पेश्की लिएर ठेकेदारले काम नगरेपछि ३ वर्षदेखि बनेन पुल – Nepal Press

पेश्की लिएर ठेकेदारले काम नगरेपछि ३ वर्षदेखि बनेन पुल

सुर्खेत । ठेकेदारको लापरवाहीले दैलेखको खिड्कीज्यूलामा तीन वर्षदेखि पुल बन्न नसक्दा सर्वसाधरणले दुख पाएका छन् ।
साविकको पिपलकोट गाविस जोडने खिड्कीज्यूलामा पुल बनाउनका लागि ठेकेदार कम्पनीले पुल निर्माण थाल्नु अघि नै रकम लिइसकेको थियो ।

यस क्षेत्रका नागरिकले सास्ती नपाउ भन्नको लागि भनेर पुल निर्माणका लागि सभामुख शाहीले एक करोड बजेट आर्थिक वर्ष २०७५÷०७६ मा नै पारेका थिए । खिड्कीज्यूला सिंहासैन मोटरबाटो पनि सोही वर्ष बजेट परेका कारण निर्माण सुरु भएको थियो ।

खिड्कीज्यूलाका स्थानीय गोरख पुरी भन्छन्, ‘सडक निर्माण भइसक्न लाग्दा पनि पुल बन्ने छाँटकाँट छैन । पुल नबन्दा पिपलकोटवासीलाई ठूलो सास्ती खेप्नु परेको छ ।’

ठेकेदारले ठेक्का लिने तर काम नगर्ने प्रवृत्ति देखिएको भन्दै स्थानीय आक्रोसित भएका छन् । ठेकेदारले पुल नबनउँदा सडक निर्माणको काम समेत रोकिएको छ ।

पूर्वाधार विकास कार्यालय दैलेखका अनुसार उक्त मोटरेबल पुल गत वर्ष नै सम्पन्न भइसक्नुपर्ने भएपनि कोभिडका कारण थप समयावधी कम्पनीले पाएको थियो । तर कम्पनीले दुई करोड २५ लाख रुपैंयामा पुल निर्माण गर्ने भनेपनि खोलामा केही पनि काम गर्न सुरु गरेको छैन ।

‘कार्यालयले बारम्बार ताकेता गरेको गर्‍यैं छ । तरपनि निर्माण कम्पनीले आज भोलि भन्दै दिन धकेलिरहेको छ ।’ कार्यालय स्रोत भन्छ, ‘कम्पनीले १९ लाख रुपैंया पेश्की समेत लिइसकेको छ तर काम गर्ने छाँटकाँट भने देखाएकै छैन ।’

हाम्रो निर्माण सेवाका सञ्चालक खगेन्द्र रानाले एक हप्तामा काम सुरु गर्ने प्रतिवद्धता जनाए । ‘यसअघि अर्को व्यक्तिलाई जिम्मा दिएको थिएँ । उहाँहरुले काम गर्नु भएन । अबको एक हप्तामा काम सुरु गर्छौं ।’ उनी भन्छन्, ‘यो वर्ष पिल्लर ठड्याउने काम हामी गर्र्छौं ।’ उनले पेश्कीवापत १९ लाख लिइएको बताउँदै अन्यत्र पुलको काम गरिरहेका कारण पनि केहि ढिला भएको बताए ।

पूर्वाधार विकास कार्यालय दैलेखका कार्यालय प्रमुख ई. वालदिप शर्माले मोटरेबल पुल निर्माणका लागि ठेकेदार कम्पनीसँग बारम्बार कुरा भइरहेको बताए । ‘हामीले तत्काल काम गर्न निर्देशन दिइसकेका छौं । उहाँहरुले काम चाँडै सुरु गर्ने कुरा गर्नु भएको छ ।’ उनी भन्छन्, ‘उहाँहरुले काम सुरु नगरे अन्य प्रक्रिया त छदैंछ नि ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर