घरबाट निस्किन रहर नगरौं, हजारौंलाई घर फर्किन रहर छ – Nepal Press

घरबाट निस्किन रहर नगरौं, हजारौंलाई घर फर्किन रहर छ

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)मानव जातिकै लागि एउटा विषम परिस्थिति सावित भएको छ । यो संकटको घडीमा संयम र जिम्मेवार भएर सबैले आ–आफ्नो ठाँउबाट रोकथामका लागि भूमिका निर्वाह गर्न जरुरी छ । यस्तो अवस्थामा सरकारलाई सबै दोष थुपारेर जनताचाहिँ लापरबाही गर्दै हिँड्ने गरेकाले पनि संक्रमणको दर भुसमा सल्किएको आगो जस्तै बनेको छ । अनि पिल्सिएका छन् कैयौँ युवा, छट्पटाएका छन् हरेक नेपाली मन ।

जीवन र मरणको दोसाँधमा एक मुठी सासको लागि लडिरहेका छन् हजारौँ संक्रमित । असहाय भएका छन् स्वास्थ्यकर्मीहरू ।

संक्रमण जसलाई पनि लाग्न सक्छ, आफूले गरेको नियमको पालनाले अर्कोको जोखिम कम हुन्छ भने अरुले गरेको नियमको पालनाले आफूलाई जोखिम कम हुने हुँदा सबै मिलेर सबैको रक्षाका लागि अनुशासित हुन जरुरी छ । म मात्र जोगिन्छु मैले रोकथामका सबै उपाय पालना गरेको छु भनेर ढुक्क हुने अवस्था छैन । त्यसैले आफू लगायत सबैलाई सही तरिकाले मास्कको प्रयोग गर्न, हात बारम्बार साबुन पानी वा स्यानीटाइजरले सफा गर्न, सामाजिक दुरी ६ फिट भन्दा बढी कायम, आनावश्यक हिँडडुल नगर्न सबैको प्रमुख दायित्व हो ।

यो अवस्थामा मन बहलाउने बहानामा घुमन्ते बनेर फेरि घर फर्केर सरकारलाई गैरजिम्मेवार घोषणा गर्नु मुर्खता हो । रोकथामको लागि सबैले यस विषम अवस्थाको जटिलतालाई मनन गरेर कडा सेल्फ लकडाउनमा बस्नु नै बुद्धिमानी हो । यो नै अहिलेको परिस्थितिले मागेको अपरिहार्यता हो ।

अवस्था कठिन छ, दर्दनाक छ । कोरोनाको नयाँ प्रजातिलाई कतिपयले मजाकको रुपमा लिएका छन् भने खोप लगाएकाले ‘मलाई लाग्नै सक्दैन’ भनेर ढुक्क भई स्वास्थ्य मापदण्डको पालना नगरेको पाइन्छ । यस्तो भ्रममा पर्ने मुर्खता नगर्नुहोस् । कोभिड–१९को संक्रमण भएर मुक्त भएका र खोपका दुबै डोज पूरा गरेकालाई पनि लाग्छ । खोप रोकथामको एउटा माध्यम मात्र हो ।

यसरी नयाँ प्रजाति थपिँदै जाँदा खोपको असर प्रभावकारी नबन्न सक्छ । उच्च मनोबल संक्रमणसँग लड्ने सबैभन्दा बलियो अस्त्र हो । अवस्था भयावह बन्दै जाने क्रममा सम्पूर्ण नागरिकको मनोबल कमजोर परिरहेको छ । रोगसँग लडने रोग प्रतिरोधात्मक क्षमताका साथै मनोबललाई पनि बलियो बनाउन सक्नु नै यस रोगमाथि विजय प्राप्त गर्नु हो । समय बिताउने सामाजिक सञ्जाल फेसबुक सबैको प्रिय माध्यम हो । यस्तो सञ्जालमा संक्रमणसँग सम्बन्धित नकारात्मक खबर तथा तस्बिर पोष्ट गर्नाले पनि मानिसमा त्रास र अत्यास बढेकोे छ ।

त्यसैले संक्रमित तथा उनीहरूका आफन्त लगायत सम्पूर्ण नागरिकको हौसला बढाउन र रोगसँगको सकारात्मक पक्षसँग पनि परिचित हुन निको भएका बिरामीको संख्या, सरकार वा अरु सामाजिक संघसंस्था तथा व्यक्तिहरूले समस्यालाई सहज बनाउन गरिरहेका प्रयासबारे जानकारी गराइदिन पर्छ ।

कोभिड–१९को कारणले हुने श्वासप्रश्वासमा समस्याको लक्षण र अत्यास, डर र त्रासले हुने छट्पटीको प्रकार उस्तै उस्तै पनि हुने गर्दछ । र सबैको घरमा अक्सिजन नाप्ने उपकरणको उपलब्धता नहुन पनि सक्छ , होमआइसोलेसनमा बसेका बिरामीलाई र संक्रमितको ख्याल राख्ने कसैलाई पनि सास फेर्न गाह्रो भएको महसुस भएकै भरमा अस्पताल जानाले साँच्चिकै अक्सिजन नपुगेका बिरामीको पहिचान र उपचारमा ढिलाइ हुनसक्छ ।

अहिले देशका सबैजसो अस्पतालहरू बेड, अक्सिजन र स्वास्थ्यकर्मीहरूको चरम अभावबाट गुज्रिरहेका छन् । त्यसैले आफ्नो मनोबललाई उच्च राखी लक्षणहरूको सही पहिचान गरी अस्पताल जानुपर्ने जरुरी छ ।

एक्लै होमआइसोलेसनमा बस्न लामो समय बिरामीलाई गाह्रो भएका समाचार देखाइराख्दा आफुलाई पनि गाह्रो भएको हो की भन्ने छटपटी र अत्यास लाग्नु र सास फेर्न ग्राहो भएको जस्तो लाग्नु स्वाभाविक हो । यस्तो अवस्थामा गोलीगाँठो मुनि पारेर एउटा सिरानी, पेटको मुनि पारेर दुईवटा सिराना, घाँटीको मुनि पारेर एउटा सिरानी राखेर सास फेर्न अप्ठयारो नहुने गरी घोप्टो परेर प्रोन पोजिसनमा सुत्नाले केही समयपछि सास फेर्न सहज हुँदै जान्छ ।

होमआइसोलेसनमा बसेका संक्रमितहरूले जथाभावी औषधि प्रयोग गर्नाले अन्य नकारात्मक असर पर्न सक्छ । यो रोगको निश्चित औषधि नभएका कारण स्वास्थ्यकर्मीको पराशर्म लिएर मात्र लक्षण अनुसारको औषधि प्रयोग गर्नुपर्दछ । अहिले संक्रमितहरूको सहयोगका लागि स्वास्थ्यकर्मीहरूले फोन नम्बर सहितको विभिन्न ग्रुप बनाएर परामर्श दिने गरेका छन् । हरेक संक्रमितलाई अस्पताल लैजान जरुरी छैन तर होमआइसोलेसनमै निको हुनका लागि स्वास्थ्य परामर्श हुने जरुरी हुन्छ ।

मानिस अत्यन्त संवेदनशील प्राणी हो । मानिसलाई दुख, पीडा, माया र अत्मीयताको आभास हुने भएकाले आफू र आफ्ना परिवारका लागि आतिनु एकदमै स्वाभाविक कुरा हो तर आफू र आफ्ना परिवारको सुरक्षा मात्र सोचेर अफ्ठ्यारोमा परेका अन्य मानिसको नजिक नपर्नु अमानवीय पक्ष हो । उचित तरिकाले मास्कको प्रयोग गरेर दुरी कायम गरेर पनि संक्रमितलाई सहयोग गर्न सकिन्छ । सबै मानिस परिवारसँगै बसेका या आफ्नै घरमा हुन्छन् भन्ने पनि हुँदैन । उनीहरू यस्तो अवस्थामा एक्लै परेकाले, देख्नेले संक्रमण सर्ने डरले सहयोग नगर्दा कतिपय संक्रमितले होमआइसोलेसनमै दम तोडेको पक्ष अति नै दुखद् हो ।

सरुवा रोग हो, डराउनुपर्छ , दुरी कायम गर्नुपर्छ तर उचित तरिकाले स्वास्थ्य मापदण्ड पालना गरेर सहयोग गर्न सकिन्छ । यो संक्रमण कसलाई कहाँबाट कसरी सर्छ भन्ने अन्दाज लगाउन सकिँदैन त्यसैले सर्तक भएर एक अर्कालाई सहयोग गर्न जरुरी छ । हामी सबै मिलेर अवश्य यसविरुद्ध लडन सक्छौँ । संक्रमितको हिम्मत, मनोबल र हौसला बढाइ राख्न अत्यन्त जरुरी छु । त्यसैले सबैले सबैलाई माया गरौं । मानिस भएर मानवीय व्यवहारको आभाष दिलाउन नभुलौं । संक्रमणको डरले संक्रमितलाई नै वेवास्ता गर्नु संक्रमण भन्दा पनि घातक हुनसक्छ । त्यसैले हरेक मानिस स्वच्छ मानसिक, मनोबल र आत्मीयताले बलियो हुन आवश्यक छ ।

तत्कालीन स्वास्थ्य संकटको घडीमा आफ्नो परिवारबाट टाढा रहेर दिनरात भोक तिर्खा नदुखाई केही नभनी हरेक पल भेन्टिलेटर र अक्सिजनको सहारामा जीन्दगीसँग लडिरहेका बिरामीहरुको सेवामा समर्पित स्वास्थ्यकर्मी महान छन् । स्वास्थ्यकर्मी रुमाल हुन्, सबैका दुःख पीडालाई पुछेर आफू भिज्न जानेका छन । उनीहरू सम्पूर्ण देशमाथि आइपरेको यस चोटमा मह्लम बनेर उभिएका छन् । कृपया उनीहरूको बारेमा विभिन्न ट्रोल बनाएर, सेवा सुविधालाई बढाएर हौसला दिनुपर्नेमा उनीहरूले पाइरहेका सेवा सुविधा समेत घटाएर दुखाइमा नुन छर्किने काम नगरियोस् ।

स्वास्थ्यकर्मीको त्यागमा हरेक जनताको जिन्दगी बाँचेको छ, उनीहरूलाई पनि हाम्रो साथ सहयोग र हौसलाको खाँचो छ भन्ने अनुभूति गरौँ । आज देश कोभिड–१९को महामारीले आक्रान्त छ । स्वास्थ्य क्षेत्र एकदमै अस्तव्यस्त बनेको छ । अवस्था कठिन र जोखिमपूर्ण छ, केही दिन अझै संयमित भई संघर्ष गरौं । सबैको कोसिसले अवश्य यसबाट पार पाउनेछौँ ।

लेखक शिक्षण अस्पताल महाराजगंजमा कार्यरत नर्स हुन् ।

प्रतिक्रिया

One thought on “घरबाट निस्किन रहर नगरौं, हजारौंलाई घर फर्किन रहर छ

Leave a Reply to Uttam Chhetri Cancel reply

Your email address will not be published. Required fields are marked *