सेन्सर गरेर मात्र बलिउड फिल्म ‘राधे’लाई नेपालमा रिलिज गर्न मन्त्रालयको निर्देशन – Nepal Press

सेन्सर गरेर मात्र बलिउड फिल्म ‘राधे’लाई नेपालमा रिलिज गर्न मन्त्रालयको निर्देशन

काठमाडौं । भारतीय फिल्म ‘राधे : योर मस्ट वान्टेड भाइ’लाई सेन्सर गरेर मात्र रिलिज गर्न संचार मन्त्रालयले नेपालका ओटीटी प्लेटफर्मलार्ई बिहीबार निर्देशन दिएको छ ।

मन्त्रालयको निर्देशनपछि अब ती ओटीटी प्लेटफर्मले सेन्सर प्रक्रिया पुरा गरेर मात्र फिल्मलाई आफ्ना प्लेटफर्ममा प्रदर्शन गर्न पाउनेछन् ।

गोपिकृष्ण मूभिजअन्तर्गतको ए-एठ् कम्पनीले बलिउड फिल्म राधेको नेपाल डिजिटल सर्वाधिकार खरिद गरेको हो । यो फिल्म म्याक्स टिभी, डिसहोम र नेट टिभीका ओटीटी तथा डिजिटल प्लेटफर्मबाट रिलिज हुने तयारीमा थियो ।

मन्त्रालयका प्रवक्ता शोभाकान्त पौडेलले सेन्सर प्रक्रिया पुरा गरेर मात्र रिलिज गर्न वितरक र ओटीटी संचालकलाई निर्देशन दिइएको बताए । ‘प्रक्रिया नपुर्‍याइकन रिलिज गरिए कानूनी कार्वाहीमा अघि बढ्नुपर्ने हुन्छ’ उनले भने ।

संचार मन्त्रालयका श्रव्यदृश्य शाखा हेर्ने प्रमुख शिव त्रिपाठीले पनि निर्देशन दिइएको र पालना नभए कानून अनुसार कार्वाही हुने बताए । ओटीटी प्लेटफर्मलाई पनि फिल्म सेन्सर र करको दायरामा ल्याउने तयारी भैरहेको बताए ।

चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहालले ओटीटी प्लेटफर्मलाई करको दायरामा ल्याउने गरि आगामी आर्थिक ऐनमा समेट्न अर्थ मन्त्रालयमा सिफारिस गरिएको बताए ।

सलमान खानको निर्माण एवं अभिनय रहेको फिल्म ‘राधे’ भारतमा भने जी नेटवर्क अन्तर्गतका ओटीटी प्लेटफर्ममा रिलिज भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *