उपत्यकाभित्रका अस्पताललाई अक्सिजन आपूर्तिको व्यवस्था स्वास्थ्य मन्त्रालयले गर्ने – Nepal Press

उपत्यकाभित्रका अस्पताललाई अक्सिजन आपूर्तिको व्यवस्था स्वास्थ्य मन्त्रालयले गर्ने

उपत्यका बाहिरका अस्पतालमा अक्सिजन आपूर्तिको व्यवस्था डीसीसीएमसीले गर्ने

काठमाडौ । काठमाडौं उपत्याकाभित्रका सबै सरकारी अस्पताल तथा स्वास्थ्य मन्त्रालयसँग सम्झौता गरेर कोभिड–१९ उपचार गरिरहेका निजी अस्पतालको लागि आवश्यक अक्सिजन सिलिण्डर आपूर्तिको व्यवस्था गर्ने जिम्मेवारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिइएको छ । यस्तै काठमाडौं उपत्यका बाहिरका सबै अस्पतालमा आवश्यक अक्सिजन सिलिण्डरको आपूर्तिका व्यवस्था भने अस्पतालको समन्वयमा जिल्ला कोभिड संकट व्यवस्था केन्द्र (डीसीएमसी) ले गर्ने व्यवस्था मिलाइएको छ ।

बिहिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मुख्यसचिवको कार्यकक्षमा कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका सम्बन्धमा भएको छलफलले यस्तो निर्णय गरेको हो । बैठकले उपत्यकामा मन्त्रालय र उपत्यका बाहिर डीसीसीएमसीलाई ‘मेडिकल अक्सिजनको प्रयोग र आवश्यकता सम्बन्धी मापदण्ड, २०७८’ बमोजिम अक्सिजन सिलिण्डर मिलाउने जिम्मेवारी दिएको हो ।

बैठकले चिकित्सकको सिफारिस बाहेक कसैले पनि घरमा वा संस्थामा अक्सिजन सिलिण्डर नराख्न, भएका सिलिण्डर नजिकको अस्पताल र स्थानीय प्रशासनमा उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक सूचना आव्हान गर्न पनि निर्देशन दिएको छ ।

अक्सिजन सिलिण्डर सम्बन्धी सूचनामूलक सन्देश सरकारी सञ्चार माध्यमम र टेलिफोन सेवा प्रदायकले रिंग ब्याक टोनको रुपमा प्रसारण गर्ने गराउने व्यवस्था गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पनि निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता समेत रहेका सहसचिव किरणराज शर्माले नेपाल प्रेसलाई जानकारी दिए ।
उनका अनुसार घरमा अक्सिजन सिलिण्डर राखे नराखेको, सम्बन्धित उद्योगले अस्पताल बाहेक अन्यत्र निजी प्रयोगमा दिए नदिएको अनुगमन स्थानीय प्रशासनमार्फत गर्ने गराउने व्यवस्था गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

यसका लागि प्रत्येक अक्सिजन ग्यास उद्योगमा प्राप्त सिलिण्डर र वितरण भएका सिलिण्डरको अभिलेख राख्नका लागि सशस्त्र प्रहरी खटाउने र त्यसको नियमित विवरण प्राप्त हुने व्यवस्था मिलाउने व्यवस्था गर्ने पनि बैठकले निर्णय गरेको छ ।

मापदण्ड विपरित अक्सिजन सिलिण्डर प्रयोग वा वितरण गर्न कसैलाई दवाव नदिने, उद्योग र अस्पतालले पनि कुनै किसिमले मापदण्ड विपरित प्रयोग नगर्ने नगराउने निर्णय बैठकले गरेको छ ।

नेपालले भन्सरा बिन्दुबाट आफै ढुवानी गर्न सक्ने भए चीनबाट स्थलमार्गबाट अक्सिजन सिलिण्डर ल्याउन सकिने देखिएकोले त्यस बमोजिम ढुवानी गर्न सक्ने कुराको जानकारी परराष्ट्र मन्त्रालयले चिनिया पक्षलाई गराउने र ढुवानी गर्दा सुरक्षाको व्यवस्था गृह मन्त्रालयले मिलाउने तथा ढुवानी खर्च स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भूक्तानी दिने पनि निर्णय भएको छ ।

सबै अक्सिजन पलान्ट २४ सै घण्टा सञ्चालन हुने व्यवस्था मिलाउने, खाली अक्सिजन सिलिण्डर तत्काल प्लान्टमा पठाउने र प्लान्टले पनि तत्काल भरी फिर्ता पठाउने व्यवस्था गर्ने, यसको समन्वय र अनुगमन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा उद्योग मन्त्रालयले गर्ने र यस कार्यमा आवश्यक सहयोग गृह मन्त्रालय र स्थानीय प्रशासनले गर्ने निर्णय बैठकले गरेको प्रवक्ता शर्माले बताए ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव, गृह मन्त्रालयका सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव र परराष्ट्र मन्त्रालयका सचिव लगायतको सहभागितामा रहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर