४ बजेपछि अक्सिजनसहित उपचार दिन सक्दैनौं : भैरहवाकाे युनिभर्सल अस्पताल – Nepal Press

४ बजेपछि अक्सिजनसहित उपचार दिन सक्दैनौं : भैरहवाकाे युनिभर्सल अस्पताल

रूपन्देही । ९० जना कोरोना संक्रमितसहित २ सय जना गम्भीर प्रकृतिका बिरामीको उपचार गरिरहेको रूपन्देहीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालले आज बुधबार दिउँसो ४ बजेपछि अक्सिजनसहित उपचार दिन नसक्ने बताएको छ ।

अहिलेको अवस्थामा अस्पतालमा दैनिक ७ सय सिलिन्डर अक्सिजन खपत भइरहेको तर मागअनुसार आपूर्ति हुन नसकेकाले त्यो समयपछि उपचार दिन नसक्ने सो अस्पतालले जनाएको छ ।

अस्पतालद्वारा जारी विज्ञप्तिमा बिरामी र आफन्तलाई आफ्नो लागि आफैं अक्सिजन व्यवस्था गर्न भनिएको छ । एक हप्ताअघि देखि माग अनुसारको अक्सिजन व्यवस्था गर्न विभिन्न उपाय अवलम्बन गर्दै आएपनि जिल्लाका तीन उद्योग र बाहिरबाट आपुर्ति हुन कठीन भएकाले वाध्य भएर उपचार दिन नसकिने अवस्था आएको विज्ञप्तिमा उल्लेख छ।

अस्पतालमा रहेका दुई सय बिरामीमध्ये एक सय ८० जनालाई अक्सिजन सपोर्टमा राखेर उपचार भइरहेको, तीमध्ये ४० जना बिरामी भेन्टिलेटरमा र ७० जना आईसीयूमा रहेको अस्पतालका प्रमुख प्रशाकीय अधिकृत कमल ढकालले बताए ।

माग अनुसार अक्सिजन जिल्लाका उद्योगले दिन नसकेपछि अस्पतालले चितवनबाट आउनुपर्ने १५० जम्बो सिलिण्डर अक्सिजन रोकिएपछि समस्या आएको छ । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, भैरहवाको भीम अस्पताल लगायतका कोभिड अस्पतालहरुमा पनि अक्सिजनको अभाव भइसकेको छ ।

अक्सिजन अभावमा अस्पतालले नयां विरामी भर्ना गर्नसक्ने अवस्था नभएको सूचना आइरहेकोले सबै निकायमा जानकारी गराइसकेको स्वास्थ कार्यालय रूपन्देहीका प्रमुख डाक्टर राजेन्द्र गिरीले बताए ।

रूपन्देहीमा रहेका तीन उद्योगले पूरा उत्पादन गरेपनि दैनिक ११ सय उत्पादन हुने र माग द‌ैनिक २१ सयभन्दा बढी भएकाले समस्या भएको हो । बाँके र चितवनबाट आइरहेको अक्सिजन सप्लाई उतैका अस्पतालमा खपत भई  नियमित आउन नसकेको कारण समस्या भएको र सकेसम्म व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालय रूपन्देहीको भनाई रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर