बिष्णु पौडेल माधव नेपाल निवासमा, ओलीले बोलाए स्थायी कमिटी बैठक – Nepal Press

बिष्णु पौडेल माधव नेपाल निवासमा, ओलीले बोलाए स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षलाई राजीनामाबाट रोक्न अन्तिम प्रयास भइरहेको छ । राष्ट्रपतिले दिएको नयाँ सरकार गठनको समयसीमा आज साँझ ९ बजेसम्म सकिनुअघि नेपाल पक्षलाई राजीनामा गराउने प्रयास कांग्रेस र माओवादीको छ ।

राजीनामाबारे माधव नेपाल पक्षमै मतभेद भएर संख्या जुटाउन सकस परिरहेका बेला संस्थापन पक्षले संवाद जारी राखेको छ । बुधवार माधव नेपाललाई गोकर्ण विष्ट लगायत उनी निकटकै नेताले राजीनामाबाट पछि हट्न दबाब दिएका दिए ।

नेपाललाई बुधवार राति अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले टेलिफोनमा कुरा गर्न खोजे पनि माधव नेपालले फोन रिसिभ नगरेको स्रोतले जनाएको । आज विहानै ओलीको तर्फबाट वार्ता गर्न अर्थमन्त्री बिष्णु पौडेल माधव नेपाल निवास पुगेका छन् ।

माधव नेपाल पक्षमा राजीनामा दिने सांसदको संख्या अन्तिममा १६ जना पनि नपुग्ने अवस्था देखिएपछि उनी दवावमा छन् । बिष्णु पौडेलसँगको वार्ताअघि बुधवार साँझ ओली निकट एक प्रभावशाली नेताले पनि नेपाल निवासमै गएर वार्ता गरेका थिए । उक्त वार्तापछि नेपाल गम्भीर बनेको बताइन्छ ।

यसैबीच अध्यक्ष ओलीले स्थायी कमिटीको बैठक विहान ९ बजे बोलाएका छन् । बालुवाटारमा बस्ने सो बैठकले माधव नेपाल पक्षका माग सम्बोधन गर्ने सबै अधिकार ओलीलाई दिने सम्भावना छ ।

आजै स्थायी कमिटी बैठकपछि ओलीले नेपालसँग वार्ता गर्ने सम्भावना रहेको एमाले स्रोतले जनाएको छ । माधव नेपाल पक्षले राजीनामा गरे पनि ओलीको विपक्षमा बहुमत नपुग्ने अवस्था र अन्य अड्चन समेत देखिने भएपछि राजीनामाको विषय नेपाल पक्षमै घाँडो बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर