गुल्मीको कोरोना परिक्षण प्रयोगशाला ३ महिनापछि पुनः सञ्चालनमा – Nepal Press

गुल्मीको कोरोना परिक्षण प्रयोगशाला ३ महिनापछि पुनः सञ्चालनमा

रुपन्देही । गुल्मीको तम्घासमा रहेको कोरोना परिक्षण प्रयोगशाला बन्द भएको ३ महिनापछि पुनः संचालनमा आएको छ । गत वर्षको असोज महिनामा सञ्चालनमा आएको उक्त प्रयोगशाला आवश्यक बजेट अभाव भएको भन्दै गत फागुन ८ गतेबाट बन्द भएको थियो ।

परराष्ट्रमन्त्री मन्त्री प्रदीप ज्ञवालीले स्रोत व्यवस्थापन गरी सञ्चालनको जिम्मेवारी जिल्लाका स्थानीय तहले गर्ने सहमतिमा शुरु गरिए पनि सबै स्थानीय तहले प्रतिवद्धता जनाए अनुसारको रकम समयमा उपलब्ध नगराउदा परिक्षण प्रयोगशाला बन्द भएको थियो ।

महामारीको समयमा बन्द भएको समाचार सार्वजनिक भएपछि स्थानीय तहले प्रतिवद्धता गरेको रकम र अन्य रकम समेत उपलब्ध गराएपछि बुधबारबाट पुनः संचालनमा आएको जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका तम्घास अस्पताल व्यवस्थापन समिति अध्यक्ष लक्षमण पराजुलीले जानकारी दिए । अहिले प्रत्येक गाउँपालिकाले २–२ लाख तथा नगरपालिकाले ३–३ लाख गरी जम्मा २६ लाख रकम संकलन भएपछि प्रयोगशाला संचालनमा आएको पराजुलीले जानकारी दिए ।

प्रयोगशाला तम्घास अस्पताल मातहत रहेर सञ्चालन हुनेछ । पहिले प्रयोगशालामा काम गरेका केही कर्मचारीले कोभिड भत्ता र केहीले तलब–भत्ता नै पाएका थिएनन् । अब केही दिनभित्रै भत्ता र तलब पाउने सहमती भएपछि प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । पहिलो दिन विभिन्न स्थानीय तहबाट एक सय नमुना स्वाब आएको ल्याब टेक्नोलोजिष्ट केपी भण्डारीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर