घरमा अक्सिजन राख्नेलाई कारवाही गर्ने रुपन्देही प्रशासनको चेतावनी – Nepal Press

घरमा अक्सिजन राख्नेलाई कारवाही गर्ने रुपन्देही प्रशासनको चेतावनी

रूपन्देही । घरघरमा सर्वसाधारणले अक्सिजन सिलिन्डर स्टक राख्न थालेका कारण अस्पतालमा अभाव भएको निश्कर्षसहित यसलाई रोक्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कडाइ थालेको छ ।

पछिको लागि भन्दै घरमा वा संस्थामा अक्सिजन सिलिण्डर स्टक नगर्न आग्रह गर्दै प्रशासनले स्टक भए पनि नजिकको सुरक्षा निकायलाई जानकारी गराई दिन अनुरोध गर्दै बिना जानकारी स्टक राखेको पाइए कारवाही गर्ने चेतावनी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बिहीबार सूचना जारी गर्दै कोभिडका नयाँ भेरिएन्टबाट उत्पन्न महामारीको विषम परिस्थितिका कारण अस्पतालहरुमा बिरामीको चाप बढेको र त्यसको उपचारको लागि आवश्यक पर्ने अक्सिजन ग्यासको अभावमा परिस्थिति दैनिक जटिल बन्दै गएको उल्लेख गरेको छ ।

अस्पतालमा अक्सिजनको अभाव भए पनि महामारीको डर र त्रासका कारण बिभिन्न ब्यक्ति तथा संस्थाले अक्सिजन सिलिण्डर घरमा लगि स्टक राख्ने गरेको सूचना जिल्ला प्रशासन कार्यालयलाई प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।

महामारीको विषम घडीमा सबै एकजुट भई महामारीको सामना गर्नु प्रत्येक नागरिकको कर्तब्य भएकोले अभाव भएको समयमा सिलिण्डर होल्ड नगर्न प्रशासनले आग्रह गरेको हो । यसरी पछि चाहिन्छ भनेर घर वा संस्थामा होल्ड गरेर राखिएका सम्पूर्ण अक्सिजन सिलिण्डरको विवरण नजिकको सुरक्षा निकायमा चाडो भन्दा चाडो जानकारी गराई दिन प्रशासनले आग्रह गरेको छ ।

‘सूचनाको अवज्ञा गरि विना जानकारी ब्यक्ति र संस्थाले अक्सिजन राखेको पाईएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने ब्यहोरा जानकारी गरिन्छ ।’ सूचनामा उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर