भर्चुअल माध्यमबाट मण्डलाले नाटक देखाउने, प्रिमियर हुने भयो दयाहाङको ‘मीतज्यू’ – Nepal Press

भर्चुअल माध्यमबाट मण्डलाले नाटक देखाउने, प्रिमियर हुने भयो दयाहाङको ‘मीतज्यू’

काठमाडौं । मण्डला थिएटरले भर्चुअल माध्यमबाट नाटक मञ्चन गर्ने भएको छ । भौतिक उपस्थितीमै नाटक मञ्चनको तयारी गरिएपनि निषेधाज्ञा लागु भएपछि मण्डलाले भर्चुअल माध्यममा जाने निधो गरेको हो । निषेधाज्ञा नभएको भए बैशाख अन्त्यमा पल्पसा क्याफे नाटक मञ्चन तयारीमा थियो मण्डला ।

थिएटरले पहिलोपटक आफ्नो पूर्णाङ्की नाटकलाई डिजिटल माध्यमबाट रिलिज गर्न लागेको हो । सोमनाथ खनालद्वारा लिखित तथा दयाहाङ राईद्वारा निर्देशित नाटक ‘मीतज्यू’लाई मण्डलाले युट्युव च्यानलमार्फत रिलिज गर्न लागेको हो ।

‘मीतज्यू’ नाटक दुईजना बृद्धहरुले आफ्नो किशोरवयतिर फर्केर हेर्दा देखिने फल्यासब्याक कथा हो । नेपाली संस्कृतिमा लोकप्रिय मितेरी साइनो अन्तर्गत एक जोडी मितको अन्तरकुन्तर कथा यस नाटकमा प्रस्तुत गरिएको छ ।

मितेरी साइनोसँगै उनीहरुका अन्य सम्बन्ध, तिनका उतारचढाव र तिनीहरुले दुई मितको जीवनमा पारेको प्रभावलाई नाटकको घटनाक्रममा बुनिएको छ । पञ्चायतकालिन नेपालको पूर्वी भेगको कथालाई नाटकमा दुई वृद्धहरुको स्मृतिमार्फत बर्तमान समयमा भनिएको यो नाटकमा ‘फेन्टासी’को भरपूर उपयोग गरिएको छ तर फेन्टासीसँगै दुई वृद्धहरुको जीवनदर्शन पनि समेटिएको छ ।

सात वर्षअघि मण्डला थिएटर नेपालको सातौं प्रस्तुतिको रुपमा मण्डला नाटकघरमा मञ्चन गरिएको नाटक मितज्यूलाई डिजिटल प्लेटफर्मबाट सार्वजनिक गर्ने भएपछि पुर्नलेखन तथा परिकल्पना गरी आंशिक पुरानै र अधिकांश नयाँ कलाकारहरुका साथ पूर्वाभ्यास तथा पुनः उत्पादन गरेर छायाँकन गरिएको हो ।

नाटकको छायाँकन चैत महिनाको अन्तिम साता गरिएको थियो । नाटकमा बुद्धि तामाङ, बिजय बराल, सृजना सुब्बा, उमेश तामाङ, बिकाश जोशी, किरण चाम्लिङ, अंकित खड्का, अनुप न्यौपाने लगायतको मुख्य भूमिका रहेको छ ।

राजन खतिवडाको मञ्च परिकल्पना रहेको नाटकलाई शैलेन्द्रध्वज कार्कीले खिचेका छन् भने नाटकमा बेनुका राईको संगीत सुनिनेछ । नाटक निर्माण तथा छायाँकनमा ५० भन्दा बढी रंगकर्मी तथा प्राविधिकहरुको संलग्नता रहेको थियो ।

बैशाख ३१ गते शुक्रबार साँझ ५ बजे नाटक मीतज्यूको प्रिमियर गरिने भएको छ । प्रिमियरपश्चात अनलाइन एप्लीकेशन जुममार्फत नाटक तथा रंगमञ्चको वर्तमान सन्दर्भमाथि अन्तक्रिया गरिने भएको छ ।

अन्तक्रियालाई मण्डलाले आफ्नो फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर