सांसदको चित्त बुझाउन मुख्यमन्त्री शाहीले फुटाए मन्त्रालय, अब ८ मन्त्री ! – Nepal Press
कर्णाली प्रदेश

सांसदको चित्त बुझाउन मुख्यमन्त्री शाहीले फुटाए मन्त्रालय, अब ८ मन्त्री !

सुर्खेत । जम्मा ४० सिट रहेको कर्णाली प्रदेशमा आठ वटा मन्त्री बन्ने भएका छन् । संविधान अनुसार बढीमा २० प्रतिशत मन्त्री बनाउन पाउने प्रावधानमा टेक्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुधबार भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर सिंचाई, खानेपानी र जलस्रोत मन्त्रालय बनाएपछि कर्णालीमा मन्त्रालयको संख्या आठ पुगेको हो ।

शाहीले आफ्ना दलका नेतालाई थामथुम पार्न भौतिक पूर्वाधार तथा विकास मन्त्रालय फुटाएका हुन् ।

‘मुख्यमन्त्री ज्यूलाई मन्त्री छान्न हम्मे हम्मे भइसकेको थियो,’ माओवादी स्रोत भन्छ, ‘बहालवाला मन्त्रीले मन्त्री छोड्न नमानेको र नयाँ मन्त्री छान्दा फेरि सरकारलाई अप्ठ्यारो पर्ने हो कि भन्ने भय मुख्यमन्त्रीमा थियो । त्यही व्यवस्थापन गर्न उहाँले तीन जनालाई मन्त्री चयन गर्नु भएको हो।’

नयाँ नियुक्त हुने मन्त्रीहरुमा आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा, आन्तरिक मामिला तथा कानून मन्त्री विन्दमान विष्ट र खानेपानी, सिंचाई र जलस्रोत मन्त्री सिता नेपाली रहेका छन् ।

तीन जना मन्त्री नयाँ नियुक्त गरेपछि मन्त्री बनाउने सहमतिपछि माओवादी केन्द्रमै फर्किएका सांसद ठम्मर विष्ट ‘रनभुल्ल’ मा परेका छन्। ‘मलाई मन्त्री बनाउने सहमति भएकै थियो, त्यो किन कार्यान्वयन भएन थाहा भएन’ सांसद विष्टले भने, ‘राजनीतिक सहमति लिएर अदालत पनि जाने कुरा भएन। राजनीतिमा इमान्दारिता हुनुपर्छ भन्ने मान्यता मेरो हो । सहमति कार्यान्वयन गर्ने जिम्मा मुख्यमन्त्रीको नै हो।’

मुख्यमन्त्री शाहीले मन्त्री हेरफेर गरेसँगै मन्त्रीको संख्या सात भएको छ भने मन्त्रालयको संख्या आठ पुगेको छ । विपक्षी दल नेपाली कांग्रेसले पाएको सामाजिक विकास मन्त्रालय अहिले रिक्त छ । भौतिक पूर्वाधार विकास मन्त्रालयमा अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा कुर्मराज शाही, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा नन्दसिंह बुढा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर