । परीक्षणमा उनको कोरोना संक्रमण पुष्टि भयो । तर, केहीबेरमै उनको मृत्यु भयो । उपचारमा संलग्न चिकित्सकसमेत चकित बने । तर, पछिल्लो केही दिनयता देखिने यस्ता दृश्य भने उनीहरुका लागि नौला होइनन् ।

‘ती पुरुषको अवस्था राम्रै थियो । उहाँलाई हेरेर कसैले पनि कोभिड लागेको छ भन्नै सक्थेनन्,’ प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा विनोदविन्दु शर्मा भन्छन्, ‘तर, कोभिड संक्रमणले भित्रभित्रै सखाप पारिसकेको रहेछ । उहाँको फोक्सो पूरै ड्यामेज भइसकेको थियो ।’

गण्डकी प्रदेशमा पछिल्लो एक हप्ताको कोरोना तथ्यांकमात्रै हेर्ने हो भने अवस्था भयावह छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार गण्डकीमा पछिल्लो २ हप्तामै ९९ जना कोरोना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
बुधबारमात्रै प्रदेशभरका १६ जना संक्रमितको मृत्यु भयो । यो हालसम्मकै उच्च संख्या हो । बिहीबार गण्डकीका थप १४ जनाले ज्यान गुमाए । बिहीबार मृत्यु भएकामध्ये सबैभन्दा बढी कास्कीकै छन् । योसँगै गण्डकीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय १८ पुगेको छ ।

भरिए कोभिड अस्पताल, भन्छन्– नयाँ भर्ना लिन सक्दैनौं

कोभिड बिरामीका लागि गण्डकी प्रदेशमा तोकिएको अस्पताल संक्रामक तथा सरुवा रोग अस्पताल हो । यो पोखराकै लेखनाथमा छ । ५२ बेड क्षमताको उक्त अस्पतालमा अहिले पूर्ण रुपमा संक्रमितले भरिइसकेको छ ।

‘त्यसमध्ये ४ बेड त प्रिआइसोलेसनका लागि बनाएका थियौं । तर, सबै संक्रमितले अहिले भरिइसक्यो,’ अस्पतालका कार्यकारी प्रमुख डा. विकास गौचन भन्छन्, ‘यहाँ आउनेहरुलाई अब नआउनुस्, सिट छैन भन्नेबाहेक हामीसँग अर्को उपाय छैन ।’

डा. गौचनले संक्रामक तथा सरुवा रोग अस्पतालमा बेड खोज्दै फोन गर्नेहरुका लागि आफूहरु बेड नभएर अन्तै खोज्न भन्न बाध्य भएको यथार्थ सुनाए । ‘यहाँ नभएपछि के गर्नु ? अर्को सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउँछौं । त्यहाँ पनि हुन सकेन भने त आफैं खोज्नुस् भन्ने नै हो,’ उनले भने ।

कोभिड उपचारका लागि अहिले संक्रामकसहित पश्चिमाञ्चल क्षेत्री अस्पताल, मणिपाल, चरक, गण्डकी मेडिकल कलेज तथा मेडिप्लस लगायतमा उपचार भइरहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पूरा गण्डकीभर ५ सय ६ जना संक्रमित अस्पतालमा उपचाररत छन् ।

अस्पतालमा भर्ना भएका पूरा संख्यामध्ये अहिले कास्कीमामात्रै ४ सय १४ जना संक्रमित छन् । त्यसमध्ये आइसियूमा अझै ९२ जना र भेन्टिलेटरमा २९ जना उपचाररत रहेको प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा. विनोद विन्दु शर्मा बताउँछन् ।

भरिए भेन्टिलेटर, भएकामा कर्मचारी छैनन्

गण्डकी प्रदेशभरका अस्पतालमा कुल ८६ भेन्टिलेटर छन् । तर, ती बेडमध्ये अधिकांश भेन्टिलेटर चलाउने प्राविधिक नभएकै कारण चालू हुन सकेका छैनन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अहिले प्रदेशभर जम्मा २५ भेन्टिलेटर चालू अवस्थामा छन् । तीसबै भरिइसकेका छन् ।

प्रदेशकै एकमात्र कोभिड उपचार अस्पताल संक्रामक तथा सरुवा रोग अस्पतालमा ६ वटा भेन्टिलेटर छ । तर, कर्मचारी अभावकै कारण सुरु हुन सकेको छैन । गण्डकी प्रदेशभरिमा सबैभन्दा बढी भेन्टिलेटर भएको गण्डकी मेडिकल कलेज हो । उक्त अस्पतालमा भएका १९ वटै भेन्टिलेटर कोरोना संक्रमितले भरिएका छन् ।

होम आइसोलेसनबाटै डर !

गण्डकीमा बैशाखयता कोरोना संक्रमितको संख्या उकालो लागेसँगै मृत्युदर पनि बढेको छ । कोभिड परीक्षण गरिएकामध्ये ५० प्रतिशतभन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुन थालेको निर्देशनालय प्रमुख डा. शर्माको भनाइ छ । उनका अनु्सार गण्डकीमा बिहीबारसम्म सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ३१ पुगेको छ ।

दैनिक ठूलो संख्यामा कोरोना संक्रमित फेला पर्दासमेत ९५ प्रतिशतभन्दा बढी होम आइसोलेसनमा छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीमा बिहीबारसम्म ६ हजार ८ सय ६८ जना संक्रमित होम आइसोलेसनमै छन् ।

केही समयअघि मुख्यमन्त्री कार्यालयमा बसेको प्रदेश कोरोना रोकथाम समितिलेसमेत होम आइसोलेसनलाई प्रोत्साहन गर्दै ‘होम आइसोलेसन किट’को व्यवस्था गरेको थियो । तर, उक्त होम आइसोलेसन किटसमेत खरिद गर्न सक्ने संक्रमितलाईमात्रै उपलब्ध गराउने निर्णय भएको थियो ।

अहिले प्रदेशमा कोरोना संक्रमितको संख्या र मृत्युदर बढ्नुमा ‘होम आइसोलेसन’कै कमजोरी रहेको निर्देशनालयसमेत स्वीकार्न बाध्य भएको छ । ‘सरकारी आइसोलेसनभन्दा होम आइसोलेसन धेरै राम्रो भनेर प्रोत्साहन गर्न खोजेका थियौं,’ डा शर्मा स्वीकार्छन्, ‘केही समस्या प¥यो भने सीधै खबर गर्न पनि भनेका थियौं । तर, अवस्था गम्भीर भइसक्दा पनि खबर गर्दैनन् ।’

प्रदेशमा संक्रमणदर र मृत्युदर बढ्नुमा कोरोनाको पछिल्लो म्युटेन पनि कारक रहेको डा शर्माले जानकारी दिए । ‘अहिले भारतको डबल म्युटेन देखा परिरहेको छ । यसको संक्रमणदर, मृत्युदर कति हो भन्ने ठ्याक्कै हामीले पनि एकिन गर्न सकेका छैनौं,’ उनले भने, ‘अहिले कोरोना बढिरहेको यो पनि एउटा कारण हो ।’

अघिल्ला कोरोनाभन्दा अहिले देखा परेको कोरोना भाइरस धेरै गुणा खतरनाक रहेकाले सर्तक रहनसमेत डा शर्माले आग्रह गरे । ‘यो लकडाउन अझै २, ३ महिना जाने देखिन्छ । दिनमा कम्तिमा एक घन्टा आफूलाई घरभित्रै सम्हाल्न सक्यो भनेमात्रै पनि धेरै सुधार आउँछ । यसलाई सामान्य रुपमा नलिऔं,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *