माधव पक्षमा राजीनामाको मतभेद, केही सांसद विपक्षमा उभिँदा संख्या पुग्न कठिन – Nepal Press

माधव पक्षमा राजीनामाको मतभेद, केही सांसद विपक्षमा उभिँदा संख्या पुग्न कठिन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्यूत गर्न सामुहिक राजीनामा दिने विषयमा माधव नेपाल पक्षका नेताहरुबीच नै मतभेद देखिएको छ । नेपाल पक्षका नेतासहित केही सांसद राजीनामा दिन नहुनेमा पुगेका छन् ।

कम्तिमा १६ जना सांसदले राजीनामा दिनुपर्नेमा माधव पक्षका २० जना प्रत्यक्ष निर्वाचित सांसदको राजनीनामा कांग्रेस सभापति शेरबहादुर देउवालाई बुझाउने तयारी भइरहेका बेला केही सांसद राजीनामाबाट पछि हटेका छन् ।

राजीनामाको विषयले नेपाल समूहमा मतभेद रहेको भीम रावलले दिउँसो अबेर दिएको ट्वीट वक्तव्यले पनि संकेत गर्छ । उनले ओलीलाई रोक्न सांसदबाट राजीनामा दिनु राजनीतिक र नैतिक विषय हुने बताएका थिए ।

जतिबेला रावलले ट्वीट गरेर राजीनामा दिनुपर्ने बताइरहेका थिए, त्यहिबेला गोकर्ण विष्ट भने माधव नेपाललाई राजीनामाको निर्णयबाट पछि हट्न आग्रह गर्दै निवासमा पुगेका थिए । विष्ट पछिल्लो समय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीसँग नियमित संवादमा छन् ।

राजीनामाको विषयमा सुरेन्द्र पाण्डे पनि सन्तुष्ट देखिएका छैनन् । घरमै आराम गरेर बसेको पाण्डेले नेपाल प्रेससँग संक्षिप्त प्रतिक्रिया दिदै राजीनामाबारे आफूलाई जानकारी नरहेको बताए । उनले आफू नेताहरु सम्पर्कमा रहेको जानकारी दिए ।

स्रोतका अनुसार योगेश भट्टराई पनि राजीनामाको अप्रिय निर्णयमा पुग्न नहुने पक्षमा छन् । जयकुमार राई, विरोध खतिवडा, नारायण खतिवडा लगायतका सांसद पनि अस्पष्ट देखिएपछि ओलीलाई अल्पमतमा पार्न पुग्ने संख्या जुटाउन माधव नेपाललाई समस्या परेको बताइन्छ ।

नेपाल निकट स्रोतका अनुसार अन्तिमसम्म राजीनामा नै गर्नुपर्ने निर्णयमा पुग्दासम्म सांसदको संख्या घट्ने देखिएकाले नेताहरु छलफलमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर