कैलालीमा नियन्त्रण बाहिर कोरोना, चैत्र यता मात्रै ११५ जनाको मृत्यु – Nepal Press

कैलालीमा नियन्त्रण बाहिर कोरोना, चैत्र यता मात्रै ११५ जनाको मृत्यु

जहाँ जोखिम त्यही लापरवाही

कैलाली । कोरोनाको दोस्रो लहर कैलालीमा नियन्त्रण बाहिर गएको छ । पछिल्लो केही दिन यता जिल्लामा मृत्यु हुनेको संख्या ह्वात्तै बढेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।  बुधवार मात्रै कैलालीमा सबै भन्दा धेरै १४ जनाको ज्यान गुमाएका थिए ।

पहिलो चरणको कोरोना संक्रमणले कैलालीमा करिब १ वर्षको अवधिमा ४३ जना मात्रै ज्यान गुमाएका थिए । तर , दोस्रो चरणको ३ महिनामा मात्रै ११५ जनाले उपचारको क्रममा मृत्यु भएको छ । पछिल्लो ३ महिनामा एक दर्जन बढी संक्रमितको घरमै मृत्यु भएको छ । अहिले जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या २ हजार ९ यस कटिसकेको छ ।

‘दिन प्रतिदिन मृत्युदर बढ्न थालेको छ’ स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामीले भने, ‘कैलालीका कोरोनाको सङ्क्रमण नियन्त्रण बाहिर गइसक्यो ।’

धनगढीमा मात्रै अहिले सम्म ५२ जनाको मृत्यु भइसकेको छ । जिल्लामा सबै भन्दा धेरै सक्रिय संक्रमित धनगढीमै छन् । हाल १ हजार ४१० जना धनगढीमा सक्रिय संक्रमित रहेको धामीले बताए ।

कैलालीको गोदावरीमा २२ जनाको मृत्यु भएको छ । लम्की चुमाहा १२ जनाको मृत्यु भएको छ । टिकापुरमा ११ जना, बर्दगोरीमा ७, गौरीगङ्गा भजनी र घोडाघोडीमा ५ /५ जनाको मृत्यु भएको छ ।

त्यस्तै जोशीपुरमा ३ जना जानकारीमा २ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यकालले जनाएको छ । उपचारको क्रममा कैलालीमा अन्य जिल्लाका ३४ जनाको ज्यान गएको छ ।

जहाँ जोखिम त्यही लापरवाही

धनगढीमा १ हजार ४१० जना कोरोना संक्रमित छन् । तर ती सबै अहिले घरमै बसिरहेका छन् । धनगढी उपमहानगरपालिकाले तयार गरिएको आइसोलेसनमा भारतबाट आएका केही संक्रमितहरु छन् ।

ती बाहेकका संक्रमितहरु अहिले घरमै बसिरहेको उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । तर, उनीहरूबाट लापरवाही बढेको हुँदा थप समस्या भइरहेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले बताए ।

‘संक्रमितहरुनै अहिले मनिङ वाक भन्दै बाहिर हिँडिरहेको पाइरहेका छौँ कोही बजारम किनमेल गर्न पनि गइरहेका छन्’ उनले भने ‘संक्रमितहरुले स्वास्थ्य मापदण्ड पालना नगर्दा थप समस्या भएको छ।’

केही समय अघि सम्म पिसिआर परीक्षण गरेर संक्रमित पुष्टि भएपछि सम्पर्कमै नरहने गरेको उनले बताए ।
‘संक्रमितहरु मोबाइल बन्द गरेर बस्नुहुन्थ्यो । नगरप्रमुखले अपिल गरेपछि अहिले केही कम भएको छ’ उनले भने ।

कैलाली जिल्लामा हिल सक्रिय संक्रमितको सङ्ख्या २ हजार ९१० पुगिसकेको छ । थप बढ् नसक्ने भन्दै प्रशासनले तेस्रो पटक लकडाउन थप गरेको छ । तर, जिल्लामा निषेधाज्ञा फितलो भइरहेको छ ।

धनगढीमा केही मात्रामा निषेधाज्ञाको पालना भए पनि जिल्लाका ग्रामीण क्षेत्रमा भने पालना भएको छैन । जसका कारण सङ्क्रमण तप फैलिरहेको छ ।

मानवीय लापरवाही बढिरहेको हुँदा जिल्लामा कोरोना संक्रमण नियन्त्रण बाहिर गएको चिकित्सकहरू पनि बताउँछन् ।

‘जोखिम अत्यन्त बढिरहेको छ तर, लापरवाही पनि काम भएको छैन ’कोरोना संक्रमितको उपचारमा खटिएका सेती प्रादेशिक अस्पतालमा वरिष्ठ फिजिसियन डा. नीराजन दत्त शर्मा भन्छन्, ‘यस्तै लापरवाही हुँदै गयो भने समस्या थप विकराल हुन्छ । ’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *