कोभिड नियन्त्रणका लागि पछिल्लो २४ घण्टामा मात्र करिव ४२ करोड रकम निकासा – Nepal Press

कोभिड नियन्त्रणका लागि पछिल्लो २४ घण्टामा मात्र करिव ४२ करोड रकम निकासा

काठमाडौं । सरकारले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि पछिल्लो २४ घण्टाको अवधिमा करिव ४२ करोड रकम निकासा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोभिड–१९ प्रतिकार्यका लागि एचडीयू स्थापना तथा जडान खर्च भुक्तानीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५ करोड ५८ लाख ७४ हजार निकासा दिइएको छ ।

कार्यालयका प्रवक्ता किरणराज शर्माका अनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २ करोड ७२ लाख ५३ हजार र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ६ करोड २५ लाख ४० हजार रकम निकासा भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा एचडीयू स्थापना तथा जडानका लागि ३ करोड ३५ लाख ८८ हजार वित्तीय हस्तान्तरण स्वीकृत भएको छ ।

त्यसैगरी कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार कार्य (मेडिकल उपकरण खरिद, औषधी खरिद, बिरामीको उपचारमा प्रत्यक्ष रुपमा संलग्न स्वास्थ्यकर्मी र अन्य कर्मचारीको व्यवस्थापन सम्बन्धी मार्गदर्शन २०७७ बमोजिम खाना तथा बसोबास खर्च, वेड, आईसीयूमा अक्सिजन पाइपलाइन बिस्तार र लीक्वीड अक्सिजन भर्ने कामका लागि शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताललाई २४ करोड निकासा भएको पनि प्रवक्ता शर्माले बताए ।

साथै कोभिड–१९ बाट संक्रमित विरामीको उपचारका लागि प्रयोग हुने रेमडिसिभिर औषधी आयातमा लाग्ने भन्सार महसुल आर्थिक ऐन, २०७७ अनुसार बैशाख २७ गतेदेखि लागू हुने गरी पूर्ण रुपमा छुट दिने निर्णय भएको पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर