बर्दघाटमा कन्सन्ट्रेटर उपकरणसहित २० बेडको एचडीयू केन्द्र सञ्चालनमा – Nepal Press

बर्दघाटमा कन्सन्ट्रेटर उपकरणसहित २० बेडको एचडीयू केन्द्र सञ्चालनमा

रुपन्देही । कोरोना संक्रमित बढ्दै गएपछि पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले कन्सन्ट्रेटर उपकरणसहितको २० बेडको एचडीयू केन्द्र सञ्चालनमा ल्याएको छ ।

जिल्लामा कोराना संक्रमणको अवस्था भयावह बन्दै गएपछि अस्पतालको सेवा थप गर्न दवाव बढेको थियो ।

अक्सिजनको अभावलाई पूर्ति गर्न केन्द्रमा ४ वटा कन्सन्ट्रेटर ( हावालाई फिल्टर गरेर बिरामीलाई दिइने विद्युतिय अक्सिजन उपकरण) जडान गरिएको र नगरपालिकाले आफ्नै लगानीमा उक्त केन्द्र सञ्चालनमा ल्याएको नगर प्रमुख धीरज शर्माले जानकारी दिए ।

बेड अभाव भएर संक्रमितहरुले उपचार पाउन नसकेपछि नगरपालिकाले नयाँ भवन नै निर्माण गरेर एचडीयू केन्द्र सञ्चालन गरेको हो । केन्द्रमा अहिले गंभिर प्रकृतिका बिरामीहरुको उपचार भइरहेको छ ।

एचडीयूकेन्द्रबाहेक नगरपालिकाले शहिद स्मृति अस्पतालमा पनि १२ बेडको अक्सिजनसहितको आईसोलेसन बनाएको छ । आइसोलेसन र एचडीयू केन्द्रबाहेक अन्य जिल्लामा पठाउनु पर्ने बिरामीहरुका लागि पनि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको शर्माले बताए ।

यसैबीच एचडीयू र आईसोलेसनमा बेड थप गर्न र अझ व्यवस्थित गर्न रकम अभाव भएकाले प्रदेश सरकारसँग ४६ लाख रुपैयाँ माग गरेर पठाइएको नगरपालिकाले जनाएको छ ।

जिल्लामा बैशाख पहिलो सातादेखि अहिलेसम्म ५१ जनाको मृत्यु भएको छ । कुल सक्रिय संक्रमितको संख्या १२ सय २२ पुगेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन देविलाल पौडेलले बताए । जिल्लामा कुल ८८ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर