अक्सिजन सिलिण्डर स्वत:स्फुर्त रुपमा उपलब्ध गराउन गृह मन्त्रालयको पुनः आग्रह – Nepal Press

अक्सिजन सिलिण्डर स्वत:स्फुर्त रुपमा उपलब्ध गराउन गृह मन्त्रालयको पुनः आग्रह

काठमाडौं । अस्पताल बाहेक अन्य प्रयोजनका लागि प्रयोग गरिएका अक्सिजन सिलिण्डर स्वतःस्र्फुत रुपमा उपलब्ध गराउन गृह मन्त्रालयले पुन पनि आग्रह गरेको छ ।

यस अघि नै आग्रह गरिसकेको मन्त्रालयले बिहिबार पुनः विज्ञप्ती जारी गर्दै विभिन्न उद्योग, व्यवसाय, आयोजना, इन्जिनियरिङ कलेज, सीटीईभीटीका तालिम केन्द्र तथा व्यक्तिसँग रहेका अक्सिजन सिलिण्डर स्वतःस्फुर्त रुपमा नजिकको स्थानीय प्रशासन वा सुरक्षा निकायमा उपलब्ध गराउन आग्रह गरेको हो ।

कोभिड उपचार जस्तो मानवीय कार्यमा योगदान दिएर सरकारको कोभिड–१९ को दोस्रो लहरको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा प्रभावकारी तुल्याउने अभियानमा सक्रिय सहभागिता लागि मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव जनकराज दाहालले विज्ञप्तीमार्फत आग्रह गरेका हुन् ।

कोभिड–१९ को दोस्रो लहरको संक्रमण दिनानुदिन वृद्धि हुदैँ गइरहेको सन्दर्भमा अक्सिजन आपूर्तिको व्यवस्थापन अत्यन्त चुनौतीपूर्ण महशुस भइरहेको पनि मन्त्रालयले जनाएको छ । कोभिड उपचारका लागि जीवन रक्षक अमृतको रुपमा रहेको अक्सिजन आपूर्ति तथा वितरण प्रणालीलाई भरपर्दो एवम विश्वसनीय तुल्याउनु सबैको साझा दयित्व रहेको पनि जनाइएको छ ।

मन्त्रालयका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अक्सिजन अभाव हुन नदिन विभिन्न उद्योग, आयोजना तथा व्यक्तिका साथमा रहेका अक्सिजन सिलिण्डर जम्मा गर्ने कार्य पनि तीव्रताका साथ भइरहेको छ । अक्सिजन सिलिण्डर संकलनमा प्रहरी प्रशासनले निर्वाह गरेको भूमिकाको पनि मन्त्रालयले प्रशंसा गरेको छ ।

‘कतिपय उद्योग, आयोजनाको स्वतः स्फुर्त प्रयासबाट अकिसजन सिलिण्डर धमाधम जम्मा भईरहेको छ । कोभिड बिरामीका लागि अति आवश्यक पर्ने अक्सिजन यसरी स्वतःस्फुर्त रुपमा उपलब्ध गराउने सबै उद्योग, व्यवसाय, संघ संस्था तथा व्यक्तिलाई मन्त्रालयले धन्यावाद पनि ज्ञापन गरेको छ ।’ विज्ञप्तीमा भनिएको छ ।

यसरी जम्मा भएका अक्सिजन सिलिण्डर कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मार्फत न्यायोजित वितरणको व्यवस्था मिलाइएको पनि गृह मन्त्रालयले विज्ञप्तीबाट नै स्पष्ट पारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर