गोकर्ण र गोकुलले बुधबार साँझै ‘कुल’ बनाएका थिए माधव नेपाललाई – Nepal Press

गोकर्ण र गोकुलले बुधबार साँझै ‘कुल’ बनाएका थिए माधव नेपाललाई

काठमाडौं । सर्वोच्च अदालतबाट नेकपा एमाले ब्युँतिएपछि पनि नेकपाकालीन अवस्थामै रहेका केपी ओली र माधव नेपाल पक्षबीच एकता गराउन करीव दुई महिनादेखिको अनेकौं प्रयास वैशाख ३० गते बिहीबारबाट परिणाम नजिक पुगेका छन् ।

यसबीचमा माधव नेपाल र केपी ओलीबीच एक्ला एक्लै दुईपटक वार्ता भए भने समूहगत रुपमा एकपटक छलफल भएको थियो । यसबीचमा दोस्रो र तेस्रो तहका नेताहरुबीच पनि छलफलका सिलसिला चलिरहे ।

यसअघि ८ र ९ वैशाखमा ओली नेपालबीच मेरियट होटेलमा भएको वार्ताले सुखद् परिणाम दिन नसकेपछि उनीहरुबीच पुनः भेटको वातावरण बनाउन नै निकै समय लाग्यो।

बिहीबारको एमाले विवाद समाधानतर्फको बाटो भने बुधबार बेलुका नै तयार भएको थियो । केपी ओलीको तर्फबाट माधव नेपाललाई मनाउन गएका थिए गोकुल बास्कोटा जहाँ माधव पक्षाका गोकर्ण विष्ट पनि थिए ।

बास्कोटाले माधव नेपाललाई तपाईं कहाँ जाँदै हुनुहुन्छ भनेर सोध्दा नेपालले आफू धेरै अघि बढिसकेको भन्दै ओलीसँग एकताको सम्भावना टरेको बताए । तर बास्कोटा आफ्नो स्वभाव अनुसार कड्किए ।

गोकर्ण विष्ट पनि सांसदबाट राजीनामाको विपक्षमा थिए । माधव नेपाललाई सहमतिको बटमलाइन सुनाएर बास्कोटाले ओलीलाई खबर गरेका थिए । जसको नियमित ब्रिफिङमा थिए बिष्णु रिमाल । यो प्रक्रियामा सुरेन्द्र पाण्डे पनि निरन्तर संवादमा थिए ।

माधव नेपालको घरमा ओलीले गोकुल बास्कोटालाई पनि पठाए । गोकुल बास्कोटाले ‘तपाईंले के गरेको यो ?’ भन्दै नेपालसँग कुराकानी थाले ।

माधव नेपाले ‘म अगाडि बढीसकेँ’ भन्दै सहमतिको सम्भावना न्यून रहेको जवाफ दिए ।

गोकुलको आग्रह थियो- ‘तपाईं राजीनामा दिएर अब जनमोर्चा जस्तै बन्ने । तपाईं आफूलाई एमालेको संस्थापक भन्नुहुन्छ, यो पार्टी सिध्याएर तपाईं हिड्ने ?’

तपाईं पर पुगे पनि फर्किनुहोस्, केपी ओलीलाई म मिलाउँछु, तपाईं वार्ता गर्नुहोस् भन्ने आग्रह बास्कोटाले नेपाल समक्ष गरेका थिए ।

त्यही क्रममा माधव नेपालले ओलीप्रति आफ्ना गुनासो पोखेका थिए। नेपालको सबै गुनासो सुनेपछि गोकुलको आग्रह थियो-‘तपाईं पार्टीको नेता हो । इगो ‘हर्ट’ नबनाउनुहोस्।’

गोकुलको यो आग्रहपछि नेपाल केही सकरात्मक भए । ‘ठीक छ, म लचिलो हुन्छु । तपाईं केपी ओलीलाई पनि भन्नुहोस्,’ नेपालको आग्रह थियो ।

गोकर्ण र गोकुलले कुल गराएका नेपाल एकपटक प्रयास गर्छु, मिल्नको लागि तयार छु भन्ने ठाउँमा पुगे । यो खबरपछि ओलीले नेपालसँग टेलिफोन सम्पर्क गरेका थिए र विहानै अर्थमन्त्री बिष्णु पौडेललाई कोटेश्वर पठाए ।

माधव नेपाललाई फेस सेभको बाटो चाहिएको थियो । विष्णु पौडेलले पनि भेटमा नेपालाई भनेका थिए- ‘तपाईंको माग बमोजिम जेठ २ को आसपासपमा सहमति खोजौं । तपाईं यो दुर्घनाको बाटोमा नजानुहोस् ।’

पौडेलसँगको भेटपछि नेपालले संविधानविद्हरुसँग छलफल गरेका थिए । सम्भू थापा, टिकाराम भट्टराई र गोविन्द बन्दीले संविधान अनुसार अहिले राजीनामा बुझाएको खासै अर्थ नहुने सुझाएका थिए ।

त्यसअघिका पृष्ठभूमि

केही दिनअघि एमालेका दोस्रो तहका नेताहरुबीच एउटा ‘लन्च मिटिङ’ भयो । त्यसमा नेपाल पक्षका घनश्याम भुसाल, योगेश भट्टराई र ठाकुर गैरे सहभागि थिए ।

ओली पक्षबाट शंकर पोखरेल, राजन भट्टराई, र विनोद ढकाल थिए ।

जेठ २ मै नपुगे पछि त्यसको सेरोफेरोमा पुग्ने, नेकपाको स्थायी कमिटीको बैठक बोलाउने, त्यो बैठकले नेकपा एमालेका पहिलेका कमिटीहरुको व्यवस्थापन गर्ने सहमति उनीहरुबीचको बैठकमा जुरेको थियो ।

त्यो सहमितलाई मुर्तरुप दिन एउटा कार्यदल बनाउने कुरामा पनि उनीहरु एकमत थिए । कार्यदल मार्फत सहमति खोज्ने कुरामा ओली र नेपाललाई आफ्ना-आफ्नो पक्षमा ‘कन्भिन्स’ गराउने भन्दै उनीहरु उठेका थिए ।

त्यही बीचमा शंकर पोखरेल लुम्बिनी जानुपर्ने भएकाले त्यसमा पर्यटन मन्त्री भानुभक्त ढकाल मिसिए ।

उनीहरुबीच संवाद चल्दै जाँदा घनश्याम भुसाल त्यसबाट पछि हटे । भुसालको जोड २०७५ जेठ २ मै जानुपर्छ थियो ।

उता ओली दोस्रो तहका नेताहरुबीच कार्यदल बनेको कार्यदल बनाउने सहमतिमा सहमत भएका थिए । ओली नेकपाकालीन स्थायी कमिटी (जहाँ नेपाल पक्षका ११ जना स्थायी कमिटी सदस्य छन् ) बोलाएर कार्यदल बारे निर्णय गर्ने सोचमा थिए ।

यो विषय कुनै टुंगोमा नपुगे पनि नेपाल पक्षका नेता विष्ट ओलीसँग निरन्तर संवादमा थिए । ओलीकै आग्रहका कारण उनी माधव नेपाललाई राजीनामा नगर्न ‘कन्भिन्स’ गराउन बुधबार उनी कोटेश्वर गएका थिए । त्यही बेला भीम रावलले ओलीलाई रोक्न सांसदबाट राजीनमा दिनुपर्ने भन्दै ट्वीट गरेका थिए।


प्रतिक्रिया

2 thoughts on “गोकर्ण र गोकुलले बुधबार साँझै ‘कुल’ बनाएका थिए माधव नेपाललाई

Leave a Reply to Rcl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर