ओली-नेपाल सहमतिले सुदूरपश्चिममा माओवादीलाई धक्का, एमालेको सरकार बन्ने पक्का ! – Nepal Press

ओली-नेपाल सहमतिले सुदूरपश्चिममा माओवादीलाई धक्का, एमालेको सरकार बन्ने पक्का !

कैलाली । नेकपा माओवादी केन्द्रले नेतृत्व गरेको सुदूरपश्चिम प्रदेशमा अब नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना प्रवल भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको सहमतिले सुदूरपश्चिममा एमालेको नेतृत्वमा सरकार गठनको बाटो खुलेको हो ।

५२ जना सदस्य रहेको प्रदेशसभामा एमालेका मात्रै २५ जना सांसद छन् । माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी (जसपा)का २ जना सांसद छन् ।

जनता समाजवादी पार्टीका दुवै जना सांसद पूर्व राजपा अर्थात् महन्थ-राजेन्द्र पक्षका भएका कारण प्रदेशमा एमालेको सरकार बन्ने पक्का भएको हो ।

‘२५ जना सांसद रहेको पार्टीले सरकारको नेतृत्व नगरेर १३ जना सांसद रहेको पार्टीलाई नेतृत्व दिने कुरा हुँदैन,’ पूर्व मन्त्री समेत रहेका एमालेका एक नेताले भने, ‘अब हाम्रो नेतृत्वमा सरकार बन्छ ।’

उनले केन्द्रमा शीर्ष नेताहरू बिचको निर्णायक संवादले प्रदेश सरकार परिवर्तनको बाटो खुलाएको बताए ।

‘यस अघि पनि हामीले एमालेबाटै नेतृत्व हुनुपर्छ भनेका थियौँ’ उनले भने ‘अब त्यो सम्भव भएको छ । केन्द्रबाटै यसको निर्देशन आउला ।’

एमाले र माओवादीको गठबन्धन पछि भागबन्डाको आधारमा सुदूरपश्चिम प्रदेशमा माओवादीले सरकारको नेतृत्व गरेको थियो । तर अहिले एमाले एक भएपछि वर्तमान सरकारको विकल्प आवश्यक रहेको एमाले नेताहरू बताउँछन् ।

साबिक नेकपा टुक्रिएपछि प्रदेशमा एमाले भित्र नेपाल समूह बलियो हुँदा माओवादी नेतृत्वको सरकार परिवर्तनमा एमालेलाई चुनौति थियो । माओवादी र नेपाल समूह एक भएका कारण प्रदेश सरकार फेरबदल हुन सकेन । बरु एमाले भित्रै ओलीलाई समर्थन गरेको भन्दै १४ पुसमा भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले वर्खास्त गरेका थिए ।

ओली पक्षमै देखिएका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले २२ पुसमा मन्त्री पदबाट राजीनामा दिए । माओवादी केन्द्रबाट प्रदेश सभामा निर्वाचित भएका बोहरा अहिले एमालेको केन्द्रीय सदस्य बनेका छन् ।

सर्वोच्च अदालतले एमालेलाई पूर्ववत् अवस्थामा ल्याइदिएपछि नै प्रदेशमा सरकार परिवर्तनको पहल नभएको भने होइन । तर, ओली समूह भन्दा नेपाल समूह बलियो भएका कारण सरकार फेरिन सकेको थिएन । एमाले भित्र नेपाल समूहका प्रकाश शाह आन्तरिक मामिला तथा कानुन मन्त्री, कृष्णराज सुबेदी सामाजिक विकास मन्त्री र माया भट्ट उद्योग वन तथा वातावरण मन्त्री छन् ।

सभामुख बाहेकका २४ जना सांसद मध्ये नेपाल समूहका १८ जना र ओली समूहका ६ जना मात्रै थिए ।

प्रदेश सरकार गठन गर्न २७ जना सांसद आवश्यक पर्छ एमालेको २५ र जसपाका २ जना सहितको सरकार बन्नेमा एमालेकै सांसदहरू पनि ढुक्क हुन थालेका छन् ।

‘ओली पक्षका सांसदहरू बलियो भएको भए उहिल्यै सरकार ढालिसक्थे,’ नेपाल समूहका एक सांसदले भने ‘हामी बलियो भएका कारण यो सरकार रहेको हो । एक भएपछि हामी नै सरकारको नेतृत्व गर्छौं ।’

नेकपा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले पनि अब प्रदेशमा एमालेको नेतृत्वमा सरकार गठन हुने बताएका छन् । ‘अब सरकारको नेतृत्व नेकपा एमालेले गर्छ ’उनले भने, ‘हामीले गृहकार्यमा सुरु गरिसकेका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर